कीवर्डहरू -

गुगल फोटोजमा अब एआई ‘भिडियो रिमिक्स’ सुविधा

गुगल फोटोजमा अब एआई ‘भिडियो रिमिक्स’ सुविधा

काठमाडौं । गुगलले आफ्नो फोटो तथा भिडियो व्यवस्थापन एप गुगल फोटोजमा नयाँ ‘भिडियो रिमिक्स’ फिचर ल्याएको छ । जेमिनी ओम्नी (Gemini Omni) एआई प्रविधिमा आधारित यो सुविधाले प्रयोगकर्तालाई केही सेकेन्डमै भिडियोलाई नयाँ शैलीमा रूपान्तरण र सम्पादन गर्न सहयोग गर्नेछ ।

गुगलले आफ्ना विभिन्न सेवामा कृत्रिम बुद्धिमत्ता (एआई) आधारित टुल थप्ने क्रमलाई निरन्तरता दिँदै यो सुविधा सार्वजनिक गरेको हो । भिडियो सम्पादनको सुविधा गुगल फोटोजमै उपलब्ध भएपछि प्रयोगकर्ताले अब अन्य सफ्टवेयरको आवश्यकता बिना नै सहज रूपमा भिडियो सम्पादन गर्न सक्नेछन् ।

‘भिडियो रिमिक्स’ टुल गुगल फोटोजको Create ट्याबमा उपलब्ध हुनेछ । यसमार्फत भिडियोलाई उज्यालो बनाउने, पृष्ठभूमि (ब्याकग्राउन्ड) परिवर्तन गर्ने तथा वाटरकलर वा आयल पेन्टिङजस्ता कलात्मक प्रभाव (इफेक्ट) थप्न सकिन्छ । केही ट्यापमै साधारण भिडियोलाई आकर्षक र सिर्जनात्मक भिडियोमा रूपान्तरण गर्न सकिने गुगलले जनाएको छ ।

हाल यो फिचर अमेरिका, भारत र बंगलादेश लगायतका देशमा Google AI Plus, Google AI Pro र Google AI Ultra सदस्यताधारी प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ ।

यसअघि पनि गुगलले गुगल फोटोजमा अनुहारका दाग हटाउने, दाँत चम्काउनेजस्ता टच–अप टुलहरू थपेको थियो । साथै, प्रयोगकर्ताले आफ्ना लुगाका तस्बिर अपलोड गरेर आफूलाई भर्चुअल रूपमा ती पोसाक कस्तो देखिन्छ भन्ने हेर्न सक्ने भर्चुअल ट्राइ–अन (Virtual Try-On) सुविधा पनि सार्वजनिक गरेको छ ।

गुगलका अनुसार यी नयाँ एआई सुविधाले फोटो तथा भिडियो सम्पादनलाई अझ सहज, छिटो र सिर्जनात्मक बनाउने अपेक्षा गरिएको छ ।