गुगलका सीईओ सुन्दर पिचाईले २०२५ सम्म गुगल सर्चमा थुप्रै नयाँ फिचरहरू समावेश गरिने संकेत गरेका छन्, जसले प्रयोगकर्ताको अनुभव मात्र सुधार्ने छैन, सर्च इञ्जिनको क्षमतामा पनि वृद्धि गर्नेछ ।
न्यूयोर्क टाइम्स डिलबुक समिटमा बोल्दै पिचाईले भने, “अर्को वर्षसम्म गुगल सर्च यस्ता फिचरहरूले सुसज्जित हुनेछ, जसले प्रयोगकर्तालाई चकित पार्नेछ ।" उनले भने, “आगामी समयमा सर्च इञ्जिन जटिलभन्दा जटिल प्रश्नहरूको उत्तर दिन तयार हुँदैछ । कुनै पनि गाह्रो प्रश्नको उत्तर पाउन प्रयोगकर्तालाई धेरै मेहनत गर्नुपर्नेछैन् ।"
समिटमा पिचाईले भने, “गुगल सर्च छिट्टै नयाँ फिचरहरूका साथ उपलब्ध हुनेछ ।" उनले थपे, “मलाई लाग्छ, हामी गाह्रो प्रश्नहरूको समाधान गर्न सक्षम हुँदैछौं ।" पिचाईले यस परिवर्तनमा एआईले महत्त्वपूर्ण भूमिका खेल्ने विषयमा पनि जोड दिए । उनका अनुसार, २०२५ को सुरुवाती महिनाहरूमा नै प्रयोगकर्ताले गुगलका नयाँ सर्च फिचरहरू प्रयोग गर्न पाउनेछन् ।
यी परिवर्तनहरू कम्पनीको सर्च प्लेटफर्मका लागि भइरहेको 'एआई ओभरहाल’को भाग हुन् । गुगलले यसअघि नै एआई–जनरेटेड समरी फिचर प्रस्तुत गरिसकेको छ, जसले कुनै पनि प्रश्नको उत्तर संक्षेपमा दिन्छ । साथै, गुगल लेन्सले अब भिडियो बेस्ड सामग्री खोज्न अनुमति दिन्छ ।
पिचाईले एआई क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका विषयमा पनि कुरा गरे । केही दिनअघि माइक्रोसफ्टका सीईओ सत्य नडेलाले गुगलले एआईको दौडमा 'डिफल्ट विजेता’ हुनुपर्ने बताएका थिए । त्यसको जवाफमा पिचाईले गुगलको एआई मोडललाई माइक्रोसफ्टको मोडलसँग साइड–बाइ–साइड तुलना गर्न प्रस्ताव राखे, जुन ओपनएआईको टेक्नोलोजीमा आधारित छ ।
पिचाईले भने, “हामी धेरै परिवर्तनको तयारी गरिरहेका छौं । आगामी दिनमा थुप्रै नयाँ इनोभेसनहरू हुनेछन् ।" उनले थपे, “गुगलले आफ्नो जेमिनाई एआई मोडलको अपडेटेड भर्सन प्रस्तुत गर्ने योजना बनाएको छ, जुन अहिलेको तुलनामा निकै एडभान्स हुनेछ ।"