नेपालको सूचना प्रविधि क्षेत्रमा ३ दशकदेखि क्रियाशिल नाम हो, ई. लोचनलाल अमात्य । काठमाडौंको कोपुण्डोलमा २०१७ सालमा जन्मिएका अमात्यले रसियाबाट कम्प्युटर इन्जिनियरिङमा मास्टर्ससम्मको अध्ययन गरेका छन् ।
बच्चाबेला बेला देखि नै इलेक्ट्रोनिक्सका सामानहरू बनाउने, बिगार्ने काम गरिरहन्थे । अमेरिकन लाइब्रेरीमा गएर ‘डु इट योर सेल्फ’ किताब पढ्थे, त्यसैअनुसार आफुले पनि बनाउन प्रयास गर्थे । अनि उनलाई प्रविधिमा अझै रूची बढ्न थाल्यो ।
कक्षा १० सम्मको अध्ययन पूरा गरेपछि उनी पुलचोक क्याम्पसमा सर्टिफिकेट इन इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययन गर्न थाले । खासमा उनलाई रूची इलेक्ट्रोनिक्समा थियो । आफुलाई इलेक्ट्रोनिक्समा रूची भएपछि पुलचोकमा इलेक्ट्रिकल इन्जिनियरिङ पढेको लोचन बताउँछन् ।
‘पुलोचोकमा त्यो बेला साउन र माघमा गरी दुईवटा इन्टेकमा भर्ना लिने गरेको थियो । तर त्यो वर्ष इलेक्ट्रोनिक्समा भर्ना खुलेन । भर्ना नखुलेपछि सबैलाई इलेक्ट्रिकलमा भर्ना गरियो,’ उनले आइसिटी समाचारसँग भने, ‘तर ६ महिनापछि इलेक्ट्रोनिक्समा पनि भर्ना खुल्यो । मैले इलेक्ट्रिकलबाट इलेक्ट्रोनिक्समा जाने योजना बनाएका थिए तर तत्कालीन शिक्षक जगननाथ श्रेष्ठले काउन्सिलिङ गरेपछि इलेक्टिकल नै पढे ।’
पुलचोकमा प्रमाणपत्र (सर्टिफिकेट) तहको अध्ययन पूरा गरेपछि सिधैं ब्याचलर्स पढ्न जान पाइन्थ्यो । उनले पनि उच्च शिक्षा अध्ययन गर्न विदेश जाने सोच बनाएका थिए । तर पासआउट भएकै वर्षदेखि १ वर्ष काम गरेपछि मात्रै विदेश पढ्न जान पाउने नियम ल्याइयो ।
त्यसपछि उनले १ वर्ष सोल्टी होटलमा इलेक्ट्रिकल ओभरसीयरको रूपमा काम गरे । अचम्मको कुरा, सोल्टीमा एक वर्ष काम गरेपछि विदेश पढ्न जानका लागि १ वर्ष काम गर्नुपर्ने पूरानो नियम पनि हटिसकेको रहेछ । उनलाई झोक चल्यो । सरकारी कोटा छोडेर राजदुतावासको कोटामा रसिया पढ्न गए ।
रसिया पढ्न गएको केही महिनापछि नेपालमा पेट्रोल अन्वेषण गर्ने रूसी परियोजना आउने भयो । पढ्न गएको ६ महिनापछि उनलाई पेट्रोल एण्ड केमिकल इन्जिनियरिङ पढ्ने प्रस्ताव आयो । उनले त्यो प्रस्तावलाई सिधैं अस्वीकार गरे । किनकी रूची प्रविधि थियो ।
डिनले कम्प्युटर इन्जिनियरिङ पढ्छस् त भनेर सोध्नुभयो, त्यसपछि लोचन मख्ख ! खासमा उनलाई चाहिएको त्यही थियो । नेपालबाट इलेक्ट्रोनिक्स इन्जिनियरिङ पढ्न गएका लोचन पछि कम्प्युटर इन्जिनियरिङ पढे ।
पढाइमा राम्रै भएकाले लोचनलाई कम्प्युटर इन्जिनियरिङ पढ्न खासै गार्हो भएन । सानोमा सस्कृत भाषा पढेकाले उनलाई रसियन भाषा पढ्न समेत सहज भएको थियो । रूसबाट कम्प्युटर इन्जिनियरिङ पढेपछि उनलाई विद्यावारिधिको अफर पनि आएको थियो । तर त्यो अफर छोडेर नेपाल फर्किए ।
टेलिकममा कम्प्युटर इन्जिनियरदेखि सीटीओसम्म
रसियाबाट फर्किएपछि राष्ट्रिय कम्प्युटर केन्द्रमा जागिर खाने ठूलो सपना थियो । तर बिडम्बना, केन्द्रमा ठाउँ खाली थिएन । तैपनि कतै खाली पो भइहाल्छ कि भनेर कुरे ! त्यतिकैमा एकदिन नेपाल टेलिकम गए । त्यतिबेला नेपाल टेलिकमका महाप्रबन्धक सुरेश कुमार पुडासैनी थिए ।
कम्प्युटर इन्जिनियरिङ पढेर आएको भनेपछि तुरून्तै पुडासैनीलाई भेट्न भित्र जान पाए । भित्र गएपछि पुडासैनीले भने, ‘कहिले फर्किनु भएको थियो ? कहाँ हराउनु भएको, हामी खोज्या खोज्यै छौं, तपाईहरूलाई । भोलिदेखि जोइन हुनुहोस् ।’
अनि लोचन जागिरे जीवन सुरू भयो । वि.सं. २०४३ सालमा कम्प्युटर इन्जिनियरको रूपमा लोचनले नेपाल टेलिकममा काम गर्न थाले । सो समयमा टेलिकमका एकजना मात्रै कम्प्युटर इन्जिनियर कार्यरत थिए । कम्प्युटरको काम पनि खासै थिएन ।
उनले टेलिकममा काम गर्न सुरू गर्ने बेला मेन्टेनेन्स कन्ट्रोल सिस्टममा मात्रै एउटा कम्प्युटर थियो । त्यो पनि मिनि कम्प्युटरको माइक्रो भर्सन थियो । मेन्टेनेन्स सेन्टरको कम्प्युटराइजेसन परियोजनाबाट काम सुरू गरेका लोचनले बिलिङ सिस्टम निर्माण, सीडीएमए, ट्रान्समिसन, जीएसएम हुँदै टेलिकमको प्रमुख प्रविधि अधिकृत (सीटीओ) सम्म भएर काम गर्ने अवसर पाए र सन् २०१८ मा नेपाल टेलिकमबाट अवकाश भए ।
टेलिकममा कम्प्युटर बिलिङ सिस्टम बनाउँदा आफ्नो महत्त्व घट्ने भन्दै कर्मचारीले सिस्टमलाई नै असफल बनाउन अनेक प्रयास गरेको लोचनको अनुभव छ । ‘कम्प्युटर बिलिङ सिस्टम भित्रै बिलिङसहित इन्भेन्ट्री, एचआर, कस्टुमर केयर लगायतका सुविधा थिए,’ लोचन हामीसँग आफ्नो अनुभव बाँड्दै भने, ‘कम्प्युटर प्रणाली आउने भएपछि कर्मचारीले आफ्नो महत्त्व घट्ने डरले प्रविधिको विरोध गर्न थाले । अनेक बहाना सिर्जना गर्न थाले । असफल बनाउन लागि परे ।’
कम्प्युटर बिलिङ बनाउनका लागि फिनिसबाट परियोजना आएको थियो । १ वर्षमा तयार भएको सिस्टम सञ्चालनमा आएपछि सेवाग्राहीलाई धेरै सहज भयो । पहिलो फरक फरक अमाउन्टको लागि फरक फरक झ्याल छुट्याइएको हुन्थ्यो । कम्प्युटर प्रणाली भएपछि सबै झ्यालबाट तिर्न सकिने व्यवस्था भयो भने ढड्डालाई विस्थापन गर्यो ।
तर बिलिङ सिस्टमको सिमितता थियो । रेकर्डको साइज ६० हजार ग्राहक भन्दा बढी राख्न सक्दैन्थ्यो । किनभने ३० हजार ग्राहक हुँदा सो सिस्टमको डिजाइन गरिएको थियो । सुरूमा इन हाउस नै बिलिङ सिस्टम बनाएको टेलिकमले विदेशी कम्पनीहरूको अभ्यासलाई समेत मध्यनजर गर्दै सफ्टवेयर आउटसोर्स गर्न थालेको हो ।
नेपाल टेलिकममा काम गरेका समकालीनहरूले लोचनलाई ‘ट्रबलशुटर’ भनेर चिन्छन् । नेपाल टेलिकमको सिस्टममा कुनै समस्या देखियो भने समाधानका लागि सधैं लोचनको खोजी हुन्थ्यो ।
क्यान महासंघको अध्यक्ष
कम्प्युटर एशोसिएन नेपाल (क्यान महासंघ) मा लोचन स्थापनाकाल अर्थात सन् १९९२ देखि नै आवद्ध छन् । सुरूवाती समयमा कम्प्युटर सम्बन्धि तालिम दिन्थे ।
सन् २००० मा उनी क्यान महासंघको अध्यक्ष बने । त्यतिबेलासम्म क्यानको अफिस पुतलिसडकको सानो कोठामा थियो । उनकै कार्यकालमा त्यसलाई फराकिलो ठाउँमा सारिएको थियो भने ब्लुबर्डमा हुने क्यान इन्फोटेकलाई अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) नयाँ वानेश्वरमा गरिएको थियो ।
बीआईसीसीमा गएपछि क्यानको हाइट अझै बढेको उनको भनाइ छ । ‘बीआईसीसीमा इन्फोटेक गरेपछि विदेशी निकायहरूले सूचना प्रविधिको छलफलमा क्यानलाई बोलाउन थाले । त्यसपछि राष्ट्रिय सूचना प्रविधि केन्द्र र उच्चस्तरीय सूचना प्रविधि आयोगको बोर्डमा समेत क्यानको प्रतिनिधित्व भयो,’ उनले भने ।
उनी क्यानको नेतृत्वमा हुँदा भेञ्चर कुकिज समेत सुरू गरेका थिए, जसले आईडियालाई बिजनेसमा रूपान्तरण गर्न सघाउथ्यो र आवश्यक लगानी समेत प्रदान गर्ने गरेको थियो । लोचनले सन् २००४ सम्म क्यान महासंघको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
यस बाहेक आईटी प्रोफेसनलहरूको संस्था आईटी प्रोफेसनल फोरम र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनरेन) को अध्यक्ष समेत हुन् । एनरेनमा सन् २०१८ देखि नै अध्यक्षको भूमिकामा रहेर काम गरिरहेका छन् । आईटी प्रोफेसनल फोरमको हस्तान्तरण युवा पुस्तालाई हस्तान्तरण गर्न अहिले उनी लागिपरेका छन् ।
लोचन एकेडेमी क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । प्राइम कलेज र एनभान्स कलेजमा आवद्ध छन् । १ वर्ष एडभान्स कलेजको सीईओ भएर समेत काम गरेका गरिसकेका उनी पूर्वाञ्चल विश्वविद्यालय र पुलचोक क्याम्पसको विषय समितिमा रहेर समेत लोचनले १० वर्षदेखि काम गरिरहेका छन् । सूचना प्रविधिको श्रीवृद्धिमा तीन देशकदेखि निरन्तर काम गरिरहेका लोचनलाई सन् २०२३ मा लिभिङ विथ आइसिटीले प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्डबाट समेत सम्मान गरेको थियो ।