कुनै पनि व्यक्तिलाई उसको व्यवहार तथा उसको शारीरिक विशेषताबाट पहिचान गर्ने स्वचालित प्रक्रिया नै बायोमेट्रिक हो । उक्त विशेषताहरू फेस, फिंगरप्रिन्ट, ह्यान्ड जोमेट्री, ह्यान्डराइटिङ, रेटिनल, भेन र भ्वाइसबाट मापन गरिन्छ।
यसरी मापन गरिएका बायोमेट्रिक डाटाहरू व्यक्तिगत जानकारीभन्दा पृथक् हुन्छन् र बायोमेट्रिकका व्यक्तिगत जानकारीलाई एकपटक लिइसकेपछि पुनः निर्माण गर्न सकिँदैन । त्यस्तै यस्ता जानकारीहरू चोरी हुन् सक्दैनन् र व्यक्तिगत जानकारीहरूसम्म पुग्नका लागि प्रयोग गरिन्छ ।
अहिलेको समयमा फिंगरप्रिन्ट, आइरिसजस्ता शारीरिक गुणहरूको प्रयोगले व्यक्तिहरूको पहिचान गर्नु नै सबै भन्दा सजिलो उपाय बनिसकेको छ। सहज तथा भरपर्दो भएका कारण अहिले हरेक ठाउँमा बायोमेट्रिक टेक्नोलोजीको प्रयोग धेरै हुने गरेको छ ।
बायोमेट्रिक प्रविधिको प्रयोग वर्षीबर्षदेखि गरिँदै आइएको भए तापनि अहिलेको बढ्दो प्रविधिका कारण यसले धेरै फाइदा पुऱ्याइरहेको छ । यसको प्रयोगसँगसँगै लागतमा कटौती पनि भइरहेको छ । यो सबै प्रकारका प्रयोगकर्ताहरूमाझ सस्तो र सजिलै उपलब्ध छ । साथमा यसलाई सानाठूला बिजनेस र पब्लिक सेक्टर एजेन्सीलगायतका कम्पनीहरूले प्रयोग गर्न सक्छन् ।
एयरपोर्ट, हस्पिटल, होटल ग्रोसरी स्टोरदेखि लिएर डिस्नी थिम पार्कमा पनि बायोमेट्रिकको व्यापक प्रयोग गर्ने गरेको पाइन्छ । दैनिक रूपमा हामी मुख्य रूपमा सेक्युरिटीका लागि सावधानी अपनाउँछौं । घरमा साँचो लगाउँछौं । कम्प्युटरमा पनि युजरनेम र पासवर्ड राख्छौं ।
तर यदि हामीले यसरी राखेको पासवर्ड भुल्यौं अथवा घरको साँचो हरायौँ भने अरू कसैले भेट्छन् र हाम्रा समानहरू प्रयोग गर्छन् । तर यसरी साँचो अथवा अन्य पासवर्डको सट्टामा यदि बायोमेट्रिकको प्रयोग गर्न सकिन्छ, जसले गर्दा हराउने तथा बिर्सने समस्या रहँदैन ।
बायोमेट्रिकले भौतिक गुणको निरीक्षण गरेर मानिसको पहिचान गर्दछ। मानिसको आवाज, ह्यान्ड राइटिङ तथा टाइपिङ रिदम आदिका आधारमा बायोमेट्रिकको प्रयोग गर्दा व्यक्तिगत विशेषता हराउने तथा बिर्सने डर हुँदैन । साथै कपी गर्न पनि गाह्रो हुन्छ । यसकारण धेरै मानिसहरूले यसको प्रयोगलाई पासवर्ड अथवा साँचो वा भन्दा सुरक्षित ठान्छन् ।
बायोमेट्रिक सिस्टम अरूभन्दा जटिल देखिन्छ । तर यसको प्रयोगका लागि तीन विधि छन् :
इनरोलमेन्ट
पहिलो पटक बायोमेट्रिक सिस्टमको प्रयोग गर्दा यसले व्यक्तिको बारेमा आधारभूत जानकारीहरू रेकर्ड गर्दछ । जस्तै यसले व्यक्तिको नाम, नम्बर रेकर्ड गर्छ र फोटो अथवा कुनै विशेष गुणको रेकर्डिंग लिन्छ ।
स्टोरेज
धेरैजसो सिस्टमहरूले पूरै इमेज तथा रेकर्डिङ स्टोरेज गरेका हुँदैनन् । यसकारण यस्ता गुणहरूलाई विश्लेषण गर्नेभन्दा पनि त्यसलाई कोड अथवा ग्राफमा ट्रान्स्लेट गर्छ। साथै केही सिस्टमले भने डाटाहरू स्मार्टकार्डमा राख्ने गर्दछन् ।
कम्पेरिजन
एक पटक प्रयोग गरेर अर्को पटक प्रयोग गर्दा यसले मानिसको व्यक्तिगत गुणहरूलाई तुलना गर्दछ । यसकै आधारमा उक्त व्यक्ति को हो भन्ने कुरा पहिचान गरेर एसेप्ट तथा रिजेक्ट गर्दछ ।
बायोमेट्रिकको सिस्टमले तीनवटा कम्पोनेन्टस प्रयोग गर्दछ
सेन्सर : सेन्सरले व्यक्तिको पहिचानका लागि प्रयोग गरिएको बिसेषता पत्ता लगाउने काम गर्दछ।
कम्प्युटर : बायोममेट्रिकले व्यक्तिहरूका सूचनाहरू पढ्न तथा सूचनाको अभिलेख राख्नका लागि कम्प्युटरको प्रयोग गर्दछ ।
सफ्टवेयर : बायोमेट्रिकले विशेषताको विश्लेषण गर्न ट्रान्स्लेट गर्न अथवा कोड तथा कम्पेरिजनका लागि सफ्टवेयरको प्रयोग गरिएको हुन्छ ।
बायोमेट्रिकले कसरी काम गर्छ ?
ह्यान्डराइटिङ
झट्ट हेर्दा हामीलाई लाग्न सक्छ ह्यान्डराइटिङबाट व्यक्ति पहिचान गर्नु राम्रो उपाय होइन । किनकि ह्यान्डराइटिङ कपी गर्न सजिलो हुन्छ । थोरै मेहनतमै जसको पनि ह्यान्डराइटिङ अथवा साइन कपी गर्न सकिन्छ र जो सुकैले पनि सजिलैसँग पासवर्ड चोर्न सक्छन् । तर बायोमेट्रिक सिस्टमले अक्षरको सेप मात्र नहेरेर व्यक्तिको लेख्ने रिदम, प्रेसर तथा स्पिडजस्ता कुराहरू पनि एनालाइज गर्छ ।
बायोमेट्रिकमा touch-sensitive पेनसहित ह्यान्डराइटिङ रेकग्निसन सिस्टम सेन्सर हुन्छ । त्यसमा एंगल, प्रेसर तथा डाइरेक्सन पत्ता लगाउने सेन्सर हुन्छ । सफ्टवेयरले ह्यान्डराइटिङलाई ग्राफमा परिवर्तन गर्छ र ससाना परिवर्तनहरू पनि भए/नभएको पत्ता लगाउँछ । यही कारण बायोमेट्रिकमा कसैले सिग्नेचर कपी खोजेमा यी सम्पूर्ण गुणहरू कपी गर्न एकदम गाह्रो हुन्छ र हतपत आफ्ना सामान अथवा डाटाहरू लिक हुने वा चोरी हुने सम्भावना हुँदैन ।
फिंगर जोमेट्री
मानिसहरूको हात र औलाहरू फरक हुन्छन् । तर फिंगरप्रिन्ट तथा आइरिस जस्तो फरक हुँदैनन् । यसकारण बिजनेस र स्कुलहरूमा व्यक्ति पहिचान गर्नका लागि हात तथा औंला ज्यामिती रिडरको प्रयोग गरिएको हुन्छ ।
उदाहरणका लागि डिस्नी थिम पार्कमा टिकेट होल्डर्सलाई भित्र छिर्न अनुमतिको लागि finger geometry readers को प्रयोग गरिन्छ । हात तथा औंला ज्यामिती प्रविधिमा डिजिटल क्यामेरा र लाइटको प्रयोग गरिएको हुन्छ ।
यसको प्रयोगको गर्दा यदि तपाईंले आफ्नो हात खाली सतहमा राख्नुभयो भने क्यामेराले तपाईको हात र हातको छायाँको एक वा सोभन्दा धेरै फोटो लिन्छ । त्यसपछि उक्त फोटोको प्रयोग हात र औलाको लम्बाइ, चौडाइ तथा मोटाइ निर्धारण गर्न प्रयोग गर्छ । बायोमेट्रिक सिस्टमले उक्त सूचनालाई न्यूमेरिकल टेम्प्लेटमा परिवर्तन गर्दछ ।
Hand and finger geometry system का केही सबल पक्ष छन् भने केही कमजोरी पनि छन् । प्रायः मानिसहरूले यो सिस्टमको प्रयोगले आफ्नो गोपनीयता सुरक्षित नै रहेको बताउँछन् भने कहिलेकाहीँ हातमा घाउ अथवा चोट लाग्दा भने यसको प्रयोग गर्दा कठिनाइ आउँछ ।
भ्वाइसप्रिन्ट
सबै मानिसको आवाज फरक फरक हुन्छ । किनकि बोल्दा मानिसको मुख चलाउने प्रक्रियाका हुन्छ । भ्वाइसप्रिन्ट सिस्टमको प्रयोग गर्नको लागि तपाईंले कुनै शब्द उच्चारण गर्नुपर्ने हुन्छ । अथवा आफूले कुनै एउटा स्पिचको स्याम्पल दिनुपर्छ । फलस्वरूप कम्प्युटरले तपाईलाई जुनसुकै शब्द बोले पनि पहिचान गर्न सक्छ ।
फरक भ्वाइसप्रिन्टका लागि प्रयोग गरिएको डाटा वेभ फर्म नभएर साउन्ड स्पेक्टोग्राम हो । स्पेक्टोग्राम मूलतः एउटा ग्राफ हो, जसले भर्टिकल एक्सिसमा साउण्डको फ्रिक्वेन्सी देखाउँछ भने होराइजन्टल एक्सिसमा भने टाइम देखाउँछ। भिन्नभिन्नै आवाजमा रेकर्ड गरिएका आवाजहरूले ग्राफभित्र फरकफरक सेप निर्माण गर्दछ । यसरी बायोमेट्रिकमा भ्वाइसप्रिन्ट सिस्टमले आवाज पहिचान गर्नको लागि काम गर्दछ।
आइरिस स्क्यानिङ
आइरिस स्क्यानिङ पनि बायोमेट्रिकमा सबैभन्दा धेरै प्रयोग गरिन्छ । यसको मुख्य भाग सिसिडी डिजिटल क्यामेरा हो । यो सिस्टममा कुनै पनि व्यक्तिको आइरिसको क्लियर पिक्चर लिनका लागि भिजिबल तथा इन्फ्रारेड लाइट दुबैको प्रयोग गरिएको हुन्छ । मानिसको पुपिल धेरै कालो हुन्छ । त्यसैले सजिलोका लागि कम्प्युटरले पुपिल र आइरिसलाई अलग गराउँछ ।
जब तपाईंले आइरिस स्क्यानरमा हेर्नुहुन्छ या ता क्यामेराले अटोफोकस गर्छ । अथवा तपाईंको पोजिसन मिलाउनका लागि तपाईं आफैले मिररको प्रयोग गर्नुपर्छ । पुपिलको सेन्टर, किनारा तथा आइरिसको किनारा, आइलिड तथा आइलासेसको किनारा कम्प्युटरले खोज्छ र क्यामेराले फोटो खिच्छ । त्यसपछि यी कुराहरूको ढाँचालाई विश्लेषण गरेर कम्प्युटरले त्यसलाई कोडमा ट्रान्स्लेट गर्छ ।
मानिसका आँखाहरू भिन्नभिन्न हुने भएका कारण बायोमेट्रिकमा हाई सेक्युरिटीका लागि आइरिस स्क्यानर धेरै प्रयोग हुने गरेको छ । आइरिस पारदर्शी र सुरक्षित संरचना भएको कारण यो समयअनुसार परिवर्तन हुने गर्दैन ।
साथै कन्ट्याक्ट लेन्स तथा आई ग्लास आदिले पनि आइरिस स्क्यानिङमा कुनै पनि बाधा पुन्याउँदैन । त्यसैले यो अझ बढी प्रभावकारी हुन्छ ।
भेन जोमेट्री
आइरिस तथा फिंगरप्रिन्ट जस्तै व्यक्तिहरूको नसा पनि फरक हुन्छ । जम्ल्याहाहरूको पनि नसाहरू एक समान हुदैनन् । साथै मानिसको देब्रे र दाहिनेपट्टिका नसाहरू पनि उस्तै हुँदैनन् । त्यसमध्ये कतिपय नसाहरू हामीले छालामा देख्न सक्दैनौं । त्यसकारण कसैले पनि यसमा नक्कली बनाउने अथवा यसको दुरूपयोग गर्न सक्दैन।
यसकारण बायोमेट्रिक सिस्टममा सेक्युरिटीका लागि भेन जोमेट्रीको प्रयोग गरिन्छ । भेन रेकग्निसनको सिस्टम प्रयोग गर्दा तपाईंले आफ्ना औला, नाडी तथा हातको पन्जा स्क्यानरमा राख्नुपर्छ । इन्फ्रारेड लाइटको प्रयोग गरेर क्यामेरा ले डिजिटल फोटो लिन्छ ।
शरीरको रगतमा भएको हेमोग्लोबिनले लाइट अवशोषण गर्छ र फोटोमा नसा कालो देखिन्छ । अन्य बायोमेट्रिक सिस्टममा झै यसमा पनि सफ्टवेयरले नसाको ढाँचा तथा आकारका आधारमा टेम्पलेट तयार गर्दछ ।
यसरी स्क्यानरले नसाको ज्यामितीलाई विश्लेषण गर्छ र यो भेन स्क्यानिङ टेस्ट हस्पिटलमा हुने टेस्टभन्दा फरक हुन्छ । बायोमेट्रिक सेक्युरिटी स्क्यानले लाइटको प्रयोग गरेर नसाको आकारप्रकार र ढाँचा पत्ता लगाएर व्यक्तिको पहिचान गर्ने गर्छ ।
(अन्तर्राष्ट्रिय एजेन्सीको सहयोगमा तयार पारिएको सामग्री)