जल तथा मौसम विज्ञान विभागले बाढी तथा मौसम सम्बन्धि पूर्व सूचनाहरू भ्वाइसबाट पनि पठाउने तयारी गरेको छ । यसअघि एसएमएस र सामाजिक सञ्जालबाट बाढी तथा मौसम सम्बन्धि पूर्व सूचनाहरू दिदै आएको विभागले अब भ्वाइसमार्फत अर्थात फोन गरेर पनि दिने तयारी गरेको हो ।
सकेसम्म भ्वाइस अलर्टको परीक्षण यसै मनसुनबाट सुरू गर्ने गरी अगाडि बढेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाका हाइड्रोलोजिष्ट सौहार्द्र जोशीले जानकारी दिए ।
‘अहिलेसम्म हामीले एसएमएसबाट विपद् जोखिम सम्बन्धि अलर्ट पठाउने गरेका थियौं । कतिपय ठाउँमा एसएमएस समयमै नपढिदिने र पढ्न नसक्ने अवस्था पनि देखियो,’ उनले आइसिटी समाचारसँग भने, ‘यी समस्याले गर्दा अब एक कदम अगाडि बढेर सम्बन्धित क्षेत्रमा भ्वाइस जाने पनि बनाउन सकिन्छ कि भनेर पाइलटिङ गर्न खोजिरहेका छौं ।’
अहिले एसएमएस पढाउँदा धेरैले पढिरहेका हुँदैन् । त्यसले गर्दा पनि विपद्को जानकारी समयमै पुग्दैनन् । तर फोन गरेर (भ्वाइसमार्फत) दिँदा रिङ बज्ने र त्यसपछि धेरैलाई जानकारी पाउन सक्ने विभागको भनाइ छ ।
विभागले भ्वाइसबाट बाढी तथा मौसम सम्बन्धि सूचना सम्बन्धित क्षेत्रका स्थानीय तह, प्रशासन र विपद् व्यवस्थापन समिति, रेडक्रस लगायतलाई पठाउने योजना बनाएको छ । एकैपटक सबैलाई ब्लक कल पठाउन नसकिने भएकाले विभागले यस्तो गर्न लागेको हो ।
विभागले जोखिम क्षेत्रका प्रशासन, स्थानीय तह र विपद व्यवस्थापनमा सक्रिय व्यक्तिहरूलाई एकै पटक कल गरेर जोखिम सम्बन्धि सन्देश बजाउने छ । फोन उठाउने बित्तिकै जोखिम सम्बन्धि रेकर्ड गरिएको सन्देश बज्न थाल्ने छ । यसले जोखिम क्षेत्रलाई बासिन्दालाई धेरै नै राहत मिल्ने छ । अहिले समयमै पूर्व सूचना नपाउँदा विपद्मा धेरै जनधनको क्षेती हुने गरेको छ ।
विभागले हिजो अर्थात मंगलबार मात्रै विपद् जोखिम न्युनिकरण प्राधिकरण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, जीएसएमए, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, एनसेल लगायतका सरोकारवाला निकायहरूको उपस्थितिमा जल तथा मौसमी विपदजन्य सूचना प्रवाहमा सेल ब्रोडकास्ट प्रविधि प्रयोगको सम्भावनाहरूबारे छलफल गरेको छ ।
कसरी हुन्छ मौसम तथा बाढीको पूर्वानुमान ?
जल तथा मौसम विज्ञान विभागले अहिले ३ हिसाबले पूर्वानुमान गर्दै आएको छ । ती हुन, फोरकास्ट, नाऊकास्ट र हाइन्डकास्ट । फोरकास्ट अर्थात पूर्वानुमान, जसमा आगामी ३ दिनको मौसम तथा बाढीको पूर्वानुमान हुन्छ ।
त्यसपछि आउँछ, नाऊकास्ट अर्थात तत्कालीन समयमा । यसमा तत्कालीन समयमा कहाँ के भइरहेको छ, त्यसको अध्ययन हुन्छ । यसका लागि देशका विभिन्न ठाउँमा जल र वर्षा मापन केन्द्र छन्, जसले १०-१० मिनेटमा डेटा पठाउँछन् । त्यस अनुसार समय समयमा पूर्व सूचनाहरू प्रवाह गरिन्छ ।
अर्को भनेको हाइन्डकास्ट । हाइन्डकास्टमा पूर्वानुमान र पूर्वानुमानपछिको वास्तविक घटनालाई विश्लेष्ण गर्ने गरिन्छ । यो डेटालाई आगामी पूर्वनुमानमा प्रयोग गर्ने गरिन्छ ।
विभागले मौसम पूर्वानुमानका लागि बेलुन, स्याटेलाइट इमेज, राडर र विभिन्न न्युमेरिकल डेटा मोडलमा आधारित भएर गर्दै आएको छ । प्रत्येक दिन बिहान ५ बजेर ४५ मिनेटमा कीर्तिपुरबाट बेलुन उडाउने गरिएको छ ।
हरेक दिन बिहान कीर्तिपुरबाट सेन्सरसहितको बेलुन उडाउने गरिएको विभागकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धर बताउँछिन् । ‘बेलुन उड्दै गएपछि त्यसले जति ठाउँ पार गर्छ त्यो सबै ठाउँको तापक्रम, प्रेसर लगायतका धेरै कुराहरुको रेकर्ड गर्छ र हाम्रो ग्राउन्ड स्टेसनमा पठाउँछ,’ उनले आइसिटी समाचारसँग भनिन ।
नेपालको आफ्नै स्याटेलाइट छैन् । त्यसैले पूर्वानुमानका लागि विभागले जापान, चीन, भारत लगायतका देशको स्याटेलाइट प्रयोग गर्दै आएको छ । यस बाहेक नेपालभर ३ वटा राडार छन् ।
सुर्खेत, पाल्पा र उदयपुरमा राडार राखिएको छ तर राडार नियमित सञ्चालन भने हुन सकेका छैनन् । राडारले २०० किलोमिटरको वरिपरिको परिधिमा रहेर बादलको अवस्था कस्तो छ र मौसमका अन्य पारामिटर कस्ता छन् भनेर जानकारी दिन्छ ।
विभागले देशका विभिन्न ठाउँमा रियलटाइम स्टेशनहरू राखेको छ । जहाँ वर्षा, पानीको सतह र तापक्रम लगायत नाप्ने गरिन्छ । यस्ता स्टेशन देशभर छन् ।
विभागको २४ घण्टे बाढी पूर्वानुमान महाशाखाकी हाइड्रोजिस्ट इन्जिनियर जिंकी भुसालले देशका विभिन्न ठाउँमा राखिएका सतह र वर्षा मापन केन्द्रमा जल सतह सतर्कता तह वा खतरा तहमा पुग्यो भने नागरिकलाई एसएमएसबाट जानकारी दिने गरेको बताइन् ।
‘जल तथा वर्षा मापन केन्द्रमा सेन्सर राखिएको हुन्छ, जसबाट प्रत्येक १०-१० मिनेटमा सूचना आउँछ । त्यसलाई हामीले निगरानी गरिरहेका हुन्छौं,’ उनले भने, ‘त्यसैकै आधारमा कुनै अलर्ट पठाउछौं ।’
यी विभिन्न प्रविधि प्रयोग गरेर १०-१० मिनेटमा डेटाहरू आउँछन् र उक्त डेटाहरूलाई विश्लेष्ण गरेर विभागले पूर्वानुमान गर्ने गरेको छ ।
मौसम पूर्वानुमानमा प्रविधिको प्रयोग हुन थालेको पछि पूर्वानुमान धेरैहदसम्म मिल्ने गरेको छ । पहिले पहिले विभागले एउटा मौसम पूर्वानुमान गर्थ्यो, तर हुन्थ्यो अर्के । तर जबदेखि प्रविधिको प्रयोग हुन थाल्यो, तबदेखि पूर्वानुमान धेरै हदसम्म मिल्न थालेको छ ।
प्रविधिको प्रयोगले गर्दा पहिला जस्तो झ्यालबाट बाहिर हेरेर पूर्वानुमान गर्नुपर्ने अवस्था नरहेको मानन्धरको भनाइ छ ।
उनी अगाडि भन्छिन्, ‘प्रविधिको प्रयोग हुन थालेपछि पूर्वानुमान गर्न सहज भएको छ । अहिले पनि पूर्वानुमान ठ्याक्कै मिल्छ भनेर त भन्दिन्न । तर धेरै मात्रामा सुधार भएको छ । यसलाई सुधार गर्न हामी निरन्तर लागिरहेका छौं । पहिला भन्दा अहिले मिलेको र क्रमिक रुपमा मिल्दै गएको देख्दा हामीलाई पनि खुसी लाग्छ ।’
कसरी लिन सकिन्छ मौसम र बाढीको पूर्व जानकारी ?
सबैभन्दा पहिला विभागको वेबसाइट dhm.gov.np मा जल तथा मौसम सम्बन्धि सूचनाहरू थाहा पाउन सकिन्छ । त्यहाँ हाइड्रोलोजिकल फर्कास्टमा जानुभयो भने बाढीसँग सम्बन्धित र मेट्रोलोजिकलमा गएर मौसम सम्बन्धि सूचनाहरू पाउन सकिन्छ ।
फरक क्षमता भएका व्यक्तिहरूलाई पनि इमेलमार्फत विभागले जानकारी दिने गरेको छ । यस बाहेक विभागले बाढी तथा मौसम सम्बन्धि जानकारी फेसबुक (बाढी तथा मौसम), भाइबर, एक्स (बाढी तथा मौसम), टिकटक, युट्युब जस्ता माध्यमबाट पनि दिने गरेको छ ।
साथै विभागले ११५५ टोल फ्री नम्बरमा फोन गरेर पनि जानकारी लिन सकिन्छ । त्यसमा १ थिचेपछि मौसम र २ थिचेपछि बाढी सम्बन्धि जानकारी पाइन्छ ।
विशेष परिस्थिति र आपतकालिन अवस्थामा नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा एसएमएस पठाउने गरिएको छ । त्यसमा अब भ्वाइस सेवा पनि सुरू गर्दैछ ।
विभागले बाढी र मनसुनको समयमा मात्र नभएर शितलहर, चट्याङ, हिटवेभ जस्ता अवस्थामा पनि सम्बन्धि क्षेत्रमा सूचनाहरू पठाउने गरेको छ ।