कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) आयोजना गरेको ‘होरिअन बीटूबी समिट २०२४ इन एसोसिएसन विथ बार कोड नेपाल’ सुरू भएको छ । राजधानीको एभरेस्ट होटलमा सुरू भएको दोस्रो संस्करणको समिट सञ्चार तथा सूचना प्रविधि माननीय मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरेका हुन् ।
बीटूबी समिट २०२४ को मुख्य विषयवस्तु “आईसीटी विकासका लागि नेटवर्किङ र सहकार्य” (Geared towards Networking and Collaboration for ICT Development) रहेको छ ।
बीटूबी समिटमा व्यापारको भविष्य बारे किनोट स्पिच, डिजिटल रूपान्तरण, दिगोपन र इमर्जिङ मार्केटबारे छलफल, आर्टिफिसियल इन्टेलिजेन्सको साथै नेपालका लागी विभिन्न कम्पनीका आधिकारिक डिलर र रि सेलरहरु बिच आफ्नो व्यापार प्रवर्धनको अवसर हुनेछ ।
यसले आयातकर्ता र विक्रेता बिचको ग्याप लाई घटाउने काम गर्दछ । बिटुबी मार्फत देश भरिको डिलरहरु र व्यावसायीहरु लाई जोडिने काम हुन्छ । समिटमा व्यावसायीहरु, कर्पोरेट हाउस, प्रोफेसनलको अभुतपुर्व जमघट साथै नवीनतम प्रविधिको प्रदर्शनी हुने क्यान महासंघका अध्यक्ष रणजीत पोदारले जानकारी दिए ।
कार्यक्रममा आईसीटी, बैंकिङ, विकास फिनटेक लगायत क्षेत्रका १०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ । समिटले नेटवर्किङ, सहकार्य र आईसीटी उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्न महत्त्वपूर्ण मञ्च प्रदान गर्ने महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए ।
उनका अनुसार आईसीटीमा आधारित व्यावसायिक फर्महरू र उद्यमशीलतामा लागेका नयाँ व्यवसायीहरूका लागि आफ्ना उत्पादन र सेवाहरू प्रवर्द्धन गर्ने, साझेदारी र सहकार्य सिर्जना गर्ने र नयाँ क्षेत्रहरू र बजारहरूमा आफ्नो व्यवसाय विस्तार गर्ने उत्कृष्ट अवसरका रूपमा समिट आयोजना हुनेछ ।