गूगलले आफ्नो सर्च प्लेटफर्मका लागि नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोड आन्तरिक रूपमा परीक्षण गर्न थालेको छ । यो फिचर पहिलो पटक डिसेम्बर २०२४ मा लिक भएको देखिएको थियो । एआई मोडले प्रयोगकर्तालाई फुल–स्क्रिन इन्टरफेस प्रदान गर्नेछ, जहाँ उनीहरूले जटिल तथा तर्कसहितका प्रश्न सोध्न सक्नेछन् ।
यो मोड संवादात्मक शैलीमा जवाफ दिनेछ र सम्बन्धित विषयसँग सम्बद्ध यूआरएलहरू पनि देखाउनेछ, जसले प्रयोगकर्तालाई थप गहन जानकारी लिन सहयोग गर्नेछ । रिपोर्टअनुसार, यो फिचर हाल गूगल सर्चमा देखिने एआई ओभरभ्यूज भन्दा फरक हुनेछ ।
९टू५गूगलको रिपोर्टअनुसार गूगलले हाल यो एआई मोडलाई आन्तरिक रूपमा परीक्षण गरिरहेको छ । कम्पनीले आफ्ना कर्मचारीहरूलाई यस फिचरको परीक्षण गर्न निमन्त्रणा दिएको छ । गूगलको आन्तरिक इमेलमा एआई मोडलाई यसरी परिभाषित गरिएको छः
“सर्चले तपाईँको लागि बुद्धिमानीपूर्वक अनुसन्धान गर्छ, जानकारीलाई सजिलो टुक्रामा व्यवस्थापन गर्छ र वेबका विभिन्न स्रोतहरूको लिंक प्रदान गर्छ ।"
गूगलले इमेलमा उल्लेख गरेको छ कि यो एआई मोड जेमिनाई २.० को कस्टम भर्सनद्वारा संचालित हुनेछ, जसमा उन्नत तर्क र सोच्ने क्षमताहरू हुनेछ । साथमा, यो नयाँ यूआईको सुरुवाती झलकसमेत देखाइएको छ । यद्यपि, यो अन्तिम यूआई होइन र यसमा परिवर्तन हुनसक्छ ।
यो मोड अन्य सर्च फिल्टरहरू (ईमेज, भिडियो, न्युुज) सँग देखिनेछ । यसमा ट्याप गर्दा फुल–स्क्रिन इन्टरफेस खुल्नेछ, जहाँ जेमिनाई एआई च्याटबोटको रूपमा जवाफ दिनेछ ।
जवाफसँगै स्रोतहरू एक्सप्लोर गर्नका लागि यूआरएलहरू देखाइनेछ । पछिका प्रश्नहरू सोध्नका लागि एउटा टेक्स्ट फील्ड उपलब्ध हुनेछ ।
मोबाइल एप्समा माइक्रोफोन सपोर्ट हुनेछ, जसले प्रयोगकर्तालाई भ्वाइस कमाण्डमार्फत प्रश्न सोध्न सक्षम बनाउनेछ ।
फिडब्याक दिनका लागि “थम्ब्स अप" र “थम्बस डाउन" आइकनहरू उपलब्ध हुनेछन् ।