माउसको बीचको बटन वा वील (wheel) केवल स्क्रोल गर्ने काममा मात्र सीमित छैन। धेरै प्रयोगकर्ताले यसलाई साधारण फिचरका रूपमा लिने गरे पनि यो वास्तवमा डेस्कमा रहेका सबैभन्दा उपयोगी तर कम प्रयोग गरिने उपकरणमध्ये एक हो। यसका धेरै उपयोगी फिचरबारे अझै धेरैलाई पूर्ण जानकारी नभएकाले, यो सानो तर शक्तिशाली बटनले कार्यक्षमता बढाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। केही सरल तरिका सिकेपछि माउसको बीचको बटनले वेब ब्राउजिङ, मल्टिटास्किङ र नेभिगेसनलाई छिटो र सहज बनाउन मद्दत गर्छ।
ब्राउजर प्रयोगलाई छिटो र प्रभावकारी बनाउन माउसको बीचको बटनसँग सम्बन्धित केही उपयोगी सर्टकटहरू छन्। प्रयोगकर्ताले कुनै लिंकलाई बीचको बटनले क्लिक गर्दा त्यसलाई नयाँ ट्याबमा खोल्न सक्छन्। त्यस्तै, खुला ट्याबमाथि बीचको क्लिक गर्दा तुरुन्त बन्द गर्न सकिन्छ। बुकमार्क फोल्डरलाई बीचको क्लिक गर्दा त्यसभित्र रहेका सबै लिंकहरू एकैपटक नयाँ ट्याबहरूमा खोलिने सुविधा पनि हुन्छ।
यस्तै, रिफ्रेस बटनमा बीचको क्लिक गर्दा हालको ट्याब डुप्लिकेट हुने र ब्याक वा फरवाड बटनमा बीचको क्लिक गर्दा पृष्ठहरू नयाँ ट्याबमा खुल्ने सुविधा पनि उपलब्ध छ। साथै, ट्याब बारको खाली भागमा बीचको क्लिक गर्दा अन्तिम बन्द गरिएको ट्याब पुनः खोल्न सकिने फिचर पनि रहेको बताइन्छ, जसले ब्राउजिङ अनुभवलाई अझ छिटो र सहज बनाउँछ।
विन्डोज र डेस्कटपमा पनि यी सर्टकटहरू निकै उपयोगी छन्। टास्कबारमा रहेका एप आइकनमा बीचको क्लिक गर्दा सो एपको नयाँ विन्डो खोल्न सकिन्छ। साथै, एपको प्रिभ्यू थम्बनेलमा बीचको क्लिक गर्दा खुला विन्डो तुरुन्त बन्द गर्न मिल्छ। त्यस्तै, कुनै पेजमा बीचको बटन क्लिक गरेपछि माउसलाई चलाएर अटो-स्क्रोल सक्रिय गर्न सकिन्छ, जसमा माउसको दूरीअनुसार स्क्रोलको गति नियन्त्रण गर्न सकिने सुविधा हुन्छ।
यी सर्टकटहरू प्रयोग गर्न थालेपछि दैनिक काम अझ सहज र छिटो हुने गर्दछ। प्रयोगकर्ताले ब्राउजर र डेस्कटप प्रयोगमा पावर-यूजर अनुभव प्राप्त गर्न सक्छन्, ट्याबहरू छिटो व्यवस्थापन गर्न सकिन्छ र अनावश्यक राइट-क्लिकको झन्झटबाट पनि छुटकारा पाउन सकिन्छ।
आईसीटी समाचार