कीवर्डहरू -

भारतीय नागरिकले नेपालबाट बैंक खातामा प्रतिदिन १५ हजार भारू पठाउन सक्ने

भारतीय नागरिकले नेपालबाट बैंक खातामा प्रतिदिन १५ हजार भारू पठाउन सक्ने

नेपालमा बस्ने भारतीय नागरिकले बैंक खातामा प्रतिदिन १५ हजार भारतीय रूपैयाँ पठाउन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागले एकीकृत परिपत्र जारी गर्दै प्रतिदिन १५ हजार र प्रतिमहिना १ लाख भारतीय रूपैयाँ सीम तोकेको हो । 

नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलेको बैंकखाता आवद्ध विद्युतीय बैंकिङ्ग (इ-बैंकिङ्ग), अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ्ग, क्युआर कोडमार्फत राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा प्रतिदिन भा.रु. १५,००० र प्रति महिना भा.रु. १००,००० जम्मा हुने गरी पारिश्रमिक बापतको सटही सुविधा प्रदान गर्न सकिने परिपत्रमा भनिएको छ । 

भारतबाट नेपालमा विप्रेषण भित्र्याउने प्रयोजनको लागि नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंकले व्यवस्था गरेको Indo-Nepal Remittance Facility Scheme को अतिरिक्त नेपाली नागरिकले भारतीय बैंक तथा वित्तीय संस्थामा खोलेको बैंक खाता आवद्ध विद्युतीय बैंकिङ्ग (इ-बैंकिङ्ग), अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ्ग, क्युआर कोडमार्फत राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलिएको व्यक्तिगत खातामा प्राप्त हुने गरी विप्रेषण रकम भित्र्याउन सकिने छ ।

नेपाली व्यवसायीहरुले वस्तु तथा सेवा बिक्री गरेबापतको परिवर्त्य विदेशी मुद्रा नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलिएको खातामा प्राप्त हुने गरी विदेशमा जारी भएको क्युआर कोडमार्फत राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट स्वीकार गर्न सक्ने छन् । 

यस्तो कारोबारमा निहित रहने सम्पूर्ण जोखिमहरु र सोका निराकरण/न्यूनीकरणका उपायहरु सम्बन्धित वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंक आफैँले विश्लेषण तथा व्यवस्थापन गर्नु पर्ने छ ।