दुई पाङ्ग्रे विद्युतीय सवारी साधनहरूको लागि ब्याट्री-स्वापिङ प्रविधिमा विश्वव्यापी अग्रणी गोगोरोले काठमाडौँ उपत्यकाभरि पूर्ण रूपमा सञ्चालित ४५ ब्याट्री स्वाप स्टेशनहरू स्थापना गरेको छ ।
नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले ४५ स्वाप स्टेसनहरू दीर्घकालीन सोचको पहिलो खुड्किलो मात्र भएको बताए । गोगोरोले आफ्नो प्रतिबद्धता अनुरुप स्मार्ट स्कुटरको बिक्री गर्नु अघि नै बलियो नेटवर्क पूर्वाधार निर्माण गरेको हो । सहरी यातायातलाई दिगो र प्रभावकारी समाधान दिने गोगोरोको लक्ष्यमा यो एउटा महत्वपूर्ण उपलब्धि भएको कम्पनीको भनाइ छ ।
गोगोरोका चार्जिङ स्टेशन प्रत्येक २ देखि ३ किलोमिटरको दूरीमा राखिएको छ । केवल ६ सेकेन्ड समय लाग्ने स्वापका कारण नेपाली ईभी प्रयोगकर्ताहरूले निर्बाध यात्राको आनन्द लिन सक्ने बताइएको छ ।
स्वाप स्टेशन चौबिसै घण्टा सञ्चालनमा रहने छ भने पहिलो पटक प्रयोग गर्नेहरूका लागि पनि सहज र सरल ब्याट्रीस्वाप प्रणाली रहेको छ । यस्तै रियल टाइम ब्याट्री स्वास्थ्य निगरानी सुविधा समेत छ ।
स्वाप स्टेशनहरूमा गोगोरो ब्याट्रीद्वारा संचालित इनब्युल्ट युपीएस प्रणाली उपलब्ध छ, जसले ग्राहकहरूलाई बिजुली अवरोधको अवस्थामा समेत ७ दिनसम्म सञ्चालन सुनिश्चितता गर्दछ । स्वापस्टेसनहरू एआई प्रणालीद्वारा सञ्चालित रहेका छन् ।
गोगोरोको ब्याट्री-स्वापिङ प्रविधिले ईभीका लागि सबैभन्दा ठूलो अवरोधहरू मध्ये एक रेन्जको चिन्तालाई (चार्ज सकिने चिन्ता) प्रत्यक्ष रूपमा सम्बोधन गर्ने कम्पनीको दावी छ । राइडरहरूले ब्याट्री सकिने वा चार्जिङको लागि धेरै समय पर्खनेबारेमा कहिल्यै चिन्ता गर्नुपर्ने छैन् ।
हाल गोगोरोका स्टेसनहरू पेट्रोलपम्प, सुपरमार्केट तथा अन्य रणनीतिक स्थानहरूमा राखिएका छन् । काठमाडौंमा दैनिक १०० भन्दा बढीस्वाप भइरहेको छन् र यो बढ्दो क्रममा छ ।