कीवर्डहरू -

असोज १९ गते सोल्टी होटलमा आन्टरप्रेनर समिट २०२४ हुँदै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ता सहभागी हुने

असोज १९ गते सोल्टी होटलमा आन्टरप्रेनर समिट २०२४ हुँदै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ता सहभागी हुने

नेपालको प्रविधि कम्पनी स्वीभ्ट र इन्भेस्टियाको संयुक्त आयोजनामा आन्टरप्रेनर समिट नेपाल २०२४ हुने भएको छ । असोज १९ गते काठमाडौंको सोल्टी होटलमा हुने सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरूको सहभागीता रहने छ ।  

एशिया प्रशान्त क्षेत्र (एप्याक) का उद्यमी, लगानीकर्ता, र व्यवसायिक नेतृत्वकर्ताहरूलाई एक ठाउँमा ल्याउने उद्देश्यसहित सम्मेलन हुन लागेको हो । यसले नेपालमा विदेशी लगानी र अवसरहरू सिर्जना गर्न समिट महत्वपूर्ण हुने आयोजकको विश्वास छ । 

सम्मेलनमा एक्सिलेरेट भेन्चर्सका सह–संस्थापक र प्रबन्धक साझेदार लिओ लिउ, एसिया सीईओ कम्युनिटी हङकङका संस्थापक र सिईओ ग्यारी लाम, एक्सिलेरेट, हङकङका लविन हेलमानी र फिनटेक ग्लोबल बैंकिङ सोलुसन्स बेलायतका माइकल हो लगायत अन्तर्राष्ट्रिय वक्ताहरू सहभागी हुनेछन् । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपाल लगानी बोर्डका सिईओ सुशील ज्ञवाली पनि सहभागी हुने अपेक्षा गरिएको छ । 

हङकङ, सिंगापुर, भारत र नेपालका प्रतिष्ठित व्यवसायिक व्यक्तित्वहरू सहभागी हुने कार्यक्रममा नेपालको उद्यमशीलताका सम्भावनाबारे छलफल हुनेछ । कार्यक्रमले स्टार्टअप संस्थापक, व्यवसायिक नेतृत्वकर्ता र लगानीकर्ताहरूलाई नेटवर्किङ, रणनीति साझेदारी, र भविष्यका लागि सार्थक सहकार्यको अवसर प्रदान गर्नेछ ।

स्वीभ्टले गत वर्ष फिनटेक सम्मेलनको रूपमा पिएसपी सम्मेलन २०२३ आयोजना गरेको थियो । सो सम्मेलनमा इसेवा, खल्ती, फोनपे, मोरु, डिजिपे, सिजीपे, आईपे जस्ता प्रमुख फिनटेक कम्पनीहरू र नबिल बैंक, ग्लोबल बैंक, सिटिजन बैंक जस्ता ठूला वित्तीय संस्थाहरूले भाग लिएका थिए ।  

यस पटकको उद्यमी शिखर सम्मेलन २०२४ मा नेपालको स्टार्टअप इकोसिस्टमलाई विश्वव्यापी मञ्चमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । समिटमा सहभागीता जनाउन टिकट काट्नु पर्नेछ । टिकट यहाँ क्लिक गरेर खरिद गर्न सकिने छ । 

साथै यदी उक्त सम्मेलनमा स्टार्टअप शोकेस गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गरेर आफ्नो स्टल सुरक्षित गर्न सकिने छ ।