कीवर्डहरू -

आजदेखि सस्तो र कम स्पीडका इन्टरनेट प्याकेज बन्द, मूल्य बढ्ने

आजदेखि सस्तो र कम स्पीडका इन्टरनेट प्याकेज बन्द, मूल्य बढ्ने

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूले सोमबारदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गर्ने निर्णय गरेका छन् । इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आइस्पान) ले सोमबार एक विज्ञप्ति जारी गर्दै सस्तो र कम स्पीडका प्याकेज बन्द गर्ने निर्णय भएको जनाएको छ ।

१२ वर्षमा इन्टरनेटको पहुँच र प्रभावमा नेपालले गरेको प्रगति गर्व गर्न लायक रहेको र फिक्स्ड ब्रोडब्यान्डको घनत्व र पहुँचमा, दक्षिण एसियाको सस्तोमा पर्ने आइस्पानको दाबी छ ।

मूल्यवृद्धि, मध्यपूर्वको तनावले इन्धनको मूल्य आकाशिएको, फाइबरको मूल्य, अत्यधिक मुद्रास्फीतिको अवस्था र एआईको तीव्र वृद्धिले गर्दा एक्कासि इलेक्ट्रोनिक र चीपसेटको मूल्य महंगिएको आइस्पानले जनाएको छ । यही कारणले आईएसपीहरूको सञ्चालन चल्न सकस भएको हुँदा हाल दिँदै आएको सुपथ मूल्यका र कम स्पीडका प्याकेजहरू उपलब्ध गराउन नसक्ने आइस्पानले जनाएको छ ।

‘कोरोना कालदेखि भोटेकोशीको बाढीसम्म आइएसपीहरुले निरन्तर अतिआवश्यक इन्टरनेट सेवा प्रदान गरिरहेका छन् । यसरी डिजिटल नेपालको सपनालाई सार्थक बनाउन अहोरात्र खटिररहनु भएका इन्टरनेट सेवा प्रदयाकहका सम्पूर्ण कर्मचारी साथीहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।

बिगतका वर्षहरुका मूल्यवृ‌द्धि, मध्यपूर्वको तनावले गर्दा चुलिएको इन्धनको मूल्य, आकाशिएको फाइबरको मूल्य, अत्याधिक मुद्रास्फीतिको अवस्था र आइएसपीको वृ‌द्धिले गर्दा एक्कासी महंगिएको इलेक्ट्रोनिक र चिपसेटको मूल्य एवं अन्य थुप्रै कारण र परिस्थिति समेतले गर्दा आइएसपीहरुको अपरेसनसमेत चल्न सकस भएको हुँदा आइएसपीहरुले दिंदै आएको सुपथ मूल्यका र कम स्पीडका प्याकेजहरु सोमबारदेखि उपलब्ध गराउन असमर्थ भएको बिनम्र अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

null