फ्यूजमेसिन इन्कले नेपालका लागि फ्यूजमेसिन एआइ फेलोशिप २०२४ को आवेदन खुला गरेको छ । एआई र डेटा साइन्समा काम गर्ने दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ फ्यूजमेसिन एआइ फेलोशिपको आवेदन खुला गरेको हो ।
प्रमुख अमेरिकी विश्वविद्यालयका संकाय तथा एआई उद्योग विशेषज्ञहरूबाट डिजाइन गरिएको फेलोशिप माइक्रोडिग्री कार्यक्रम हो । प्रोग्रामिङ, गणित, कम्प्युटर विज्ञान र सफ्टवेयर डेभलपमेन्ट पृष्ठभूमि भएका आईटी विद्यार्थी, प्रोफेसनल र इच्छुकहरूलाई अप स्किल गर्न फेलोशिप ल्याएको फ्युजमेसिन्सले जनाएको छ ।
यसमा आवेदन दिएर छनौट हुनेले फेलोशिपमा सहभागी हुन पूर्ण छात्रवृत्ति पाउने छन् । विगत केही वर्षदेखि फ्युजमेसिन्सले एआइ फेलोशिप कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
प्रत्येक वर्ष एआई फेलोशिप कार्यक्रमका लागि बढ्दो उत्साह देखेर आश्चर्यमा परेको फ्युजमेसिन्सका सीईओ र संस्थापक समीर मास्केले बताए ।
सन् २०१७ देखि सुरू भएको फ्यूजमेसिन एआइ फेलोशिप कार्यक्रमले गुणस्तरीय एआइ शिक्षा अवसरहरूमार्फत १२ देशहरूमा ८०० भन्दा बढी फेलोहरूलाई सफलतापूर्वक तालिम दिएको छ । यदी तपाई पनि यस वर्षको एआई फेलोशिपमा आवेदन दिन चाहनुहुन्छ भने यहाँ क्लिक गरी आवेदन दिन तथा यस बारे थप बुझ्न सक्नुहुनेछ ।
फ्युजमेसिन्सका दक्षिण एशिया प्रमुख पराग श्रेष्ठले एआई फेलोशिप कार्यक्रमले एआईको पहुँच वृद्धि गर्न र यस क्षेत्रका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न सघाउने जानकारी दिए ।
फेलोशिपमा एआई, मेसिन लर्निङ र डीप लर्निङ, गणित, प्रोग्रामिङ लगायत विस्तृत रूपमा सिक्ने छन् । यसमा धेरैजसो कोर्ष कन्टेन्ट अनलाइनबाटै सञ्चालन हुनेछ ।
यसले उपयुक्त एल्गोरिदम, पुस्तकालय, फ्रेमवर्क र अत्याधुनिक कम्प्युटर भिजन, न्याचुरल लैंग्वेज प्रोसेसिंग र जेनेरेटिभ एआई प्रविधिमा विविध चुनौतीको लागि प्रविधि छनौट गर्न र कार्यान्वयन गर्न सशक्त बनाउने कम्पनीको विश्वास छ ।