कीवर्डहरू -

टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स कसरी बन्यो एआई पावरहाउस ?

टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स कसरी बन्यो एआई पावरहाउस ?

टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले सामाजिक सञ्जालभन्दा निकै पर पुगेर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आफ्नो बलियो पकड बनाइसकेको छ । टिकटक, डुईन र टाउतियाओ जस्ता लोकप्रिय एप्समार्फत कम्पनीले करोडौँ प्रयोगकर्ताको डेटा संकलन गरेर अहिले एआई विकासको आधार बनाएको छ ।

बाइटडान्स कसरी अर्को एक एआईको पावरहाउस बन्न पुग्यो ? आउनुहोस् जानौं । बाइटडान्ससँग टिकटक, डुईन र टाउतियाओ जस्ता एप्स छन् । प्रयोगकर्ताले हेरेको प्रत्येक भिडियो, पोस्ट, वा इन्टरेक्शनबाट कम्पनीले इन्टरनेट प्रयोगसम्बन्धी गहिरो जानकारी पाउँछ । यस डेटाले एप्सलाई मात्र आकर्षक बनाएको छैन, एआई प्रणालीलाई तालिम दिने आधारभूत संरचना पनि तयार गरिदिएको छ ।

बेजिङस्थित काउन्टरपोइन्ट रिसर्चका एआई प्रमुख विश्लेषक वेई सन भन्छन्, 'बाइटडान्स सँग लाखौँ प्रयोगकर्ताको सम्पूर्ण डेटा हरेक समय उपलब्ध हुन्छ ।' गत वर्ष बाइटडान्सले डेटा सेन्टर, नेटवर्किङ उपकरण र कम्प्युटर चिप्सजस्ता एआई पूर्वाधारमा लगभग ११ अर्ब अमेरिकी डलर खर्च गरेको छ । कम्पनीले चीन र दक्षिणपूर्वी एसियामा ठूला डेटा सेन्टर बनायो र ह्वावे, क्याम्ब्रिकन जस्ता चिनियाँ चिप निर्माता कम्पनीहरूसँग चिप्स खरिद गरेर एनभिडिया जस्ता विश्वव्यापी लिडरहरूप्रति निर्भरता घटाएको छ ।

बाइटडान्सले विश्वभरबाट एआई विकासका लागि प्रतिभाशाली जनशक्ति भर्ना पनि गरेको छ । कम्पनीको ध्यान डेटा विश्लेषण र एल्गोरिदम डिजाइनमा दक्ष विज्ञहरूमा थियो । यसले बाइटडान्सलाई एआई दौडमा विश्वका प्रमुख कम्पनीहरूसँग काँधमा काँध मिलाएर हिँड्न सक्षम बनायो ।

बाइटडान्सले एआई–आधारित च्याटबट डौबाओ सार्वजनिक गरेको छ, जुन लन्च भएको पहिलो तीन महिनामै ६० मिलियन प्रयोगकर्ता पाउन सफल भएको थियो । यो चीनको सबैभन्दा लोकप्रिय च्याटबट बनेको छ । जसले बाइ्डु र अलिबाबा जस्ता दिग्गजहरूलाई पछि पारेको छ । साथै, डुईन एपमा पनि डौबाओ एकीकृत गरिएको छ, जसले प्रयोगकर्तालाई एआई च्याटको सुविधा दिन्छ ।

सन् २०२१ मा बाइटडान्सले भोल्कानो इन्जिन सार्वजनिक गरेको थियो । यसले अन्य कम्पनीहरूलाई टिकटक र दौयिनको प्रविधि प्रयोग गर्ने अवसर दिन्छ ? उदाहरणका लागि, हाइयर र हिसेन्स जस्ता ब्राण्डहरूले इशाराले नियन्त्रण गरिने स्मार्ट टिभीका लागि बाइटडान्स को टेक्नोलोजी प्रयोग गरेका छन् ।

अटोमोबाइल कम्पनी जीएसी ग्रुप ले यसका डेटा म्यानेजमेन्ट टुल्स प्रयोग गर्दै आएको छ । त्यस्तै मर्सिडिज–बेन्जले पनि गत वर्ष चीनमा आफ्ना गाडीभित्रका भ्वाइस असिस्टेन्ट र नेभिगेसन सिस्टमका लागि भोल्कानो इन्जिन प्रयोग गर्ने बताएको थियो ।

टिकटकको लोकप्रियताले धेरै देशहरूमा सुरक्षासम्बन्धी चिन्ता बढाएको छ । २० भन्दा बढी सरकारहरूले यसको डेटा प्रयोगलाई लिएर आंशिक प्रतिबन्ध लगाएका छन् । अमेरिकामा त टिकटक का अमेरिकी अपरेसनहरू बिक्री गर्न दबाबसमेत छ । तर बाइटडान्स ले डेटा प्रयोग गरेर एआई विकासमा आफूलाई बलियो बनाउँदै विश्व प्रविधि दौडमा आफ्नो स्थान मजबुत बनाइसकेको छ ।

चीन सरकारले प्रविधि कम्पनीहरूलाई मनोरञ्जनबाहेक एआई र सेमिकन्डक्टरजस्ता उच्च–प्रविधि क्षेत्रहरूमा ध्यान दिन निर्देशन दिएको छ । बाइटडान्सले यो मिशनलाई गम्भीरताका साथ लिएर डेटा, लगानी र ट्यालेन्टको भरमा एआई क्षेत्रमा नेतृत्व लिएको छ ।