कीवर्डहरू -

फोनपेको करिब ३ वर्षको मिहिनेतपछि भारतसँग सुरू हुँदै क्रस बोर्डर भुक्तानी, कसरी भयो सम्भव ?

फोनपेको करिब ३ वर्षको मिहिनेतपछि भारतसँग सुरू हुँदै क्रस बोर्डर भुक्तानी, कसरी भयो सम्भव ?

केही दिन अगाडि भारतमा भएको ग्लोबल फिनटेक फेष्ट २०२३ मा नेपालको फोनपे र भारतको नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा एनपीसीआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड (एनआईपीएल) ले नेपाल र भारतबीच क्रस बोर्डर (अन्तरदेशीय) क्युआर भुक्तानीको लागि तयार भएको जानकारी दिए ।

फिनटेक क्षेत्रका विश्वभरका हस्तिहरू सहभागी भएको उक्त फेष्टमा नेपाल र भारतबीच अन्तरदेशीय क्युआर भुक्तानी सुरू गर्न तयार भएको घोषणा नेपालका लागि आफैमा एउटा प्रतिष्ठित विषय थियो । किनकी नेपालले विश्वभरका फिनटेक हस्तिसामु प्रविधिको अब्बलता देखाएको थियो । त्यसको नेतृत्वकर्ता थियो, नेपालको अग्रणी फिनटेक कम्पनी, फोनपे ।

फोनपे र एनआईपीएलबीच भएको सहकार्य धेरैलाई अप्रत्याशित लागेको छ । तर यो काम अप्रत्याशित भएको होइन । पूर्व योजना अनुसार नै भएको हो । नेपाल र भारतबीचको अन्तरदेशीय भुक्तानीको तयारी करिब ३ वर्ष अगाडि सुरू भएको थियो ।

अन्तरदेशीय क्युआर भुक्तानीको तयारी सन् २०१९ देखि नै सुरू गरेको फोनपेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवस सापकोटाले बताए । ‘फोनपे र एनआईपीएल अन्तरदेशीय भुक्तानीका लागि तयार भएको खबर धेरैलाई आश्चर्य लाग्यो,’ उनले आइसिटी समाचारसँग भने, ‘यो प्रक्रिया सन् २०१९ देखि नै सुरू भएको हो ।’

खासमा फोनपेले अन्तरदेशीय भुक्तानीका लागि सन् २०१९ मै भारतको एनपीसीआईसँग कुरा गरेको थियो । त्यो बेला एनपीसीआई पनि ग्लोबल जान खोजिरहेको थियो । त्यसका लागि एनपीसीआईले अन्तर्राष्ट्रिय शाखाको रूपमा एनआईपीएल खोल्ने जानकारी फोनपेलाई दियो ।

एनपीसीआईले अन्तर्राष्ट्रिय क्षेत्रका लागि सहायक कम्पनी खुल्दैछ र त्यसपछि अन्तरदेशीय भुक्तानीको सम्झौता गर्ने बतायो । अनि सन् २०२० को मार्चमा एनआईपीएल भन्ने कम्पनी स्थापना भयो । सन् २०२० को अगस्टमा फोनपेले एनआईपीएसँग नन डिस्क्लोजर एग्रिमेन्ट गरेको थियो ।

एनआईपीएल स्थापना भएपछि सन् २०२० को अगस्टमा एनडीए (नन डिस्क्लोजर एग्रिमेन्ट) गरेको सापकोटा बताउँछ्न् । ‘सन् २०१९ मा एनपीसीआईसँग हामीले कुरा गर्दा ६-७ महिनामा सहायक कम्पनी स्थापना हुने र अनि सम्झौता गर्ने जानकारी दिनुभयो,’ उनी भन्छन्, ‘सन् २०२० मार्चमा एनआईपीएल स्थापना भएपछि अगस्टमा एनडीए र सेप्टेम्बरमा एमओयु गर्‍यौं ।’

फोनपेले सन् २०२० सेप्टेम्बरमा गरेको एनपीआईएलसँग साझेदारीमा क्युआर सेवाका लागि मात्र नभएर अन्य सेवा समेत समेटिएको छ । तर फोनपेले अन्तरदेशीय भुक्तानीको सुरूवात क्युआरबाट गर्न खोज्दै छ ।

सेप्टेम्बरमा एमओयु भएपछि अक्टोबरमा फोनपेले नेपाल राष्ट्र बैंकलाई अन्तरदेशीय भुक्तानीको अनुमतिका लागि पत्राचार गरेको थियो । त्यसपछि राष्ट्र बैंकेले केही शर्त राखेर फोनपेलाई अन्तरदेशीय भुक्तानीका लागि अनुमति दियो । त्यसका आधारमा मार्च २०२१ मा फोनपेले एनआईपीएलसँग सम्झौतामा हस्ताक्षर गरेको थियो ।

\"\"

करिब ३ वर्षको तयारी पछि नेपाल र भारतबीच अन्तरदेशीय क्युआर भुक्तानी गर्न सकिने अवस्था सिर्जना भएको छ । भारत जस्तो ठूलो अर्थतन्त्रसँग जोडिन पाउनु नेपालका लागि गौरवको विषय पनि हो । फोनपेले अन्तरदेशीय क्युआर कारोबारका लागि आवश्यक पर्ने सबै सम्झौता गरिसकेको सापकोटाले जानकारी दिए ।

कहिलेबाट सुरू हुन्छ कारोबार ?

अन्तरदेशीय क्युआर कारोबारका लागि फोनपे र एनपीसीआई तयारी अवस्थामा छन् । प्रविधिको काम पनि सकिसकेको छ । तर फोनपे र एनपीसीआईका सदस्य, बैंक तथा वित्तीय संस्था अन्तरदेशीय भुक्तानीका लागि अनबोर्ड हुनुपर्छ ।

अन्तरदेशीय क्युआर भुक्तानीका लागि नेपाल र भारत तर्फका आ-आफ्ना बैंक तथा वित्तीय संस्था आवद्ध हुनुपर्ने सापकोटाको भनाइ छ । नेपालको हकमा फोनपेमा ७ वटा बैंक तथा वित्तीय संस्था आवद्ध भइसकेका छन भने भारतको हकमा एनपीसीआईमा एउटा मात्रै एक्सिस बैंक आवद्ध भएको छ ।

एउटा बैंकसँग मात्रै कारोबार गर्दा इम्प्याक्ट नहुने हुँदा सबै सदस्य आवद्ध भएपछि कारोबार सुरू हुने उनले बताए । उनी भन्छन्, ‘आज मैले घोषणा गरे भने भोलिबाट सबै चल्छ भनेर आशा गर्नु भएन । यसले केही समय लिन्छ । तर सुरू त गर्नुपर्‍यो । अब हामी छिट्टै कारोबार सुरू गर्छौं ।’

सबै बैंक तथा वित्तीय संस्था आवद्ध हुन ६ देखि १ वर्षको समय लाग्ने भएपनि सेप्टेम्बरको अन्यसम्ममा कारोबार सुरू गर्ने तयारी गरिएको छ ।

अन्तरदेशीय भुक्तानीका फाइदा

कुनै पनि भारतीय नागरिक नेपालमा घुम्न आउँदा नगद वा कार्डको प्रयोग गर्छन । नगद बोकेर आउँदा पनि अप्ठ्यारो छ । नेपालमा भारू १०० को नोट मात्रै चल्छ । अन्य नोट चल्दैनन् । त्यसले गर्दा १ लाख खर्च गर्न पनि १०० का नोट धेरै ल्याउनु पर्ने हुन्छ । त्यो जोखिम पनि छ र सजिलो पनि छैन् ।

कार्ड लिएर आउँदा पनि कतियप बेला एटीएम चल्दैन् । कतिबेला स्वाइप हुँदैन् । पस मसिन पनि सबै ठाउँमा उपलब्ध छैनन् । पस मसिन होटेल, सुपरमार्केटमा मात्रै उपलब्ध छन । साना साना ठाउँमा छैनन् । त्यसकारण पर्यटकले चाहेर पनि खर्च गर्न पाएका छैनन् । नगद र कार्डका पनि आ-आफ्नै समस्या हुँदा पर्यटकले नेपालमा चाहे जति खर्च गर्न नपाएको उनी बताउँछन् ।

‘नेपालमा भारू १०० भन्दा बढीको नोट चल्दैन् । नगद लिएर आउँदा पनि धेरै लिएर आउनुपर्ने अवस्था छ । कार्ड लिएर आउँदो पनि कतिपय बेला एटीएम नचल्ने र स्वाइप नहुने समस्या पनि देखिन्छ,’ सीईओ सापकोटाले भने, ‘यस्तो अवस्थामा नेपालमा चाहेर पनि खर्च गर्न नसकेको अवस्था देखियो । अब यो समस्या क्युआर भुक्तानीले कम गर्नेछ ।’

अन्तरदेशीय क्युआर भुक्तानीमा मर्चेन्टलाई क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिन्छ । भारतीय पर्यटक नेपाल आउँदा मर्चेन्टलाई आफ्नो मोबाइल बैंकिङबाट क्युआर स्क्यान गरेर पैसा तिर्न सक्ने छन् भने नेपाली पर्यटक पनि भारत जाँदा नेपालकै मोबाइल बैंकिङबाट क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् । यसले लागत पनि घटाउने छ ।

अन्तरदेशीय भुक्तानीले समग्र अर्थतन्त्रलाई नै फाइदा पुग्ने सापकोटाको दावी छ । उनले अगाडि भने, ‘यसले देशको अर्थतन्त्रलाई नै फाइदा पुग्छ । अन्तरदेशीय भुक्तानीले बैंक, पूर्वाधार र ग्राहकको लागत घटाउन पनि सहयोग गर्छ ।’

नेपाली नागरिक पनि भारत जाँदा कार्ड बोकेर जानुपर्छ । पैसा बोकेर जानुपर्छ । औपचारिक रूपमा पैसा लैजान सक्ने च्यानल कम छन् । त्यसकारण अनौपचारिक च्यानलबाट पैसाको व्यवस्थापन भइरहेको हुन्छ ।

अनौपचारिक माध्यमबाट भइरहेको कारोबार पनि औपचारिक माध्यममा आउने विश्वास सापकोटाको छ । कार्डबाट भारतमा कारोबार गर्दा प्रत्येक कारोबारको पैसा भारतलाई तिर्नु पर्छ । तर नेपालको बैंक खाताबाटै पैसा तिर्न पाइयो भने त्यो पैसा पनि बचत हुन्छ । समग्रमा अन्तरदेशीय भुक्तानीका आफ्नै फाइदा पनि छन् र बेफाइदा पनि छन् । फाइदालाई आत्मसात गरी जोखिम कम गर्दै जानुपर्ने उनको भनाइ छ ।

कस्ता कस्ता कारोबारको भुक्तानी गर्न सकिन्छ ?

अन्तरदेशीय क्युआर भुक्तानीमा सबै कारोबारको भुक्तानी गर्न सकिदैन् । यसका पनि केही निश्चित मापदण्ड छन् । त्यसै अन्तर्गत रहेर मात्रै भुक्तानी गर्न सकिन्छ । विशेष गरी अन्तरदेशीय क्युआर भुक्तानी सेवा पर्यटकका लागि उपयोगी हुनेछ । अहिले व्यक्तिले व्यवसाय अर्थात मर्चेन्टको खातामा मात्रै पैसा पठाउन सक्छन् ।

\"\"

नेपालबाट भारतको कुनै सेवाका लागि पैसा भुक्तानी गर्न सकिदैन । नेपालको कुनै व्यक्तिले भारतको कुनै व्यक्तिको खातामा पनि पैसा पठाउन सक्दैन । अहिले ट्रेड टु ट्रेड (व्यापारदेखि व्यापार) बिजनेस गर्न खोजेको नभइ पर्यटकलाई लक्षित गर्दै अन्तरदेशीय भुक्तानी सेवा ल्याइएको सापकोटाले जानकारी दिए ।

तर फोनपेले अन्तरदेशीय भुक्तानीको सुरूवात क्युआरबाट गरे पनि भविष्यमा थप विस्तार गर्ने योजना बनाएको छ । नेपालको खाताबाट भारतमा कसैको खातामा पैसा ट्रान्सफर गर्न वा भारतको आफ्नै कार्ड रूपेसँग टाइअप गरेर भविष्यमा केही काम गर्ने सापकोटाले बताए ।

अन्तरदेशीय भुक्तानीको प्रविधि र पूर्वाधार

अन्तरदेशीय भुक्तानीका लागि प्रविधिमा खासै फरक छैन । घरेलु अर्थात डोमेस्टिक बजारका लागि बनाएको प्रविधि नै प्रयोग भएको छ । एक अर्का देशमा यसअघि नै प्रयोगमा रहेका प्रविधिलाई एकीकृत मात्रै गरेको उनले जानकारी दिए ।

तर पूर्वाधारमा भने केही फरक छ । अन्तरदेशीय भुक्तानीमा एन्टी मनी लाउन्डरिङ (एएमएल) लाई विशेष ध्यान दिनुपर्ने हुन्छ । अन्तरदेशीय भुक्तानीमा फ्रड र मनी लाउन्डरिङ हुने सम्भावना हुने सापकोटाले बताए ।

‘फ्रड र मनी लाउन्डरिङलाई विशेष ध्यान दिनुपर्छ । त्यसलाई महत्त्व दिएरै हेर्नुपर्छ । त्यसले हाम्रो देशलाई पनि प्रतिनिधित्व गर्ने गर्छ,’ उनी भन्छन्, ‘अन्तरदेशीय कारोबारमा फेक मर्चेन्ट नहोस्, वास्तविक व्यवसाय मात्रै होस भनेर अनबोर्डिङदेखि नै त्यसको प्रक्रिया सुरू हुन्छ ।’

यसका साथै डिस्प्युट मेकानिजमका पनि केही गाइडलाइन छन् । साइबर सुरक्षामा पनि खासै फरक छैन । घरेलु बजारमा जे जति सुरक्षाका मापदण्ड छन्, त्यही नै लागु हुन्छ । अर्को कुरा घरेलु बजारमा व्यक्तिदेखि मर्चेन्टको कारोबार शुल्क लाग्दैन तर अन्तरदेशीयमा शुल्क लाग्ने छ ।

अन्तरदेशीयको भुक्तानीको सीमा र शुल्क

अन्तरदेशीय क्युआर भुक्तानीको कारोबार पनि कार्डबाट भएको जस्तै हो । कार्डको सट्टा मोबाइल बैंकिङबाट मात्र भुक्तानी हुने हो । कारोबारको प्रकृति पनि एउटै हो । अहिलेका लागि कार्डकै कारोबारको सिमाले काम गर्छ भन्ने आफुहरूको बुझाइ रहेको सीईओ सापकोटाले बताए ।

‘अन्तरदेशीय भुक्तानीको कारोबार पनि कार्डको जस्तै नै हो । यसमा कार्डको साटो मोबाइल बैंकिङबाट भुक्तानी हुन्छ,’ उनले आइसिटी समाचारसँग भने, ‘त्यसकारण अहिले कार्डकै सीमाले काम गर्ने हाम्रो बुझाइ छ । भविष्यमा यो बिजनेस आफैमा ठूलो हुन सक्छ । बिजनेस ठूलो भएपछि यसका लागि छुट्टै सीमा ल्याउनु पर्छ ।’

अन्तरदेशीय क्युआर भुक्तानी गर्दा निश्चित शुल्क लाग्ने छ । घरेलुको जस्तो निःशुल्क हुने छैन् । नेपालबाट भारतमा गएर क्युआर भुक्तानी गर्दा त्यसको शुल्क एनपीसीआईलाई तिर्नुपर्छ भने भारतबाट नेपाल आएर भुक्तानी गर्दा फोनपेलाई शुल्क तिर्नुपर्छ । अन्तरदेशीय भुक्तानीको शुल्क व्यवसायको जोखिम, बैंकको व्यवसाय र कारोबारमा निर्धारण हुने सापकोटाको भनाइ छ ।

अन्तरदेशीय भुक्तानीको शुल्क फोनपेले निर्धारण गर्दैन् । बैंकहरूले निर्धारण गर्छन् । तर फोनले बैंक तथा वित्तीय संस्थाहरूबाट निश्चित शुल्क लिनेछ । नेपालमा मर्चेन्टलाई १ प्रतिशतदेखि १.८ प्रतिशतसम्म चार्ज लाग्न सक्ने सापकोटा बताउँछन् ।

नगदसँगको प्रतिस्पर्धा र आगामी योजना

नेपालमा फोनपेले डिजिटल भुक्तानीको क्षेत्रमा एउटा क्रान्ति नै ल्याएको छ । फोनपेको अन्तिम लक्ष्य भनेको नगदमा भइरहेको कारोबारलाई डिजिटाइज गर्ने भएको सीईओ सापकोटाले बताए ।

‘हाम्रो प्रतिस्पर्धा जहिले पनि नगदसँग हो । डेटाले आजको दिनसम्म ५-७ प्रतिशत कारोबार मात्रै अनलाइनबाट हुने गरेको देखाउँछ । ९०-९३ प्रतिशत कारोबार क्यासमै भइरहेको छ,’ उनी भन्छन्, ‘यहाँ अवसर छ । आज क्युआरमा काम गर्‍यौं । त्यसकै आधारमा अन्य सेवामा पनि काम गर्दैछौं ।’

फोनपेले अब अन्य देशसँग पनि अन्तरदेशीय भुक्तानीका लागि काम गर्ने योजना बनाएको छ । केही समय अगाडि श्रीलंकासँग समेत सम्झौता गरेको थियो । नेपाल भारतको युपीआई (युनिफाइड पेमेन्ट्स इन्टरफेस) सँग जोडिने पहिलो देश हुने सापकोटाले बताए । भारतले युपीआई प्रयोगका लागि अन्यदेशसँग पनि सम्झौता गरेको छ । तर त्यसको पहिलो सुरूवात नेपालबाट हुनेछ ।