पछिल्लो समय नेपालमा पनि स्याटेलाइट इन्टरनेटको चर्चा बढ्न थालेको छ । विपद्को बेला र दुर्गम ठाउँमा स्याटेलाइट इन्टरनेट एकदमै महत्त्वपूर्ण हुन्छ ।
विगत १ वर्षदेखि क्यासिफिक ब्रोडब्याण्ड स्याटेलाइट ग्रुपले नेपालमा स्याटेलाइट इन्टरनेट सेवा प्रदान गरिरहेको छ ।
क्यासिफिक ब्रोडब्याण्ड स्याटेलाइट ग्रुपको नेपालसहित भूटान, बंगलादेश र म्यानमार कन्ट्री डाइरेक्टर प्रदिप पन्हौरले काम गरिरहेका छन् ।
धेरैको मनमा स्याटेलाइट इन्टरनेट महंगो हुन्छ भन्ने धारणा पनि छ । स्याटेलाइट इन्टरनेट के हो ? के यो महंगो हुन्छ ? किन यसको आवश्यकता पर्छ ? लगायतका विविध पाटोमा रहेर उनै प्रदिप पन्हौरसँग गरिएको कुराकानीको सम्पादित अंशः
क्यासिफिक ब्रोडब्याण्ड स्याटेलाइट इन्टरनेट के हो ?
क्याससिफिक भनेको एउटा जियो स्याटेलाइट ब्रोडब्याण्ड कम्पनी हो । २५ वटा देशहरूमा सेवा दिइरहेका छौं । प्रधान कार्यालयमा सिंगापुरमा रहेको छ । क्यासिफिकको सेवा सस्तो छ । कम्पनीको भ्यालु नै ‘सर्भ टु द अन सर्भ’ रहेको छ । निम्म वर्गीय समुदायलाई हामीले सुपथ मूल्यमा इन्टरनेट सेवा उपलब्ध गराइरहेका छौं ।
क्यासिफिकले समय समय नवप्रर्तनमा समेत जोड दिएको छ । गएको ३ वर्षमा इन्नोभेसनमा हामीले २० बढी सम्मानहरू पाइसकेका छौं । आपतकालीन कनेक्टिभिटी सोलुसनदेखि लिएर मोबाइल सोलुसनसम्म विकास गरेका छौं, जुन इन्नोभेटिभ छ । त्यसले गर्दा अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि हामीले सम्मान पाएका छौं ।
नेपालमा गत वर्षदेखि क्यासिफिकले सेवा सञ्चालनमा ल्याएको छ । अहिले सानो स्केलमा भएपनि भविष्यमा वृद्धि गर्दै लैजाने योजना छ ।
अहिले नेपालको कुन कुन ठाउँमा क्यासिफिकले स्याटेलाइट इन्टरनेट सेवा दिइरहेको छ ?
हामीले पूर्व नेपालदेखि पश्चिम नेपालसम्म सेवा दिन खोजिरहेका छौं । मानिसहरूमा जनचेतनाको पनि कमी छ । स्याटेलाइट भन्ने बित्तिकै महंगो प्रविधि भन्ने जनताको बुझाइ छ । पहिलाको स्याटेलाइटको क्षमता पनि कम हुन्थ्यो र महंगो पनि हुन्थ्यो ।
तर अहिले हामी, के ब्याण्डमा सिफ्ट भएदेखि स्याटेलाइट इन्टरनेट पनि सस्तो भएको छ । के ब्याण्ड स्याटेलाइटको सेवा सस्तो हुन्छ । क्यासिफिकले ताप्लेजुङ, सगरमाथा आधार शिविर, कर्णाली प्रदेश र काठमाडौंमा पनि सेवा दिइरहेका छौं ।
स्याटेलाइट इन्टरनेट सस्तो वा महंगो कस्तो इन्टरनेट हो ?
पछिल्लो समय धेरै चलेको प्रविधि भनेको फाइबर टु होम इन्टरनेट हो । यसको पनि २ वटा प्लान हुन्छ, एउटा होम र अर्को इन्टरप्राइजेज । नेपाल टेलिकमको हेर्दा पनि २ हजारदेखि २४ सय रूपैयाँसम्म प्रति एमबीपीएस डेडिकेटेड इन्टरनेटको शुल्क पर्छ । त्यो भनेको एउटा इन्टरप्राइजले ५० एमबीपीएस इन्टरनेट लिँदा झण्डै एक लाख पर्न जान्छ ।
क्यासिफिकले नेपालमा अहिले इन्टरप्राइज प्रयोगकर्ताहरूलाई लक्षित गरिरहेका छ । जसका लागि ४५ हजारमा ५० एमबीपीएसको प्याकेज दिइरहेका छौं । फाइबरको डेडिकेटड लाइनसँग तुलना गर्दा हाम्रो स्याटेलाइट सेवा सस्तो देखिन्छ । ल्याटेन्सीको कुरा आफ्नो ठाउँमा होला तर शुल्क कुरा गर्दा इन्टरप्राइजको प्याकेजको तुलनामा हामी त्यस्तो महंगो छैनौं ।
यो शुल्कको कुरा भयो । स्पीडको कुरा गर्दा फाइबर र स्याटेलाइट इन्टरनेटमा फरक हुन्छ की हुँदैन् ?
स्पीडको कुरा गर्दा अहिले हामीले एउटा टर्मिनलबाट १ जीबीपीएस इन्टरनेट तान्न सक्छौं । तर सानो एन्टेन (१.२ मिटर) राख्यौं भने १०० एमबीपीएससम्मको इन्टरनेट तान्न सक्छौं । सामान्यतयाः १०० एमबीपीएस भनेको एउटा इन्टरप्राइजको पर्याप्त हुन्छ ।
हामीले त्यसैकारण इन्टरप्राइजका लागि फरक फरक प्याकेज बनाएका छौं । इन्टरप्राइजका लागि हामीसँग २०, २५, ५०, ८० र १०० एमबीपीएस प्लान छ । संस्थाको आकार अनुसार प्याकेज आवश्यकता पर्छ ।
स्पीडको कुरामा फाइबरसँग तुलना गर्दा ल्याटेन्सी अलिकति स्याटेलाइट इन्टरनेटको बढी हुन्छ । तर स्याटेलाइट इन्टरनेट भरपर्दो हुन्छ ।
होम युजरलाई स्याटेलाइट इन्टरनेट सेवा दिन योजना छ की छैन् ?
भविष्यमा होम युजरलाई पनि स्याटेलाइट इन्टरनेट दिन हाम्रो योजना छ । विशेष गरी हाम्रो लक्ष्य भनेको विकटमा दिने हो । विकट गाउँमा स्याटेलाइट सेवा प्रदान गर्न हामीसँग एउटा सोलुसन छ, जसलाई हामी कम्युनिटी वाईफाई भन्छौं ।
विकटमा घर घरमा इन्टरनेट तान्ने क्षमता हुँदैन् । त्यस्तो अवस्थामा त्यहाँका स्थानीयसँग मिलेर कम्युनिटी वाईफाई सेटअप गर्ने र जसरी एनटीसी, एनसेलले रिचार्ज कार्ड बाँड्छन्, त्यसरी नै निश्चित जीबी इन्टरनेट बेच्ने योजना छ ।
त्यसपछि नजिकमा भएको हटस्पटमा गएर आफुलाई आवश्यकता भएको अवस्थामा चलाउन सकिन्छ । त्यसले लायबिलिटिज पनि भएन । घरमा इन्टरनेट राखिसके पछी त चलाउनुस्, नचलाउनुस् पैसा तिर्नुपर्छ । नतिरेमा इन्टरनेट चल्दैन् ।
विभिन्न संघ, संस्थासँग सहकार्य गरेर कम्युनिटी वाईफाईमा काम गर्ने योजना छ । यसअघि नै यो सेवा ल्याउन कोसिस गरेपछि सम्भव भएन । अबको ६ महिनामा २-३ ठाउँमा हामीले यो सेवा सुरू गर्छौं ।
नेपाल जस्तो देशमा स्याटेलाइट इन्टरनेट किन आवश्यक छ ?
पछिल्लो समय फाइबर इन्टरनेटको विस्तार बढिरहेको छ । फाइबर नपुगेको ठाउँमा धेरै इन्टरनेट सेवा प्रदायकले वायरलेस इन्टरनेट सेवा समेत प्रदान गरिरहेका छन् । करिब सबै जिल्लामा फाइबर इन्टरनेट पुग्न थालिसकेको छ तर फाइबर र वायरलेस इन्टरनेट त्यति भरपर्दो हुँदैन् । मर्मत सम्भार आवश्यक परिरहन्छ ।
फाइबर र वायरलेस इन्टरनेटको तुलनामा स्याटेलाइट इन्टरनेट अलि भरपर्दो हुन्छ । स्याटेलाइट इन्टरनेटलाई मर्मत सम्भारको धेरै आवश्यकता पर्दैन् ।
एक ठाउँको फाइबरलाई अर्को ठाउँमा लैजानु पर्यो त्यहाँ पुरै नयाँ रोलआउट गर्नुपर्छ । स्याटेलाइट इन्टरनेटलाई त्यस्तो बाध्यात्मक अवस्था हुँदैन्, जहाँ राख्न पनि पाइयो ।
हाम्रो जस्तो देशमा भन्ने बित्तिकै मर्मत सम्भारका लागि पुग्न सक्ने अवस्था पनि छैन् । त्यसले गर्दा स्याटेलाइट इन्टरनेटको महत्त्व एकदमै छ । स्याटेलाइट इन्टरनेट छोटो समयमै डिप्लोय गर्न पनि सकिन्छ ।
कस्तो कस्तो अवस्थामा स्याटेलाइट इन्टरनेटको प्रयोग गर्न सकिन्छ ?
विश्वका अधिकाश देशहरूमा टेरिस्टोरियल नेटवर्कको ब्याकअपको स्याटेलाइट इन्टरनेट राखिएको हुन्छ । नेपालमा पनि सरकारी तथा निजी क्षेत्रले टेरिस्टोरियल नेटवर्कको ब्याकअपको स्याटेलाइट इन्टरनेट राख्नुपर्छ भन्ने मेरो मान्यता छ ।
विपद्का बेला आपतकालिन सेवा प्रवाहका लागि स्याटेलाइट इन्टरनेट महत्त्वपूर्ण छ । क्यासिफिकले आपतकालिन अवस्थाका लागि भनेर कम्सबक्स सोलुसन विकास गरेको छ । त्यो एउटा डब्बा जस्तो हुन्छ र त्यो चलाउन पनि एकदमै सजिलो हुन्छ ।
स्वीच अन गरेको ढिलोमा १० मिनेटमा इन्टरनेट चलाउन सकिन्छ । बक्समा पावर ब्याकअपको समेत सुविधा हुन्छ । यसका लागि कुनै प्राविधिकको समेत आवश्यकता पर्दैन् । यो वर्ष हामीले त्यस्तो सोलुसनमा ड्रोन पनि हालेका छौं । त्यसले गर्दा भिडियो सर्भिलेन्स गर्न पनि सजिलो हुन्छ । यस बाहेक टेलिमेडिसिनमा पनि यसको प्रयोग गर्न सकिन्छ ।
फाइबर र स्याटेलाइट इन्टरनेटसँगसँगै जान्छन् । यी दुईले एक अर्कालाई विस्थापित गर्ने भन्ने हुँदैन् । फाइबरले पूर्ण रूपमा स्याटेलाइटलाई विस्थापित गर्न सक्दैन् भने स्याटेलाइटले पनि पूर्ण रूपमा फाइबरलाई विस्थापित गर्न सक्दैन् । कसरी प्रयोग गर्ने भन्ने कुरा चाँहि हामीमा भर पर्छ ।
फाइबर र स्याटेलाइट इन्टरनेटले एक अर्कालाई कम्प्लिमेन्ट गर्छन् । ब्याकअप जसलाई पनि चाहिन्छ । विपद्को समयमा झन महत्त्वपूर्ण हुन्छ । कतिपय ठाउँमा फाइबर पुर्याउन एकदमै महंगो हुन्छ । पुर्याइसकेपछि पनि निरन्तर सेवा प्रवाहमा समस्या आउन सक्छ । अहिले इन्टरनेट हाम्रो दैनिकी भइसकेको छ । त्यस्तो ठाउँमा स्याटेलाइट इन्टरनेट राख्न सकिन्छ ।
जसरी नेपालमा टेलिकम सेवा प्रदायकले आफ्नो सेवा दुर्गम क्षेत्रमा विस्तार गर्दै छन् । त्यसलाई स्याटेलाइट ब्याकहल चाहिन्छ । टेलिकमलाई आफ्नो सेवा विस्तार स्याटेलाइट ब्याकहलले ठूलो भूमिका खेल्छ । क्यासिफिकले पनि नेपालका टेलिकमसँग सहकार्य गरेर सुपथ मूल्यमा रिमोट क्षेत्रमा नेटवर्क विस्तार गर्न इच्छुक र त्यसै अनुसार सहकार्य गरिरहेका छौं ।
स्याटेलाइट इन्टरनेटले कसरी काम गर्छ ?
यसका लागि आकाशमा ठूलो स्याटेलाइट राखिएको छ । स्याटेलाइट इन्टरनेट तान्नका लागि यहाँ एउटा अर्थ स्टेशन (एन्टेना) हुन्छ । यहाँबाट आकाशमा भएको स्याटेलाइटमा सिग्नल जान्छ । फेरि त्यहाँबाट त्यो सिग्नललाई टेलिपोर्टसम्म पुर्याउँछ ।
अनि टेलिपोर्टले भ्यालिडेट गर्छ । टेलिपोर्टले भ्यालिडेट गरेपेछि स्याटेलाइट यहाँ इन्टरनेट पठाउँछ । कुनै सिग्नल यहाँबाट स्याटेलाइटसम्म जान्छ र फेरि त्यहाँबाट यहाँ आउँछ । सामान्यतयाः फर्वार्ड र रिटर्नको साइकल हुन्छ ।
स्याटेलाइट इन्टरनेटका चुनौतीहरू के के छन् ?
नेपाल जस्तो देशमा स्याटेलाइट इन्टरनेटका लागि नीतिगत चुनौतीहरू धेरै छन् । कसैले स्याटेलाइट इन्टरनेट प्रयोग गर्नको अनुमति लिन नै ३ महिना लाग्छ । त्यो प्रक्रियालाई छिटो बनाउनु पर्छ ।
फाइबर इन्टरनेट तपाईलाई चाहियो भने १-२ दिनमै जोडिन्छ तर स्याटेलाइट इन्टरनेट जोड्नका लागि अनुमति लिनै ३ महिना लाग्छ । दुर्गम ठाउँमा एउटा व्यक्तिले स्याटेलाइट इन्टरनेट राख्न १०० रूपैयाँ कर तिर्नुपर्छ ।
यो एकदमै सराहनीय छ । तर सुगम ठाउँमा कर अत्याधिक छ । महानगरपालिकामा एउटा प्रयोगकर्ताले २ लाख ५० हजार कर तिर्नुपर्छ । यसलाई पनि घटाउनु पर्छ । साथै दुर्गम ठाउँमा स्याटेलाइट इन्टरनेटलाई अझै सस्तो बनाउन कर घटाउनु पर्छ । सरकारले पनि सम्भाव्यता अध्ययन गरेर आवश्यक पर्ने ठाउँमा स्याटेलाइट इन्टरनेट राख्नका लागि बजेटको व्यवस्थापन गर्नुपर्छ ।
तपाईले नेपालसहित भूटान, बंगलादेश र म्यानमारको हेरिरहनु भएको छ । ती देशमा अनुमति लिने प्रक्रिया कस्तो छ ?
भूटान, बंगलादेश र म्यानमारमा वैकल्पिक इन्टरनेटको रूपमा हेरिएको छ । त्यहाँ कसैले स्याटेलाइट इन्टरनेट राख्न चाह्यो भने नेपालको जस्तो ३ महिना पर्खिनु पर्दैन् । प्रक्रिया छिटो छ । कर पनि नेपालको भन्दा कम छ । स्याटेलाइट इन्टरनेटलाई प्राथमिकता दिएर सब्सिडी दिएको देखिन्छ ।