कीवर्डहरू -

नेपालीले बनाएको ग्लोबल प्रडक्ट ‘न्युरल’, युनिकर्न बन्ने लक्ष्य

एक हप्तामै साढे ७ मिलियन डलर फण्डिङ

नेपालीले बनाएको ग्लोबल प्रडक्ट ‘न्युरल’, युनिकर्न बन्ने लक्ष्य
संस्थापक तथा अध्यक्ष, नवीन बाँस्कोटा

नेपालीहरू विश्वका प्राय हरेक देशमा पुगेका छन् । कोही व्यवसायमा जमेका छन् त कोही ठूला ठूला कम्पनीमा काम गर्छन् । 

जन्मभूमि छोडेर विदेशलाई कर्मभूमि बनाएपनि नेपाल र नेपालीप्रति पनि उनीहरूको उत्तिकै माया छ । अधिकांशले नेपाल र नेपालीलाई चिनाउन अनवरत काम गरिरहेका छन् ।  

त्यसै मध्येका एक हुन, काठमाडौंका नवीन बाँस्कोटा । सन् २००२ तिर पढ्नका लागि अमेरिका गएका नवीन अहिले ग्लोबल एचआर टेक प्लेटफर्म ‘न्युरल’ कम्पनी हाँकिरहेका छन् । न्युरलबाट नेपाल र नेपाली ट्यालेन्टको पहिचान विश्वभर दिने दौडमा छन्, उनी । 

सन् २०२२ मा नवीन बास्कोटा र नामी बराल (श्रीमान, श्रीमती) ले न्युरल स्टार्टअप सुरू गरेका थिए । न्युरल सुरू गर्नुभन्दा अगाडि उनीहरूको सफल ‘करियर’ थियो । सन् २०२१ मा मात्रै उनीहरूले एआईबाट अमेरिकी नागरिकलाई ऋणमुक्त सहयोग गर्ने एआईमा आधारित प्लेटफर्म हार्भेष्ट बिक्री गरेका थिए । त्यही काम गरेको भएपनि उनीहरूले राम्रो सेवा सुविधा पाउने थिए । 
तर नेपालीले सुरू गरेको विश्वको ठूलो कम्पनी बनाउने महत्त्वकांक्षी लक्ष्यले उनीहरू त्यहाँ बस्न सकेनन र न्युरलको यात्रा सुरू भयो । 

नेपाली ट्यालेन्ट प्रयोग गरेर विश्वकै एउटा ठूलो जेनेरेसनल कम्पनी बनाउने उद्देश्यसहित न्युरल सुरू भएको कम्पनीका सहसंस्थापक तथा अध्यक्ष नवीन बास्कोटाले बताए । ‘नामी र मैले सन् २०२१ मा हार्भेस्ट बेच्यौ । त्यही काम गरेको भएपनि हामीलाई राम्रो सेवा सुविधा आउथ्यो,’ नवीनले आईसीटी समाचारसँग भने, ‘तर नेपालकै ट्यालेन्ट प्रयोग गरेर एउटा जेनेरेसनल कम्पनी बनाउने सोच आयो । नेपालीहरूले पनि गर्न सक्छन् । लेट्स ड्रिम बिग भनेर न्युरल सुरू भएको हो ।’ 

नवीन र नामीको महत्त्कांक्षी योजनामा कोरोना महामारी सारथी बनेर आयो । कारोना महामारीपछि रिमोट्ली काम गर्ने संस्कृति तीव्र रूपमा बढ्न थालेको थियो । रिमोट्ली काम गर्न खोज्दा कम्पनीहरूले जनशक्ति हायर गर्नेदेखि तलब सुविधा उपलब्ध गराउने एउटै प्लेटफर्मको खाँचो महशुस गरिरहेका थिए । त्यति नै बेला नयाँ स्टार्टअप गर्न खोजिरहेका उनीहरू यो समस्या समाधान गर्ने निष्कर्षमा पुगे र सुरू भयो नेपालीको एउटा ग्लोबल प्रडक्ट बनाउने सपना । 

null

न्युरलबाट विश्वकै जुनसुकै देशको कर्मचारी भर्ना तथा सेवा सुविधा भुक्तानी गर्न, कन्ट्रयाक्टर, भेन्डर भर्ना तथा भुक्तानी लगायतका एचआर (मानव संशाधन) सम्बन्धि सबै काम गर्न सकिन्छ । 
अमेरिका, बेलायत, क्यानडा, यूरोपतिर पेरोल, एचआर लगायतका कामलाई धेरै सफ्टवेयर प्रयोग गर्नुपर्ने हुन्छ । त्यसमाथि कुनै स्थानीयका लागि हुन्छन् भने कुनै अन्तर्राष्ट्रियका लागि हुन्छन् । तर न्युरल एउटा यस्तो प्लेटफर्म, जसबाट एचआर, पेरोल लगायतका काम एकै ठाउँबाट गर्न सकिन्छ । 

न्युरल प्रयोग गरेपछि एचआर तथा पेरोल व्यवस्थापनका लागि फरक फरक सफ्टवेयर प्रयोग गर्नुपर्ने बाध्यता हटाउने उनको भनाइ छ । यसले अन्य सफ्टवेयर किन्नु पर्ने बाध्यतालाई हटाउनुका साथै कम्पनीहरूको लागत समेत घटाउने छ । 

नयुरलले क्रसबोर्डर भुक्तानीलाई सजिलो, छिटो र भरपर्दो बनाउने बताइएको छ । भुक्तानीका लागि न्युरलले आफ्नै पूर्वाधार समेत बनाएको छ । 

प्राथमिकतामा नेपाल 

न्युरलले नेपाललाई प्राथमिकता राखेर काम गरिरहेको छ । न्युरलले हात हालेको क्षेत्रमा अवसर र चुनौती उत्तिकै छ । किनभने न्युरलले जस्तै गर्ने काम विश्वका अन्य २ कम्पनीहरूले मात्रै गरिरहेका छन्, ती हुन् रिप्लिङ र डिल । रिप्लिङ ८-९ वर्ष अगाडि सुरू भएको हो भने डिल सन् २०१९ मा सुरू भएको हो । 

अहिलेसम्म पनि यो लिष्ट ‘डिसरप्टिभ’ उद्योग भएको र चुनौती लिन आफुहरू तयार भएको नवीन बताउँछन् । ‘क्रस बोर्डर, पेमेन्ट र पेरोल बनाउन धेरै गार्‍हो छ । यसका लागि ठूला ठूला बैंकदेखि विभिन्न वित्तीय संस्थासँग काम गर्नुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘वित्तीय संस्थाहरूलाई एकीकृत गर्न समय लाग्छ । अर्को सबैभन्दा ठूलो कुरा विश्वास जित्नु पर्छ । उत्तिकै लगानी पनि हुनुपर्छ ।’ 

नवीन र नामीले सुरू गरेको केही महिना पछि नै न्युरलमा २ जना प्रविधि पृष्ठभूमिका अमेरिकामा बस्ने नेपाली युवालाई समेत सहसंस्थापकको रूपमा भित्र्याइएको थियो । 

उनीहरूको सोच सुरूमा अमेरिकामै बसेर रिमोट्ली प्रडक्ट बनाउन थियो । तर पछि नेपालमा पनि कम्पनी स्थापना गरेर काम सुरू गरिएको हो । न्युरलसँग अन्य देशमा कम्पनी स्थापनाका लागि विकल्पका रूपमा नेपाल भन्दा राम्रो स्टार्टअपमैत्री वातावरणका भएका देशहरू पनि थिए । 

तर नेपाल र नेपालीप्रतिको मायाले नेपाल बाहेक अन्य देश जानै मन लागेन । आफुरहरू पनि नेपालमै जन्मिएको र नेपाली जनशक्ति प्रयोग गरेर ग्लोबल प्रडक्ट बनाउनु पर्छ भन्ने लागेपछि नेपाल आएको उनले बताए । 

हामीले मेक्सिकोमा गएर सेटअप गरेको भएपनि हुन्थ्यो । नेपालभन्दा भन्दा झन सजिलो हुन्थ्यो होला,’ नवीन भन्छन्, ‘तर हामीले पहिलो प्राथमिकता नेपाललाई दियौं । किनभने हामी नेपाली हौं । आमाबुबा यही हुनुहुन्छ । जन्मभूमिको लागि पनि केही गर्नुपर्छ भन्ने लाग्यो ।’ 

null

न्युरल बनाउन करिब डेढ वर्षको समय लागेको थियो । कम्पनीले भिसा, जेपी मोर्गन लगायतका विश्वप्रतिष्ठित संस्थासँग समेत सहकार्य गरेको छ । 

सिस्टम बनिसकेपछि सन् २०२३ को पहिलो त्रैमासबाट न्युरल बजारमा गएको थियो । अहिले अमेरिका, युरोप, क्यानडा लगायतका करिब ३०० कर्पोरेटहरूले न्युरल प्रयोग गरिरहेका छन् । यो संख्या प्रत्येक हप्ता बढिरहेको छ । 

न्युरल १५० बढी देशमा ९० बढी मुद्रामा उपलब्ध रहेको छ । न्युरलले प्रदान गर्ने एचआर, पेरोल, कन्ट्रयाक्टर व्यवस्थापन, पीईओ, ग्लोबल ईओआर लगायतका सुविधा आफ्नो आवश्यकता अनुसार उपयोग गर्न सकिन्छ । सेवाको उपयोग अनुसार शुल्क तोकिएको छ । 

न्युरलले प्रडक्टमा एआईको समेत प्रयोग गरेको छ । सफ्टवेयरको प्रयोग बढ्दै गएपछि प्राप्त डेटालाई प्रयोग गरेर एआईलाई अझै सशक्त रूपमा अगाडि बढाउने तयारी कम्पनीको छ ।

एआई अहिलेको जस्तो लोकप्रिय नहुँदा नै होर्भेस्टमा नवीनको टिमले लार्ज ल्याङ्वेज मोडल (एलएलएम) बनाएको थियो । एआईले मानिसलाई रिप्लेस नगर्ने तर एआईको प्रयोग गरेर १० जनाले गर्ने काम १ जनाले गर्न सक्ने नवीनको तर्क छ ।

न्युरलले एआईसम्बन्धि ह्वाइट पेपर समेत बनाएको छ, जुन सार्वजनिक रूपमा उपलब्ध रहेको छ । अहिले न्युरलमा ४२ जनाले रोजगारी पाएका छन् । त्यसमध्ये २५ जना नेपालको अफिसमा कार्यरत छन् । प्रडक्ट बनाउने सबै जनशक्ति नेपालकै छ । यस बाहेक सेल्स र सपोर्टमा पनि केही टिम छ । नेपालको टिमलाई बढाएर दोब्बर बनाउने तयारी कम्पनीको छ । 

नेपाली जनशक्ति विश्वस्तरीय भएको उनी बताउँछन् । भन्छन्, ‘नेपालमा राम्रो इन्जिनियरिङ ट्यालेन्ट छ । तर एक्सपोजरको कमी छ । युवा पुस्तासँग सिक्ने हुटहुटी छ ।’ नेपाली जनशक्तिलाई विश्वस्तरीय प्रडक्ट विकास गर्ने एक्सपोजर दिएको छ, न्युरलले ।

सुरूमा नेपालमा कम्पनी स्थापना गर्दा संस्थापकहरू आफै ४ महिना नेपाल बसेर अमेरिकाको वित्तीय इकोसिस्टम बारे सिकाएका थिए । सिकाइसकेपछि प्रडक्ट विकासले समेत एकदमै गती लिएको उनीहरूको अनुभव छ । 

न्युरलले नेपालमा रोजगारी मात्रै होइन एउटा विश्वस्तरीय प्रडक्ट कसरी बन्छ ? कसरी बनाउन सकिन्छ ? भन्ने पनि सिकाएको छ । 

एक हप्तामै साढे ७ मिलियन फण्डिङ 

स्टार्टअप आफैमा चुनौतीपूर्ण काम हो । स्टार्टअपमा पार्ट टाइम भन्ने हुँदैन् । रातदिन काम गर्नुपर्छ । कसैलाई लाग्ला, उनीहरूले त पहिले नै एउटा सफल स्टार्टअप बिक्री गरेर अर्को सुरू गरे, खासै गार्‍हो भएन होला । यो कुरामा नवीन असहमति जनाउँछन् । सफल बनाएर कम्पनी बेचेपनि स्टार्टअप यात्रा चुनौतीपूर्ण नै हुने नवीनको भोगाइ छ । 

उनी अगाडि थप्छन्, ‘हामीले कम्पनी बनाएर बेचेपनि स्टार्टअप यात्रा चुनौतीपूर्ण नै हुन्छ । केही कुरा सहज होला । न्युरलका लागि सुरूमा फण्डिङका लागि सहज भयो । तर प्रडक्ट बनाउनेदेखि बजारमा जाने सबै प्रक्रिया एउटै हुन्छ ।’

एउटा स्टार्टअपलाई सफल बनाएर बिक्री गरेपछि न्युरललाई सफल बनाउनु पर्ने प्रसेर भएको उनी बताउँछन् । प्रडक्टमाथि काम सुरू नहुँदै न्युरलले प्रतिष्ठित भेञ्चर क्यापिटलबाट एक हप्तामै ७.५ मिलियन अमेरिकी डलर ‘सीड फण्डिङ’ उठाएको थियो ।

विशेष गरी भेञ्चर क्यापिटलहरूले आईडिया माथि लगानी गर्ने भन्दा पनि संस्थापकमाथि लगानी गर्छन् । लगानी गर्दै गर्दा संस्थापकले आईडियालाई मुर्तरूप दिन सक्छ नि सक्दैन् भनेर हेर्छन् । त्यसकारण एउटा स्टार्टअप सफल बनाएर बेचिसकेका नवीन र नामीका लागि सीड फन्डिङ उठाउन केही सहज भएको थियो । 

एउटा पावरपोइन्टको भवरमा एक हप्तामै भेञ्चर क्यापिटलले साढे सात मिलियन डलर लगानी गर्न तयार भएका थिए । इनस्पायर क्यापिटल, एम १३ लगायतका प्रतिष्ठित भेञ्चर क्यापिटलले यसमा लगानी गरेका छन् ।  

लक्ष्य युनिकर्न बन्ने

कुनै पनि कम्पनीको एउटा भिजन हुन्छ । त्यो भिजनले कम्पनी कहाँ जाने, कसरी जाने भन्ने कुरा गाइड गर्छ । न्युरललाई पनि नेपालीले सुरू गरेको विश्वकै एउटा ठूलो कम्पनीको रूपमा स्थापित गर्ने योजना नवीनको छ । ‘हामीले न्युरललाई खर्बौं डलरको कम्पनी बनाउने भनेर किन नसोच्ने ? सोच्न त पाइयो नि । सोच्दै काम गर्दै जाँदा त हुने रहेछ । अहिले धेरै कम्पनी खर्बौंको भएका छन्,’ उनी उत्साहित हुँदै भन्छन् । 

null

ग्लोबल पेरोल एण्ड एचआरमा लिडर बन्ने लक्ष्यसहित न्यूरल अगाडि बढिरहेको छ । न्युरललाई अबको ५-७ वर्षमा युनिकर्न बनाउने र अमेरिकी पुँजीबजारमा आईपीओ जारी गरेर ठूलो बजार पुँजीकरण भएको कम्पनी बनाउने योजना उनीहरूको छ । 

अबको १० वर्षमा एचआर एण्ड पेरोल सफ्टवेयरको नाम लिँदा शीर्ष स्थानमै न्युरलको नाम आउने गरी काम गर्ने उनको दावी छ । नेपालीले सुरू गरेका ४-५ वटा कम्पनीले सफलता हासिल गरेपछि ग्लोबल भीसीको इकोसिस्टम नेपालतिर आउन मद्दत गर्ने नवीनको भनाइ छ ।  

यता नेपाल सरकारले समेत पछिल्लो समय सूचना प्रविधि (आईटी) लाई प्राथमिकतामा राखेको छ । आगामी दशकलाई सूचना प्रविधि दशक घोषणादेखि नेपाललाई टेक हबको रूपमा विकास योजना समेटिएका छन् ।  

हाल सरकारले अगाडि बढाएका आईटीका कार्यक्रमहरू राम्रा भएको नवीन बताउँछन् । ‘अहिले सरकारले ल्याएका कार्यक्रम राम्रो छन् । तर यी कार्यक्रमहरू सरकार पिच्छे फेरिनु हुँदैन् । स्थिर हुनुपर्छ,’ उनी सुझाव दिदै भन्छन्, ‘सरकारले नीति बनाउने र निजी क्षेत्रले ड्राइभ गर्‍यो भने आईटी क्षेत्र दिगो हुन्छ ।’ 

सानो देश भएपनि प्रविधिको क्षेत्रमा इजरायलले धेरै फड्को मारेको छ । अमेरिकामा आईपीओमा जाने ४-५ वटा कम्पनी मध्ये एउटा कम्पनी इजरायलीको हुन्छ । नेपालले पनि त्यसरी नै फड्को मार्न सक्छ । तर प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता छ । 

सरकारले कम्पनी दर्ताहरूको सबै प्रक्रियालाई छिटो, छिरितो र अनलाइन बनाउनु पर्ने तथा नेपाली आईटी कम्पनीलाई विदेशमा शाखा खोल्न दिनुपर्ने उनको भनाइ छ । नवीनका अनुसार स्टार्टअपको विकासका लागि सरकारले ऋण भन्दा पनि इक्विटीको आधारमा पैसा दिनुपर्छ, स्टार्टअप आफैमा जोखिम हो ।