आजभन्दा करिब १६ वर्ष अगाडि सूचना प्रविधि (आईटी) मा नेपाल भर्खर भर्खर बामे सर्दै थियो । धेरैलाई सूचना प्रविधिको बारेमा थाहै थिएन ।
अहिलेको जस्तो धेरैको पहुँचमा पनि थिएन । सिमित व्यक्तिसँग मात्रै प्रविधिको पहुँच थियो । तर यो १६ वर्षको अन्तरालमा आईटीले धेरै फड्को मारिसकेको छ । हरेक काम र क्षेत्रमा आईटी नभइ नहुने अवस्था सिर्जना भएको छ ।
प्रविधि गतिशील छ । प्रविधिको यही गतिशील रूपलाई १६-१७ वर्षदेखि नजिकबाट नियाल्दै आइरहेकी छन्, ललितपुरकी अलिसा श्रेष्ठ । आईटीको क्षेत्रमा छिटो छिटो नयाँ नयाँ परिवर्तन भइरहेको हुन्छ । त्यही प्रविधिको विकासलाई एम्निल टेक्नोलोजीज नेपालसँग जोड्दै छिन्, अलिसा ।
सन् २००९ मा अलिसासहित निशित राजभण्डारी (अहिले उनका श्रीमान) र अमित जोशी (३ जना साथीहरू) मिलेर एम्निल टेक्नोलोजीज कम्पनीको सुरूवात गरेका थिए ।
एम्निल टेक्नोलोजीज सुरू गर्नुभन्दा अघि उनले फिन्ल्याण्डको एउटा आईटी कम्पनीमा काम गरिरहेको थिइन । तर उनी जोडिएको १ वर्षपछि फिन्ल्याण्डको कम्पनी नेपालबाट बाहिरियो । त्यसपछि सुरू भएको थियो, अलिसाको उद्यमी यात्रा ।
सानैदेखि कम्प्युटरमा रूची
ललितपुरको मध्यमवर्गीय परिवारमा हुर्किएकी उनको बाल्यकाल साधारण नै बित्यो । लिटिल एन्जल विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्मको अध्ययन गरिकी उनलाई प्लस टु अध्ययन कहाँ गर्ने केही थाहा थिएन । साथीहरूले भने सबैतिर खोज्न थालिसकेका थिए । तर उनलाई केही थाहा थिएन ।
नर्सरीदेखि पढेको साथीसँगै आफु पनि गएको अलिसाले सुनाइन । ‘कक्षा १० अध्ययन सकेपछि के पढ्ने, कहाँ पढ्ने केही थाहा थिएन । घरमै बसिरहेकी थिए,’ उनले सुनाइन, ‘त्यसपछि नर्सरीदेखिको साथी जहाँ गयो म पनि त्यही गए । उसले २-३ ठाउँमा प्रवेश परीक्षा दियो, मैले पनि दिए ।’
साथीले भर्ना गरेकै कलेज युनाइटेड एकेडेमीमा उनी पनि कमर्समा भर्ना भइन । प्लस टु अध्ययन सकिएपछि उच्च तहको पढाइ गर्न विदेशमा जाने उनको सपना थियो । टोफेल र आयलन्स पनि गरिन ।
तर साथीसँग लागेर फेरि स्नातक तहको अध्ययन काठमाडौं कलेज अफ म्यानेजमेन्ट (केसीएम) बाट बीबीआईएस (ब्याचलर अफ बिजनेस इन्फरमेसन सिस्टम) विषयमा गरिन । त्यसपछि विदेश जाने सपनालाई बिट मारिन । अहिले फर्केर हेर्दा विदेश नजाने निर्णयप्रति अलिसा गर्व गर्छिन् ।
‘विदेशमा गएर अनेकथरि पापड बेल्नुभन्दा यो धेरै राम्रो हो । नेपालमा बसेर आफुले आफुलाई प्रमाणित पनि गर्न सफल भए,’ उनी भन्छिन्, ‘नेपालमा बसेर पनि केही गर्न सकिन्छ । सबै विदेश नै जानुपर्दैन भन्ने उदाहरण दिन पाउँदा खुसी लाग्छ ।’
पढाइको शिलशिलामा आफ्नो इच्छाले कुनै पनि विषय पढिनन् । साथीहरू जता जता जान्छन, जुन जुन विषय पढ्छन, अलिसाले पनि त्यही पछ्याइन । कलेज पढ्दाको एउटा रोचक अनुभव छ, उनको ।
आफ्नो ब्याईफ्रेन्ड (अहिलेका श्रीमान) का लागि केसीएममा प्रवेश परीक्षाको फाराम लिन गएकी उनले आफ्नो पनि फाराम लिएर आइन र त्यही पढ्न थालेकी थिइन । केसीएमबाट धेरै कुरा सिकेको र नेटवर्किङ पनि राम्रो भएको उनको अनुभव छ ।
पढाइप्रति उनलाई खासै रूची थिएन । जसो तसो ब्याचलर सक्काउनेमा उनको ध्यान थियो । त्यही भएर मास्टर्स पनि अध्ययन गरिनन् । तर पढाइमा नराम्रो पनि थिइनन्, ठिकै थिइन । कक्षामा सधैं फस्ट वा सेकेण्ड हुनुपर्ने उनको आमाको जोड दिएको उनले बताइन् ।
‘पढाइमा ठिकै थिए । म त्यस्तो जिनियस बच्चा होइन । आमाले पठाइमा प्रेसर दिने भएकाले कक्षामा फस्ट, सेकेण्ड आउनै पर्ने हुन्थ्यो । तर मभन्दा पनि दिदिलाई अझ धेरै प्रेसर थियो । दिदि पुरै सेक्सनमै टप आउनु पर्ने हुन्थ्यो,’ अलिसा भन्छिन् ।
पढाइमा खासै रूची नभएपनि कम्प्युटरप्रति भने उनको झुकाव बढ्दो थियो । बुबाको ट्राभल एजेन्सी थियो । टिकेटिङको काम कम्प्युटर मै हुन्थ्यो । त्यो समयमा जतिबेला पनि कम्प्युटर अगाडि बस्न पाए हुन्थ्यो जस्तो, उनलाई लाग्थ्यो । केही नहुँदा डकुमेन्ट, फोल्डर मिलाएर बस्न उनलाई रमाइलो लाग्थ्यो ।
एउटा कोठाबाट सुरू भएको उद्यमी यात्रा
एम्निल टेक्नोलोजीजका सहसंस्थापक अलिसा, अमित र निशित राजको भेट केसीएम कलेजमा भएको थियो । कलेजको पढाइ सकिएपछि अलिसा र अमितले फिन्ल्याण्डको आउटसोर्सिङ आईटी कम्पनीमा डटनेट डेभलपरको काम गरिरहेका थिए । भने निशितले अर्को कम्पनीमा काम गरिरहेका थिए ।
अलिसा र अमितले काम सुरू गरेको एक वर्षमै फिनल्याण्डको कम्पनीले नेपालमा आफ्नो सेवा बन्द गर्यो । अब के गर्ने भनेर उनीहरूले योजना बनाइरहेका थिए । यतिकैमा अलिसालाई एउटा अमेरिकी कम्पनीबाट राम्रो सेवा सुविधासहित जबको अफर आयो । उनलाई १६-१७ वर्ष अगाडि मासिक ३०-४० हजार स्यालरी र अमेरिकी जाने अवसर समेत प्रस्ताव गरिएको थियो ।
तर अलिसाले उक्त अफरलाई लत्याउँदै उद्यमशीलताको यात्रा तय गर्ने निधो गरिन । अमेरिकी कम्पनीबाट अफर आएको कुरा अलिसाले घरमा भनेकी थिइनन । आफ्नै केही गर्ने इच्छा थियो । त्यसपछि तीनै जना साथीको कुरा मिलेपछि सन् २००९ मा एउटा कोठाबाट सुरू भयो, एम्निल टेक्नोलोजीज ।
३ जनाको आत्मविश्वासले सुरू भएको एम्निलले त्यसपछि पछाडि फर्केर कहिले हेर्नु नपरेको उनले बताइन । ‘गर्न सक्छौं भन्ने आत्मविश्वास थियो । सँगसँगै त्यो बेला हामीसँग रिस्क लिने समय पनि थियो,’ उनले भनिन, ‘यो सफल नभए अरू विकल्प छदै थिए । प्रयास गर्दा सफल भइयो । त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन् ।’
त्यो बेला साथीको घरको एउटा कोठाबाट कम्पनी सुरू भएको थियो । एक वर्षसम्म त्यही कोठाबाटै काम गर्यौं । २ वटा ल्यापटप थिए तर काम गर्नुपर्ने ३ जना । ३० हजार रूपैयाँ मात्रै थियो । त्यसपछि एकजना अर्को कम्प्युटर इन्जिनियर साथीलाई पनि साझेदारको भित्र्यायौं । ईएमआईमा कम्प्युटर र पावर ब्याकअपमा लागि जेनेरेटर किन्यौं । यसरी जुगाड जुगाडमै कम्पनी अहिलेसम्म चलिरहेको छ.... उनी हाँस्छिन् ।
उनीहरूलाई दर्ता प्रक्रिया बारे खासै थाहा थिएन । घरेलुमा दर्ता गर्ने भन्ने चाहिँ थाहा थियो । दर्ता गर्न जाँदा सरकारी कर्मचारीले के काम गर्नुहुन्छ कागजमा लेखेर दिनुस भने । तर उनीहरूलाई के लेख्ने, के लख्ने भयो । २-३ दिन त सोच्यौ र लेखेर दियौं ।
कम्पनी दर्ता गरेको धेरै समयसम्म पनि उनीहरूलाई प्यानको लागि आईआरडीमा दर्ता गर्नुपर्छ भन्ने थाहा थिएन । कम्पनी दर्ता भएपछि चिनजानबाटै प्रोजेक्टहरू ल्याउन थाल्यौं । ‘टिमवर्क’ र ‘विश्वास’ ले गर्दा एम्निल सफल भएको उनको बुझाइ छ ।
ब्याचलर पढ्दा अलिसालाई आफ्नै कम्पनी खोल्छु भन्ने लागेकै थिएन । ‘फ्लो’ अनुसार जाँदा आईटी उद्यमी बन्न पुगिन । उनले आफ्नो उद्यमशीलताको यात्रा अझै फराकिलो बनाइरहेकी छन् । क्विकफक्स टेक्नोलोजीज, आईटुबी डिजिटल मार्केटिङ एजेन्सी, ई-फार्मेसी, सोवा हेल्थ केयरमा आवद्ध हुँदै आफ्नो पहिचानलाई अझै फराकिलो बनाएकी छन् ।
परिवार (घर तथा माइत) को पनि उनलाई राम्रो सपोर्ट छ । बेला बेला अलिसाले आफ्नो आमाबाट फिर्ता गर्ने शर्तमा कम्पनीका लागि पैसा समेत लिने गरेकी थिइन । ३ जनाबाट सुरू भएको एम्निलमा अहिले ६ जना साझेदार छन् । अलिसा अहिले सहसंस्थापकका साथै प्रमुख सञ्चालन अधिकृत (सीओओ) को रूपमा काम गरिरहेकी छन् ।
टिमको साइज पनि बढ्दै छ । अहिले कम्पनीमा १५० बढीले रोजगारी पाएका छन् । कम्पनीले ७०-८० प्रतिशत काम नेपाली बजारमै गर्ने गरेको छ भने त्यस बाहेक सिंगापुर र अमेरिकामा आउटसोर्सिङ पनि गर्दै आएको छ ।
आईटीमा महिलाको सहभागीता
अलिसाले आफ्नो आईटी करियर सुरू गर्दा नगन्य मात्रामा महिलाको सहभागीता थियो । तर पछिल्लो समय आईटी क्षेत्रमा महिलाको रूची बढ्दो छ । सहभागीता पनि त्यसै अनुसार बढिरहेको छ । यद्यपी अझै पर्याप्त छैन् । टेक उद्योग अन्य क्षेत्रभन्दा अलिकति बढी ‘डिमान्डिङ’ छ । रातिसम्म पनि बस्नुपर्छ । काम गर्ने समय समेत निश्चित हुँदैन् ।
कहिलेकाही चौबिसै घण्टा काम गर्नुपर्ने हुन्छ । ‘छोरी मान्छे’ अबेरसम्म बाहिर बस्नु हुँदैन् भन्ने समाजको पुरानो सोच छ । महिलाप्रति समाजले तय गरेका विभिन्न धारणाले पनि आईटीमा महिलाको आकर्षण नबढाउन केही भूमिका खेलेको देखिन्छ । विस्तारै ती धारणाहरू तोड्दै महिलाहरू बाहिर आउन थालेका छन् । छोराभन्दा छोरी कुनै पनि कुरामा कम छैनन् भन्ने चेतनाको विकास भइरहेको छ ।
पछिल्लो समय विभिन्न संस्थाहरू आईटी क्षेत्रमा महिलाको सहभागीता बढाउन लागिपरेका छन् । टेक उद्योगमा महिलाहरूको अझै सहभागीता बढाउनुपर्ने उनको भनाइ छ । ‘महिलाले भिन्न दृष्टिकोण लिएर आउँछन् । उनीहरू धेरै बाधा अड्चन खेपेर त्यँहासम्म आएका हुन्छन्,’ उनी भन्छिन, ‘धेरै समस्यासँग जुधेर आइसकेको मान्छेसँग धेरै क्षमता हुन्छ । यो क्षमता नेतृत्वदायी भूमिकामा प्रयोग गर्न सकियो भने राम्रोसँग व्यवस्थापन गर्न सकिन्छ ।’
महिलाहरू ‘मल्टी टास्क’ गर्न सक्षम हुन्छन् । त्यसैकारण उनीहरूले एकैसमयमा धेरै कामहरूको सहजै व्यवस्थापन गर्न सक्छन् । एम्निलले पनि जब भ्याकेन्सी खाली हुँदा महिलाहरूलाई नै विशेष प्राथमिकता दिने गरेको छ । तर पनि कुल कर्मचारीको संख्यामा २० देखि २५ प्रतिशत मात्रै महिला छन् ।
प्रोजेक्टलाई ड्राइभ गर्ने धेरै महिलाहरू नै रहेका उनले बताइन् । ‘एम्निलले महिलालाई प्राथमिकता दिदै आएको छ । प्रोजेक्टलाई ड्राइभ गर्ने धेरै महिलाहरू नै हुनुहुन्छ,’ उनले भनिन, ‘हाम्रो हेड अफ प्रोजेक्ट म्यानेजर नै महिला हुनुहुन्छ ।’
प्राय हरेक क्षेत्रमा महिलालाई कम पत्याउने गरिन्छ । तर आईटी क्षेत्रमा त्यस्तो नभएको अलिसाको अनुभव छ । उनी अगाडि भन्छिन्, ‘महिलाले मैले सक्दिन्न होला भन्ने भावना त्याग्नु पर्छ । ब्रेभअप हुनुपर्छ । सक्षमताको परिभाषा बदल्नु पर्छ ।’
आईटीलाई सरकारले बुझेन
नेपालको आईटी क्षेत्र अहिलेको स्थितसम्म आफ्नै बलबुतामा आइपुगेको हो । सरकारको कुनै पनि सहयोग छैन् । निजी क्षेत्रको मिहिनेतले नेपालको आईटी उद्योग यहाँसम्म आएको अलिसा बताउँछिन् ।
‘आईटी क्षेत्रलाई माथि ल्याउन हामी जस्तो मान्छे दिनरात लागेका छौं,’ अलिसा भन्छिन्, ‘हामीलाई न सरकारसँग मतलब छ, न त कुनै राजनीतिक दलसँग । सरकारको सहयोग बिना आईटी उद्योग यहाँसम्म आइपुगेको छ । तर यदी साच्चै सरकारको सपोर्ट भएको बिलियर डलरको उद्योग हुन सक्थ्यो ।’
नेपालबाट एक वर्षमा मात्रै ६७ अर्ब बढीको सेवा निर्यात भएको डेटा केही समय अगाडि बाहिर आएको थियो । सरकारले भर्खर भर्खर आईटीलाई प्राथमिकतामा राख्न थालेको छ । तर पनि आईटीलाई अझै राम्रोसँग बुझ्न सकेको छैन् ।
सरकारीस्तरमै भएका मानिसले आईटी उद्योगलाई राम्रोसँग नबुझेका अलिसाको भनाइ छ ।
अबको योजना
अलिसाको अबको मुख्य योजना भनेको आफ्नो स्वास्थ्यलाई तन्दुरूस्त राख्ने हो । ‘रूटिन लाइफ’ खासै नरूचाउने उनी स्वास्थ्यमा विशेष ध्यान दिने योजना बनाइरहेकी छन् । केही समययता योगा कक्षामा समेत जान थालेकी छन् ।
अबका दिनमा स्वास्थ्यलाई मुख्य प्राथमिकता दिने उनले बताइन । ‘अब स्वास्थ्यलाई प्राथमिता दिन्छु । काममा मात्रै केन्द्रित हुन्न,’ उनले भनिन, ‘त्यस बाहेक भविष्यमा किताब पढ्ने, गार्डेनिङ गर्ने र बच्चाको केयरमा बढी केन्द्रित हुने योजना छ ।’
अहिले उनको ८ वर्षको एउटा बच्चा रहेको छ । अफिस बाहेक धेरै समय उनको बच्चासँगै बितिरहेको हुन्छ । व्यक्तिगत रूपमा आफ्नो स्वास्थ्यलाई स्वस्थ्य राख्न विशेष ध्यान दिने र संस्थागत रूपमा एम्निल टेक्नोलोजीजमार्फत धेरैलाई रोजगारी अवसर सिर्जना गर्ने पनि योजना रहेको अलिसा बताउँछिन् ।