काठमाडौं । Intel ले Windows 11 का लागि नयाँ डिभाइस ड्राइभरहरू सार्वजनिक गरेको छ, जसले Wi-Fi र Bluetooth सम्बन्धी विभिन्न समस्याहरू समाधान गर्ने लक्ष्य राखेको जनाएको छ ।
Windows Latest का अनुसार यी अपडेटहरूले वायरलेस कनेक्सनलाई अझ स्थिर बनाउने, इन्टरनेट स्पीड सुधार गर्ने र वायरलेस हेडफोनमा हुने इन्टरफेरेन्स कम गर्नेछन् ।
लामो समयदेखि Windows 11 मा Wi-Fi र Bluetooth बीच समन्वय सम्बन्धी समस्या देखिँदै आएको थियो, विशेष गरी दुवैले एउटै वायरलेस च्यानल प्रयोग गर्दा ।
प्रयोगकर्ताले संगीत सुन्दै गर्दा Bluetooth डिभाइस अचानक Quick Settings बाट हराउने र पुन: कनेक्ट गर्न समस्या हुने गुनासो गर्दै आएका थिए । नयाँ ड्राइभर अपडेटले यस्ता समस्याहरू न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ ।
विशेष गरी 2.4GHz Wi-Fi र Bluetooth एकै समयमा सक्रिय हुँदा Bluetooth अडियोमा ढिलाइ (latency) र ग्लिच देखिने समस्या सामान्य थियो । Intel का अनुसार नयाँ ड्राइभरहरूले यी प्राविधिक अवरोधहरू घटाउँदै प्रयोग अनुभवलाई सुधार गर्नेछन् ।
यी ड्राइभरहरू Intel Graphics Software एपमार्फत वा Intel को आधिकारिक सपोर्ट वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ । साथै, Microsoft ले भविष्यमा यस्ता अपडेटहरू Windows Update मार्फत उपलब्ध गराउने योजना बनाएको छ, यद्यपि यसको निश्चित समयरेखा भने सार्वजनिक गरिएको छैन ।
नयाँ अपडेटसँगै Windows 11 प्रयोगकर्ताहरूले Wi-Fi र Bluetooth प्रयोग गर्दा अझ सहज र स्थिर अनुभव पाउने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार