कीवर्डहरू -

नीतिदेखि पूर्वाधारसम्म, महावीर पुनको नेतृत्वमा नवप्रवर्तन मन्त्रालयले कोर्दै नयाँ रोडम्याप

नीतिदेखि पूर्वाधारसम्म, महावीर पुनको नेतृत्वमा नवप्रवर्तन मन्त्रालयले कोर्दै नयाँ रोडम्याप

काठमाडौं । नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले आफ्नो कार्य प्रारम्भसँगै संस्थागत र नीतिगत आधार निर्माणको काम अघि बढाएको छ । सरकारले हालै गरेको कार्यविभाजनअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विज्ञान तथा प्रविधिसम्बन्धी जिम्मेवारी अलग गरी नवप्रवर्तन क्षेत्रलाई समेत समेटेर नयाँ मन्त्रालय स्थापना गरेको हो ।

मन्त्रालयको नेतृत्व स्वतन्त्र सांसद महावीर पुनले सम्हालेका छन् । उनले पदभार ग्रहण गरेलगत्तै मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) प्रक्रिया अगाडि बढाउने निर्णय गरेका छन् । नयाँ मन्त्रालय भएकाले प्रशासनिक संरचना, जनशक्ति व्यवस्थापन र कार्य क्षेत्रको स्पष्ट खाका तयार गर्नुपर्ने अवस्था रहेको मन्त्रालयको भनाइ छ ।

यसैबीच, इञ्जिनियरिङ सेवाकी प्रमिला बज्राचार्य मन्त्रालयको सचिवका रूपमा जिम्मेवारीमा आएकी छन् । मन्त्रालयले हाल सिंहदरबारस्थित पूर्व युवा तथा खेलकुद मन्त्रालयको कार्यालयबाट आफ्नो नियमित काम सञ्चालन गरिरहेको छ ।

सचिव बज्राचार्यका अनुसार मन्त्रालयको आधिकारिक वेबसाइट निर्माण प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ । वेबसाइटको नमुना तयार गरी सूचना प्रविधि विभागलाई हस्तान्तरण गरिसकिएको र प्राविधिक प्रक्रियाअनुसार केही दिनभित्र सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

हाल मन्त्रालयमा २४ जना कर्मचारी कार्यरत छन् । तर नयाँ संगठन संरचना स्वीकृत भएपछि आवश्यकताअनुसार कर्मचारी संख्या थप गरिने तयारी छ । मन्त्री पुनले मन्त्रालयको कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय परिसरमै बसोबास गर्ने व्यवस्था मिलाएका छन् । उनी बुधबारदेखि सिंहदरबारस्थित सरकारी निवासमा सरेका छन् ।

सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तनलाई आर्थिक विकास तथा डिजिटल रूपान्तरणको प्रमुख आधारका रूपमा अघि बढाउने लक्ष्यसहित यो मन्त्रालय स्थापना गरेको जनाएको छ ।