कीवर्डहरू -

नासड्याकमा फ्युजमसिन्स: लिभिङ रूमबाट सुरू भएको ‘नेपाली एआई सपना’ विश्वमञ्चमा

नासड्याकमा फ्युजमसिन्स: लिभिङ रूमबाट सुरू भएको ‘नेपाली एआई सपना’ विश्वमञ्चमा

एउटा सानो कोठाबाट सुरु भएको फ्युजमेसिन्सको यात्रा विश्वकै प्रतिष्ठित स्टक एक्सचेन्ज नासड्याकसम्म पुग्न सफल भएको छ। सीएसएलएम एक्युजीसन कर्पसँगको मर्जरपछि गत बिहीबारदेखि कम्पनीले ‘FUSE’ टिकरसहित कारोबार पनि सुरु गरिसकेको छ।

नेपाली मूलको कम्पनीका लागि नासड्याकमा सूचीकृत हुनुले नयाँ अध्यायको सुरूवात भएको डा. समीर मास्के बताउँछन्। ‘यो केवल एउटा व्यावसायिक उपलब्धि मात्र होइन। नेपालमा जन्मिएको सपना आज विश्व मञ्चमा चम्किरहेको छ,’ मास्के भन्छन्, ‘यो यात्रा सुरूवाती दिनदेखि साथ दिइरहेका कर्मचारीहरूबिना सम्भव हुने थिएन। तपाईंहरूको समर्पण, निष्ठा, धैर्य र संघर्षका लागि धन्यवाद। हामीले अनेक उतार–चढाव पार गर्‍यौं तर कहिल्यै हार मानेनौं।’

नवप्रवर्तन र दृढ प्रतिबद्धताको कारण फ्युजमसिन्स प्रतिष्ठित स्टक एक्सचेन्जमा लामो मिहिनेतपश्चात सूचीकृत हुन सफल भएको छ । नेपाली मुलक व्यवसायीले सुरू गरेको कम्पनी विश्व प्रशिद्ध स्टक एक्सचेञ्जमा सूचीकृत हुन नेपालीका लागि गौरवको विषय हो । किनकी नेपाली मुलका व्यक्तिले सुरू गरेको कम्पनी नासड्याकमा सूचीकृत भएको यो नै ‘पहिलो पटक’ हो । 

एउटा कोठादेखि विश्वमञ्चसम्मको यात्रा

फ्युजमसिन्स सन् २०१३ मा एउटा कोठाबाट सुरू भएको थियो । आईबीएममा काम गर्दै गर्दा आफ्नै लिभिङ रूमबाट मास्केले सुरू गरेको फ्युजमसिन्स आज एउटा ग्लोबल ब्राण्ड बनेको छ । 
फ्युजमसिन्स सुरू गर्दा उनलाई सार्वजनिक शेयर निस्कासनसम्म लैजान्छु भन्ने कुनै योजना थिएन । मास्के भन्छन् - आफुले जानेको र सिकेको एआई प्रविधिबाट कसरी मानिसहरूको जीवनमा सकारात्मक प्रभाव पार्न सकिन्छ भन्ने उद्देश्यबाट फ्युजमसिन्सको जन्म भएको थियो ।  

नासड्याकमा सूचीकृत भएसँगै ‘डेमोक्रेटाइज एआई फर अल’ मिसनमा नयाँ अध्यायको सुरूवात भएको मास्केको भनाइ छ । मास्केका अनुसार कम्पनीको ध्यान अब संयमित वृद्धि, रणनीतिक लगानी र दीर्घकालीन मूल्य सिर्जनामा केन्द्रित रहनेछ । 

null

आईपीओबाट प्राप्त रकम कम्पनीको आर्थिक संरचना सुदृढ गर्न र वृद्धिलाई तीव्र बनाउन प्रयोग गरिनेछ । कम्पनीले आफ्ना उत्पादन नवप्रवर्तन, ग्राहक विस्तार र बिक्री तथा बजार प्रवर्द्धनमा लक्षित लगानी गर्ने योजना बनाएको छ ।

कम्पनीले उपभोक्ता र व्यापारमा हुने समस्या समाधान गर्न जटिल आर्टिफिसियल इन्टेलिजेन्स प्रोडक्टहरू निर्माण तथा आवश्यक सोलुसनहरू प्रदान गरिरहेको छ । कम्पनीले एआई स्टुडियो, एन्सर जेन, एक्सट्रयाक्ट र फ्रड डिटेक्सन जस्ता विश्वस्तरीय प्रडक्ट विकास गरिसकेको छ । 

मर्जरपश्चात कम्पनीको सीईओमा समीर मास्के र मुख्य वित्तीय अधिकृतमा क्रिस्टिन चेम्बर्स छन् । त्यसैगरी, कम्पनीको कार्यकारी टोलीसहितको बोर्ड अफ डाइरेक्टरमा समीर मास्के, भरत कृष्ण, टिम गोचर, सञ्जय श्रेष्ठ, र सलमान आलम रहेका छन् ।

फ्युजमसिन्समा डोल्मा इम्प्याक्ट फण्ड, फ्युचर परफेक्ट भेञ्चर्स, आईएमई, बिजनेस अक्सिजन, कन्सिलियम इन्भेष्टमेन्ट म्यानेजमेन्ट लगायतको लगानी रहेको छ ।  

१२ वर्षको यात्रामा फ्युजमसिन्स अमेरिका हुँदै नेपाल, भारत, पेरू, क्यान्डा, चिलि, अर्जेन्टिना र डोमिनिकन रिपब्लिक गरी ८ देशमा फैलिएको छ, जहाँ ४ सय बढीले रोजगारी पाएका छन् ।

फ्युजमेसिन्सले दक्ष जनशक्ति उत्पादन गर्न विगत केही वर्षदेखि नेपाल र ल्याटिन अमेरिकामा एआई फेलोशिप दिदै आएको छ । सन् २०१७ देखि सुरू भएको फ्यूजमेसिन एआई फेलोशिप कार्यक्रमले गुणस्तरीय एआई शिक्षा अवसरहरूमार्फत १२ देशहरूमा ८०० भन्दा बढी फेलोहरूलाई तालिम प्रदान गरिसकेको छ । 

फेलोशिपमा एआई, मेसिन लर्निङ र डीप लर्निङ, गणित, प्रोग्रामिङ लगायत सिकाइन्छ । 

को हुन मास्के ? 

काठमाडौंमा जन्मिएका मास्केले कम्प्युटर साइन्समा विद्यावारिधीसम्मको अध्ययन गरेका छन् । सन् १९९९ मा पूर्ण छात्रवृत्ति पाएर उनी गणित र भौतिक विज्ञानमा स्नातक अध्यनका लागि अमेरिका गएका थिए । 

‘सन् १९९८ मा आइएससी सकेपछि अमेरिका केही युनिभर्सिटीमा एप्लाई गरे र कोलम्बियाले मलाई फुल स्कलरसिप दियो,’ मास्कले भने, ‘आइएससीमा बायोमेडिकल पढेकाले मेडिकल इन्जिनियरिङ पढ्‌छु भन्ने सोच थियो । तर, यहाँ कम्प्युटर साइन्स पढे ।’

कलेजको सेकेन्ड इयरमै उनले पहिलो नेपाली टेक्स्ट टु स्पिच इन्थुसाइजर बनाएका थिए, जसले नेपालीमा टाइप गरेको कुरा मेसिनले बोल्न सक्थ्यो । यो कुरा सन् २००० तिरको हो ।  

null

तत्कालीन राजकीय विज्ञान तथा प्रविधि प्रतिष्ठान (हाल नास्ट) मा पनि समेत नेपाली टेक्स्ट टु स्पिच ट्रान्सलेसन प्रविधिको प्रेजेन्टेसन दिएका थिए । त्यो बेला नेपालमा अधिकांशलाई एआई बारे थाहा नै थिएन । 

जब उनले टेक्स्ट टु स्पिच ट्रान्सलेसन प्रविधिको विकास गरेपछि ल्याङ्ग्वेज प्रोसेसिङ र मेसिन लर्निङमा झनै रूचि बढ्दै गयो । त्यसपछि यसैमा रिसर्च गरेर कोलम्बिया युनिभर्सिटीमा स्पिच समराइजेसनमा पिएचडी गरे । 

पिएचडीको अवधिमा विभिन्न प्रोजेक्टमा काम गर्दा संसारको सबैभन्दा बेस्ट स्पिच टु स्पिच टान्स्लेसनको टिम आइबिएममा थियो । सौभाग्यवश उनले आइबिएमको त्यही ग्रुपमा जागिर पाएका थिए । आईबीएममा रहँदा उनले अरबी, चिनियाँ, जर्मनी लगायत धेरै भाषालाई अंग्रेजीमा रूपान्तरण गर्ने प्रविधिमा अनुसन्धान गरेका थिए । 

सन् २०१३ मा फ्युजमेसिन्स स्थापना गर्नु अघि, डा. मास्के आईबीएम वाट्सन रिसर्च सेन्टरमा काम गरिरहेका थिए । मास्के एकेडेमिक कार्यमा समेत संलग्न छन् । कम्प्युटर साइन्सअन्तर्गत स्पिच प्रोसेसिङमा कोलम्बिया विश्वविद्यालयबाट पिएचडी गरेका उनी सोही युनिभर्सिटीमा प्राध्यापन गर्दै आएका छन् । 

डा. मास्केका मेसिन लर्निङ र स्पिच प्रोसेसिङसम्बन्धी २० भन्दा बढी पेपर अन्तर्राष्ट्रिय कन्फ्रेन्स र जर्नलमा प्रकाशित भइसकेका छन् भने उनको नाममा पेटेन्ट पनि दर्ता छन् । उनले सन् २०१९ मा नेपाली डायस्पोरा आइसिटी अवार्ड प्राप्त गर्न सफल भएका थिए । 

फ्युजमसिन्सको नासड्याक सूचीकरण केवल कम्पनीको उपलब्धि होइन, यो नेपालीले देखेका सपनाहरू विश्वमञ्चमा साकार हुने प्रमाण हो । डा. समीर मास्के र उनको टोलीले सुरु गरेको यात्रा प्रेरणादायी छ, जसले नेपाली प्रतिभा र नवप्रवर्तनलाई विश्व मञ्चमा प्रस्तुत गरेको छ ।