कीवर्डहरू -

जीमेलमा मिति र समय सेट गरेर इमेल पठाउन सकिने, यस्तो छ तरिका

जीमेलमा मिति र समय सेट गरेर इमेल पठाउन सकिने, यस्तो छ तरिका

काठमाडौं । गुगलको लोकप्रिय इमेल सेवा जीमेलले प्रयोगकर्तालाई इमेल तुरुन्तै नभई आफूले रोजेको मिति र समयमा स्वचालित रूपमा पठाउने सुविधा उपलब्ध गराएको छ । ‘Schedule Send’ नामक यस सुविधामार्फत प्रयोगकर्ताले इमेल तयार गरी पूर्वनिर्धारित समय सेट गर्न सक्छन्, जसपछि उक्त इमेल तोकिएको समयमा स्वत: पठाइन्छ ।

बैठक, व्यावसायिक पत्राचार, जन्मदिनको शुभकामना तथा अन्य महत्वपूर्ण सन्देशहरू सही समयमा पठाउन यो सुविधा निकै उपयोगी मानिन्छ । यसले प्रयोगकर्तालाई समय व्यवस्थापनमा समेत सहयोग पुर्‍याउँछ ।

जीमेलमा इमेल कसरी सेड्युल गर्ने ?
- जीमेल खोलेर Compose बटनमा क्लिक गर्ने ।
- प्राप्तकर्ता (Recipient), विषय (Subject) र सन्देश लेख्ने ।
- Send बटनको छेउमा रहेको ड्रपडाउन आइकनमा क्लिक गर्ने ।
- Schedule Send विकल्प छनोट गर्ने ।
- जीमेलले सुझाव दिएका समयमध्ये कुनै एक वा आफूले चाहेको मिति र समय चयन गर्ने ।
- अन्त्यमा Schedule Send मा क्लिक गर्ने ।

यसपछि इमेल तोकिएको मिति र समयमा स्वत: पठाइन्छ ।

सेड्युल गरिएको इमेल कसरी हेर्ने वा रद्द गर्ने ?
सेड्युल गरिएका इमेलहरू जीमेलको बायाँपट्टि रहेको Scheduled फोल्डरमा गएर हेर्न सकिन्छ । यदि प्रयोगकर्ताले इमेलको समय परिवर्तन गर्न वा पठाउने प्रक्रिया रद्द गर्न चाहेमा सम्बन्धित इमेल खोलेर Cancel Send विकल्प प्रयोग गर्न सक्छन् ।

प्रविधि विज्ञहरूका अनुसार विभिन्न समय क्षेत्रमा रहेका ग्राहक, सहकर्मी वा साथीभाइलाई उपयुक्त समयमा इमेल पठाउन यो सुविधा अत्यन्त प्रभावकारी छ । विद्यार्थीहरूले असाइनमेन्ट, अनुसन्धान सामाग्री तथा औपचारिक पत्राचार समयमै पठाउन पनि यसको उपयोग गर्न सक्छन् ।

जीमेलको ‘Schedule Send’ सुविधाले इमेल व्यवस्थापनलाई थप सहज र व्यवस्थित बनाएको छ । सही समयमा सन्देश पठाउन चाहने प्रयोगकर्ताका लागि यो सुविधा समय बचत गर्ने प्रभावकारी माध्यमका रूपमा स्थापित हुँदै गएको छ ।