कीवर्डहरू -

आईटी क्षेत्रलाई नियन्त्रण गर्ने सोचबाट सरकार मुक्त हुनुपर्छ, डण्डा बोकेर नियमन गर्ने होइन

आईटी क्षेत्रलाई नियन्त्रण गर्ने सोचबाट सरकार मुक्त हुनुपर्छ, डण्डा बोकेर नियमन गर्ने होइन

आईटी क्षेत्रका लागि अध्यादेशबाट हामीले केही कानुनी सुधारहरू गर्‍यौं । केही पनि नभइरहेको बेला केही कानुन सुधार हुँदा त्यसले उत्साहित बनायो । यसका लागि जो साथीहरूले प्रेरित गर्नु भएको थियो, उहाँहरूले सुधार भइसकेपछि भनेको कुरा म सम्झन्छु - पहिलो कुरा यो एकदमै थोरै हो । दोस्रो कुरा यो २० वर्ष पहिले नै भइसक्नुपर्ने थियो ।

अर्थात हामी दशौं वर्षसम्म गर्नुपर्ने सुधारहरू नगरेर बस्यौं । डिजिटल नेपाल फ्रेमवर्क र नीतिहरूमा लेख्ने बताउने कुराहरूमा हामी अगाडि नै रह्यौं । महत्त्वकांक्षी भयौं । तर त्यसलाई कार्यान्वयनमा लैजाने विषयमा भने अड्किएर बस्यौं । 

अस्ति गरिएको सुधारले एकैपटक ठूलै काम गर्छ भन्ने होइन, त्यसरी गरिएको पनि होइन । एकदमै लामो समयदेखि सुधारका कुराहरू अड्किएर बसेका थिए । ‘क्विक फिक्स’ के के छन् भन्दा ३-४ वटा विषय सुधार गर्दा सकारात्मक सन्देश जान्छ भन्ने भयो र त्यसै अनुसार कानुनी सुधार गरेका हौं । 

जुन हिसाबमा कानुनी सुधारको काम सुरू भएको थियौं । अब दोस्रो चरणको काम पनि सुरू हुन पर्थ्यो । अड्किएर बस्यौं । 

सरकारले गर्नुपर्ने काम 

आइसिटीको क्षेत्रमा निजी क्षेत्रले अभूतपूर्व काम गरेको छ । तर निजी क्षेत्रको स्प्रिट अनुसार सरकारी तहबाट काम भएको छैन् । ‘इनर्जी म्याच’ भएको छैन् । यो भन्दा अगाडि २ वर्षमा गरेको कुरा अब २ महिनामा गर्न सक्नुपर्छ । २ महिनाको गर्ने कुरा २ घण्टामा गर्न सक्नुपर्छ । किनकी हामीले वर्षौ गरेनौं । त्यसो गर्‍यौं भने मात्र बल्ल हामीसँग इनर्जी म्याच हुन्छ । 

हाम्रो कर प्रणालीमा व्यापक सुधार गर्नुपर्छ । १-२ वटा कम्पनीलाई गरिएको व्यवहार वा संकेतबाट हामीले भनेको जस्तो विदेशबाट लगानी आउँछ ? बाहिरबाट साथीहरूले काम ल्याउन सक्नुहुन्छ ? 

एउटा आईटी कम्पनीमा काम गरेको व्यक्ति कर कार्यालय जानुपर्‍यो भने अहिले पनि थुरथुर हुन्छ । कहाँ गएर के हुने हो भन्ने डर छ । यो कुराहरूलाई सुधार गर्नु पर्छ । 

अहिले विद्यालय तहमा जुन खालको अवस्था छ, त्यस्तो अवस्था रहिरह्यो भने अबको ५-६ वर्षपछि वर्कफोर्सको अवस्था कस्तो हुने हो ? हामीले यसमा काम गरिरहेका छैनौं । यी साना तर महत्त्वपूर्ण कुरा हुन् । 

आईटी क्षेत्र प्रतिस्पर्धात्मक छ । भारत, फिलिपिन्स, इन्डोनेसिया, थाइल्याण्ड किन नजाने ? नेपाल किन आउने ? मायाप्रेमले मात्रै आउने होइन । 

शिक्षासँग जोडिएका विषयमा छिटो छिटो काम गर्नुपर्नेछ । बजेटमा आएका केही कुरा प्रसंशनीय छन् । काम भएको छैन् भन्ने होइन । यत्तिको गतिले पुग्दैन् । हामीभन्दा धेरै अगाडि आइसिटी क्षेत्र गएको छ, जुन राम्रो हो । अब एकपटक यो क्षेत्रलाई बल पुर्‍याउने हो भने हामी धेरै अगाडि लैजान सक्छौं । 

निजी क्षेत्रसँग बसेर कुरा गर्ने हो भने उहाँहरूको धेरै सूची पनि छैन् । धेरै आफैले गर्नुभएको छ । केही सरकारले गरिदिनु पर्नेछ ।

अब विदेशमा रहेका नेपाली दुतावासहरू ‘प्रोएक्टिभ’ हुनुपर्ने छ । नास आईटी केही समयमा ‘रोड शो’ गर्न अष्ट्रेलिया जाँदैछ । अष्ट्रेलियामा भएको दुतावासले यो हाम्रो कार्यक्रम हो, हामीले गर्नुपर्छ हामीले गर्नुपर्छ भनेर त्यो तहको कमिटमेन्ट र क्लारिटी राख्नुपर्छ । जति हुनुपर्ने हो, त्यति भएको छैन् ।

डिजिटल नेपाल फ्रेमवर्क राम्रो छ । तर कार्यान्वयनको तहमा जुन तहको कमिटमेन्ट र क्लारिटी चाहिने हो, त्यो छैन् । यो समस्या जस्ताको त्यस्तै रह्यो भने डिजिटल नेपाल फ्रेमवर्क २.० को कार्यान्वयनमा पनि जटिलता देखिन्छ । 

आइसिटी भनेपछि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको काम जसरी बुझिरह्यौं भने डिजिटल नेपाल कसरी बन्छ ? डिजिटल नेपाल फ्रेमवर्कमा विभिन्न क्षेत्रहरू छन् तर त्यसलाई सम्बन्धित सबै बोक्न सकेनन् भने कसरी उठ्छ ?

सरकार आइसिटी क्षेत्रलाई नियन्त्रण गर्ने सोचबाट मुक्त भएन भने यसले मद्दत होइन, समस्या मात्रै सिर्जना गर्छ । आइसिटी क्षेत्रले इनोभेट गर्छ । त्यो इन्नोभेसनलाई रोक्ने भन्दा पनि सरकार तिमिले नयाँ काम गर्न लागेछौं मैले कहाँ सहयोग गर्नुपर्ने हो भनेर जानुपर्छ । सरकार त सहजकर्ता हो । सरकारले डन्डा बोकेर नियमन गर्ने नै होइन । 

गएको केही वर्षमा अख्तियारले सबैभन्दा बढी मुद्दा हालेको सूचना प्रविधिमा छ । ५-७ वर्षमा यो क्षेत्रले जुन प्रगति गर्नुपर्ने थियो, त्यहाँ भ्रष्टाचारले बर्बाद गर्‍यो । यहाँ सुशासनमा पनि ठूलो समस्या छ । 
कुनै बेला नेपालको टेलिकम क्षेत्र दक्षिण एशियामा अरूलाई लिड गर्छौं भन्ने अवस्थामा थियो । अहिले कहाँ छौं ? किन टेलिकमको क्षेत्रमा नयाँ प्लेयर आउँन दिदैनौं ? 

अहिले राज्यका एजेन्सीसँग जहाँ नागरिकको भेट हुन्छ, त्यहाँ असन्तुष्टि छ । सरकार चलाउनेको सोच अबको केही वर्षमा सार्वजनिक सेवालाई सम्भव भएसम्म फेसलेस अवधारणामा लैजाने हुनुपर्छ । 

आजको समय ज्ञान अर्थतन्त्रको हो । यस्तो समयमा नेपालको लागि आईटी क्षेत्रभन्दा रणनीतिक प्रतिफल दिने क्षेत्र अर्को छैन् । अब हाम्रो यो गतीले पुद्दैन् । स्पीड बढाउनु पर्नेछ । 

सरकार नियन्त्रणमुखी हुनु हुँदैन् । अब हामीले संरचनागत सुधार पनि गर्नुपर्छ । नियन्त्रणमुखी हुनु हुँदैन् । 

‘स्टार्टअप इन्डिया’ जस्तै ठूलो पैसा स्टार्टअपमा लगाउनु पर्छ । फेल भएपनि हुन्छ, आईडिया छ भने पैसा सरकारले दिन्छ भन्ने वातावरण बनाउनु पर्छ । स्टार्टअप तथा इन्नोभेसनलाई प्राथमिकता दिनुपर्छ । 

गत साउन ३० गते डिजिटल नेपाल कन्क्लेभ २०२५ को पावर प्यानलिष्ट शत्रमा प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले व्यक्त गरेको विचारको सम्पादित अशः