यूरोपियन संघ (ईयू) ले चार्जिङ पोर्ट सम्बन्धी नयाँ नियमहरू २८ डिसेम्बरबाट लागू गरेको छ । अब सबै विद्युतीय डिभाइसहरूको लागि सी–टाइप चार्जरको प्रयोग अनिवार्य गरिएको छ । नियमअनुसार, नयाँ स्मार्टफोन, ट्याबलेट र क्यामेराहरूको लागि एउटै चार्जर प्रयोग गर्नु पर्नेछ ।
यसले लागत र ई–वेस्ट कम गर्न सहयोग गर्ने ईयुको भनाइ छ । साथै, सामान्य प्रयोगकर्ताहरूलाई राहत मिल्नेछ । अब ईयूका २७ देशहरूमा बिक्री हुने डिभाइसहरूमा यूएसबी-सी पोर्ट राख्नु सबै कम्पनीहरूको लागि अनिवार्य भएको छ।
यूरोपियन संघले इलेक्ट्रोनिक उपकरणहरूको चार्जिङका लागि यस पोर्टलाई मानकको रूपमा चयन गरेको छ । यसको अर्थ, कुनै पनि अवस्थामा निर्माताहरूले आफ्ना डिभाइसहरूमा यो पोर्ट समावेश गर्नै पर्नेछ ।
ईयूले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेको छ कि ईयूका २७ देशहरूमा बिक्री हुने सबै नयाँ मोबाइल फोन, ट्याबलेट, डिजिटल क्यामेरा, हेडफोन, स्पीकर, किबोर्ड लगायतका इलेक्ट्रोनिक्सलाई यूएसबी–सी चार्जिङ पोर्टसँग लैस गर्नुपर्नेछ ।
एउटै चार्जर नियमले मानिसहरूको जीवनलाई सजिलो बनाउनेछ । यसले जीवनलाई धेरै हदसम्म सरल बनाउनेछ र ई–वेस्ट पनि कम गर्नेछ । प्रयोगकर्ताहरूलाई हरेक डिभाइसका लागि छुट्टै चार्जर किनेर पैसा खर्च गर्नुपर्ने छैन् ।
यो नियम पहिलो पटक सन् २०२२ मा अमेरिकी टेक कम्पनी एप्पलसँगको विवादपछि स्वीकृत गरिएको थियो । सुरुमा एप्पलले यी नियमहरूलाई स्वीकार गर्न आनाकानी गरेको थियो, तर पछि उसले आफ्ना धेरैजसो डिभाइसमा यूएसबी-सी पोर्ट दिन सुरु गरेको थियो । तर ल्यापटप निर्माण गर्नेहरूले २०२६ को सुरुदेखि मात्र यो नियमको पालना गर्न अतिरिक्त समय पाउने छन् ।
रिपोर्टका अनुसार, धेरैजसो डिभाइसहरू पहिले नै यी केबलहरूको प्रयोग गर्दै आएका छन् र जो गर्दैनन्, अब तिनीहरूले पनि गर्नुपर्नेछ । यस कानूनले प्रतिवर्ष कम्तीमा २०८ मिलियन अमेरिकी डलरको बचत गर्नेछ । साथै, हरेक वर्ष एक हजार टनभन्दा बढी इलेक्ट्रोनिक फोहोर घट्ने अपेक्षा गरिएको छ ।
युएसबी सी पोर्टका विशेषता
– यूएसबी सी पोर्टहरूले १०० वाटसम्म चार्ज गर्न सक्छन् ।
– प्रति सेकेन्ड ४० गिगाबिटसम्म डेटा ट्रान्सफर गर्न सक्छन् ।
– बाह्य डिस्प्ले जोड्न सहयोग गर्छन् ।