काठमाडौं । सरकारले आफ्ना डिजिटल सेवाहरूलाई सबै नागरिकका लागि सहज र पहुँचयोग्य बनाउने उद्देश्यले सरकारी वेबसाइटहरूमा विशेष ‘एक्सेसिबिलिटी’ सुविधा लागू गरेको छ ।
नयाँ व्यवस्थासँगै दृष्टिविहीन, न्यून दृष्टि भएका, रङ्ग छुट्याउन कठिनाइ हुने, पढ्न समस्या भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले सरकारी वेबसाइट प्रयोग गर्न थप सहज हुने भएको छ ।
सूचना प्रविधि विभागका अनुसार सरकारी वेबसाइटमा पहुँचमैत्री उपकरणहरू समावेश गरिएका छन्, जसले प्रयोगकर्तालाई आफ्नै आवश्यकता अनुसार वेबसाइटको स्वरूप परिवर्तन गर्न मद्दत गर्छ ।
वेबसाइटको तल्लो भागमा उपलब्ध विशेष आइकनमार्फत अक्षरको आकार परिवर्तन गर्ने, कन्ट्रास्ट बढाउने, रङ फिल्टर प्रयोग गर्ने तथा फन्ट चयन गर्ने सुविधा उपलब्ध छ ।
यसका साथै, अक्षर र हरफबीचको दूरी मिलाउने, माउस कर्सरको आकार परिवर्तन गर्ने, तस्बिर लुकाएर केवल पाठ पढ्ने तथा एनिमेसन वा चलायमान दृश्य रोक्ने विकल्प पनि राखिएको छ ।
यी सुविधाले विशेष आवश्यकता भएका प्रयोगकर्तालाई सामाग्री बुझ्न र प्रयोग गर्न सहज बनाउने अपेक्षा गरिएको छ । विभागले अन्तर्राष्ट्रिय ‘वेब कन्टेन्ट एक्सेसिबिलिटी गाइडलाइन’ अनुरूप वेबसाइटहरू विकास गरिएको जनाएको छ ।
नयाँ प्रणालीअन्तर्गत वेबसाइटहरू केवल किबोर्डको प्रयोगबाट सञ्चालन गर्न सकिनेछन्, जसले स्क्रिन रिडर प्रयोगकर्तालाई समेत सहज पहुँच प्रदान गर्नेछ ।
वेबसाइटमा राखिएका ‘स्किप नेभिगेसन’ लिंकहरूले प्रयोगकर्तालाई सिधै मुख्य सामाग्रीमा पुग्न सहयोग गर्छन् भने तस्बिर, लोगो तथा सेवासम्बन्धी जानकारीमा समावेश गरिएको ‘अल्ट टेक्स्ट’ले दृष्टिविहीन प्रयोगकर्तालाई सामाग्रीको अर्थ बुझ्न मद्दत पुर्याउँछ ।
त्यस्तै, अनलाइन फाराम भर्दा देखिने त्रुटि सन्देश र निर्देशनहरू पनि स्पष्ट तथा सहज रूपमा बुझ्न सकिने गरी तयार पारिएको विभागले जनाएको छ । खोज तथा सम्पर्क फाराममा स्पष्ट लेबल र संकेतहरू राखिएकाले स्क्रिन रिडर प्रयोगकर्ताको अनुभव थप सहज हुने विश्वास गरिएको छ ।
सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजनाअनुसार सरकारी डिजिटल सेवा सबै नागरिकको पहुँचमा पुर्याउने लक्ष्य राखिएको छ । सोही योजनाअन्तर्गत सरकारी वेबसाइट तथा एपहरूलाई थप प्रयोगकर्ता मैत्री र समावेशी बनाउने काम भइरहेको विभागले जनाएको छ ।
यसअघि विभागले विभिन्न मन्त्रालय तथा सरकारी निकायका कर्मचारीलाई अपाङ्गमैत्री वेबसाइट व्यवस्थापन र अद्यावधिकसम्बन्धी तालिम समेत प्रदान गरेको थियो ।
आईसीटी समाचार