कीवर्डहरू -

गुगलको नयाँ सुरक्षा फिचर: तीन दिनसम्म प्रयोग नभएमा एन्ड्रोइड फोन आफैं रिस्टार्ट हुने

गुगलको नयाँ सुरक्षा फिचर: तीन दिनसम्म प्रयोग नभएमा एन्ड्रोइड फोन आफैं रिस्टार्ट हुने

यदि तपाईंको फोन कुनै दिन अचानक आफैं रिस्टार्ट हुन्छ भने नआत्तिनुहोस् । हामी यस्तो किन भन्दैछौं भने, गुगलले एन्ड्रोइड प्रयोगकर्ताहरूको सुरक्षा अझ मजबुत बनाउनका लागि नयाँ सेक्योरिटी फिचर ल्याएको छ ।

यो नयाँ फिचर अनुसार यदि तपाईंको एन्ड्रोइड फोन लगातार तीन दिनसम्म लक भएर प्रयोग नगरिएको अवस्थामा रहन्छ भने, फोन आफैं रिस्टार्ट हुनेछ । यो परिवर्तन गुगल प्ले सर्भिसेसको नयाँ संस्करण पच्चीस दशमलव चौध (२५.१४) मार्फत लागू हुँदैछ ।

यो सुविधाको मुख्य उद्देश्य फोन हराएको वा चोरी भएको अवस्थामा डाटा सुरक्षा बढाउनु हो । फोन स्वतः रिस्टार्ट भएलगत्तै यो 'बिफोर फस्र्ट अनलक' (बीएफयू) अवस्थामा जान्छ । यो अवस्थामा फोनको सबै डाटा इन्क्रिप्टेड रहन्छ र जबसम्म प्रयोगकर्ताले पासकोड, पाटर्न वा पासवर्ड हालेर फोन अनलक गर्दैन, तबसम्म फिङ्गरप्रिन्ट वा फेस अनलक जस्ता बायोमेट्रिक फिचरहरू पनि काम गर्दैनन् ।

गुगलको भनाइ अनुसार यदि कुनै डिभाइस धेरै दिनसम्म लक र प्रयोग नगरिएको अवस्थामा हुन्छ भने सम्भवतः त्यो हराएको वा चोरी भएको हुनसक्छ । यस्तो अवस्थामा फोनलाई अटोमेटिक रूपमा रिस्टार्ट गरी बलियो लक अवस्थामा पठाउनु, डाटालाई अनावश्यक पहुँचबाट जोगाउने उपाय हो ।

यो सुविधा एप्पलको आईओएस अठार दशमलव एक (१८.१) मा आएको 'इनएक्टिभिटी रिबुट' सुविधासँग मिल्दोजुल्दो छ । यस्तै ग्राफिन ओएस जस्ता प्राइभेसी केन्द्रित प्लेटफर्महरूमा पनि पहिले देखि यस्ता प्रविधि उपलब्ध छन् ।

ध्यान दिनु पर्ने कुरा के हो भने, यो सुविधा गुगल प्ले सर्भिसेसमार्फत सार्वजनिक गरिएको छ । यसले गर्दा एन्ड्रोइड अपरेटिङ सिस्टम को ठूला अपडेट कुर्नु नपरेर धेरै प्रयोगकर्तासम्म छिटै पुग्न सक्नेछ । यो सुविधा एन्ड्रोइड फोन र ट्याब्लेटहरूमा लागू हुनेछ, तर वेयर ओएस (एन्ड्रोइड स्मार्टवाच) मा भने यो लागू हुने छैन् ।