कीवर्डहरू -

विश्वकै शक्तिशाली सुपर कम्प्युटरमा चीन नम्बर १, अमेरिका दोस्रो स्थानमा

विश्वकै शक्तिशाली सुपर कम्प्युटरमा चीन नम्बर १, अमेरिका दोस्रो स्थानमा

काठमाडौं । विश्वको सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरको सूचीमा चीनले पुन: अग्रता हासिल गरेको छ । करिब आठ वर्षपछि पहिलो पटक चिनियाँ सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै विश्वको नम्बर एक स्थान कब्जा गरेको हो ।

जर्मनीको ह्याम्बर्गमा आयोजित अन्तर्राष्ट्रिय सुपर कम्प्युटिङ सम्मेलन (ISC) का क्रममा सोमबार सार्वजनिक गरिएको टप ५०० सुपर कम्प्युटर वरीयतामा चीनको ‘लाइनशाइन’ (LianShine) सुपर कम्प्युटर पहिलो स्थानमा परेको छ ।

सन् २०१७ यता कुनै चिनियाँ सुपर कम्प्युटरले यो सूचीको शीर्ष स्थान हासिल गरेको यो पहिलो अवसर हो । यस उपलब्धिलाई अझ विशेष बनाउने पक्ष भनेको लाइनशाइन पूर्ण रूपमा चीनमै विकास गरिएको प्रविधिमा आधारित हुनु हो ।

यसमा अमेरिकी वा अन्य विदेशी चिप प्रयोग गरिएको छैन । चीनमै डिजाइन र उत्पादन गरिएका प्रोसेसर प्रयोग गरेर निर्माण गरिएको यो सुपर कम्प्युटरले प्रविधिमा आत्मनिर्भर बन्ने बेइजिङको रणनीतिलाई थप बल दिएको विश्लेषण गरिएको छ ।

निरन्तर सञ्चालन क्षमताका आधारमा लाइनशाइनले २.२ एक्साफ्लप्स गति हासिल गरेको छ । एक्साफ्लप्स भनेको कम्प्युटरले एक सेकेन्डमा गर्न सक्ने गणनाको मापन हो । यस क्षमताका कारण यसले अमेरिकाको एल क्यापिटन (El Capitan) सुपर कम्प्युटरलाई उछिन्दै शीर्ष स्थान सुरक्षित गरेको हो ।

यद्यपि चीन शीर्ष स्थानमा पुगे पनि अमेरिकाको उपस्थिति अझै बलियो देखिन्छ । विश्वका उत्कृष्ट पाँच सुपर कम्प्युटरमध्ये तीनवटा अमेरिकी संस्थाहरूमा सञ्चालनमा छन् । दोस्रो स्थानमा रहेको एल क्यापिटन क्यालिफोर्नियास्थित लरेन्स लिभरमोर राष्ट्रिय प्रयोगशालामा रहेको छ भने फ्रन्टियर तेस्रो र अरोरा चौथो स्थानमा छन् । युरोपबाट जर्मनीको जुपिटर बूस्टर पाँचौं स्थानमा परेको छ ।

सन् १९९३ देखि हरेक वर्ष दुई पटक सार्वजनिक हुने टप ५०० सूचीलाई विश्वका सुपर कम्प्युटरहरूको सबैभन्दा प्रतिष्ठित मूल्याङ्कन मानिन्छ । यसले विभिन्न देशको उच्च-क्षमतायुक्त कम्प्युटिङ प्रविधिको स्तर र प्रतिस्पर्धाको अवस्था झल्काउने अनौपचारिक विश्व सूचकका रूपमा काम गर्दै आएको छ ।

विश्वका शीर्ष पाँच सुपर कम्प्युटर
१. लाइनशाइन – राष्ट्रिय सुपर कम्प्युटर केन्द्र, शेन्जेन (चीन)
२. एल क्यापिटन – लरेन्स लिभरमोर राष्ट्रिय प्रयोगशाला (अमेरिका)
३. फ्रन्टियर – ओक रिज राष्ट्रिय प्रयोगशाला (अमेरिका)
४. अरोरा – आर्गोन राष्ट्रिय प्रयोगशाला (अमेरिका)
५. जुपिटर बूस्टर – जुलिच सुपरकम्प्युटिङ केन्द्र (जर्मनी)