काठमाडौं । अनावश्यक न्यूजलेटर, अफर र प्रचारात्मक इमेलका कारण जिमेलको इनबक्स भरिने समस्या अब सहजै समाधान गर्न सकिने भएको छ । गुगलले जिमेलमा 'Bulk Unsubscribe' अर्थात् 'Manage Subscriptions' नामक नयाँ सुविधा उपलब्ध गराएको छ, जसको मद्दतले प्रयोगकर्ताले एकै पटक धेरै अनावश्यक इमेल सदस्यता रद्द (Unsubscribe) गर्न सक्छन् । यसअघि प्रयोगकर्ताले प्रत्येक न्यूजलेटरमा गएर छुट्टाछुट्टै सदस्यता रद्द गर्नुपर्ने झन्झट थियो, तर अब केही क्लिकमै धेरै सेन्डरबाट आउने इमेल रोक्न सकिन्छ ।
यो सुविधा जिमेलको मोबाइल एप र वेब संस्करण दुवैमा उपलब्ध छ । प्रयोगकर्ताले जिमेल एप खोलेर माथिल्लो बायाँ कुनामा रहेको तीन लाइन (☰) मेनु मा ट्याप गरेपछि, यदि यो सुविधा उपलब्ध छ भने Trash सेक्सनको तल Manage Subscriptions विकल्प देखिन्छ । उक्त विकल्पमा प्रवेश गरेपछि हाल सदस्यता लिएका विभिन्न सेन्डरहरूको सूची देखिन्छ, जुन पछिल्ला केही सातामा सबैभन्दा धेरै इमेल पठाउने आधारमा क्रमबद्ध गरिएको हुन्छ ।
कुनै सेन्डरबाट इमेल आउन रोक्न त्यसको नाममा ट्याप गरी Unsubscribe आइकनमा क्लिक गर्नुपर्छ । त्यसपछि जिमेलले पुष्टि माग्छ र प्रयोगकर्ताले सहमति जनाएपछि सम्बन्धित सेन्डरलाई सदस्यता रद्द गर्ने अनुरोध पठाउँछ । यो प्रक्रिया लागू हुन केही दिन लाग्न सक्छ । त्यसपछि पनि सोही सेन्डरबाट इमेल आएमा ती इमेल Spam फोल्डरमा जान सक्छन् ।
गुगलको यो नयाँ सुविधाले अनावश्यक इमेलको संख्या घटाउनुका साथै जिमेल इनबक्सलाई सफा, व्यवस्थित र प्रयोग गर्न अझ सहज बनाउने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार