कीवर्डहरू -

कीटिनी माध्यमिक विद्यालय ललितपुरद्वारा कोडिङ र रोबोटिक्स पाठ्यक्रम सुरु

कीटिनी माध्यमिक विद्यालय ललितपुरद्वारा कोडिङ र रोबोटिक्स पाठ्यक्रम सुरु

तौखेल, गोदावरी–३ मा अवस्थित कीटिनी माध्यमिक विद्यालयले आफ्नो मावि तहका विद्यार्थीहरूका लागि एक वर्ष लामो कोडिङ र रोबोटिक्स पाठ्यक्रम सुरु गर्ने ललितपुर जिल्लाको पहिलो सार्वजनिक विद्यालय बनेको छ ।

यस पहलको एक भागको रूपमा, २५ अक्टोबर २०२४ मा कीटिनी इनोभेसन ल्याबको उद्घाटन जिल्ला गभर्नर रोट्रियन राजेन्द्र मान सर्चन, रोटरी इन्टरनेसनल जिल्ला ३२९२, र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलमुुकुन्द घिमिरेद्वारा संयुक्त रूपमा एक समारोहका बीच गरियो ।

यस कार्यक्रममा रोटरी क्लब अफ यलाका अध्यक्ष रोट्रियन धर्मेन्द्र शाक्य, विद्यालयका प्रधानाध्यापक सरोज के.सी., उप–प्राचार्य दिनेश थापा, अन्य रोटेरियन, शिक्षक, अभिभावकका साथै विद्यार्थीहरूको उपस्थिति थियो । 

कार्यक्रमको क्रममा जिल्ला गभर्नर सर्चनले रोटरी क्लब अफ यलाको अगुवाईमा सुरु गरिएको यस उत्कृष्ट र महत्वपूर्ण पहललाई देखेर अत्यन्त खुशी व्यक्त गरे । उनले यसलाई जिल्ला ३२९२ को आधारभूत शिक्षा कार्यक्रमको एक हिस्सा बनाउनुपर्ने बताउँदै यसका लागि आवश्यक सहयोग परिचालित गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घिमिरेले विद्यालयमा कोडिङ र रोबोटिक्स पाठ्यक्रम ल्याएकोमा रोटेरियनहरूलाई धन्यवाद दिए । उनले यसलाई विद्यार्थीहरूको सिर्जनशीलता बढाउन महत्त्वपूर्ण माने र भविष्यमा पनि रोटरी क्लब अफ यालालाई यो गतिविधि निरन्तरता दिन अनुरोध गरे ताकि विद्यार्थीहरूले आफ्नो भविष्यलाई सुरक्षित गर्न उपयोगी २१औं शताब्दीका सीपहरू सिक्ने अवसरबाट वञ्चित हुनु पर्दैन् ।

रोटरी क्लब अफ यालाले समुदायहरूलाई दिगो परिवर्तनका लागि सेवा गर्ने आफ्नो मिशनबाट प्रेरित भएर यो शैक्षिक वर्षको सुरुदेखि नै कीटिनी माध्यमिक विद्यालयसँगको सहकार्यमा करिब ६० जना मावि तहका विद्यार्थीहरूका लागि कोडिङ र रोबोटिक्सको एक वर्षे प्रारम्भिक कोर्स सुरु गरेको छ ।

यसअघि, गत वर्ष, रोटरी क्लब अफ यालाले गोदावरी नगरपालिकाका तीन वटा सार्वजनिक विद्यालयहरूमा कोडिङ र रोबोटिक्स बुट क्याम्पहरू सञ्चालन गरी यस्ता पाठ्यक्रमहरूको सम्भावित रुचि र सम्भाव्यता मूल्याङ्कन गरेको थियो । यस परियोजना अन्तर्गत कीटिनी इनोभेसन ल्याबको व्यवस्था गरिएको छ जसमा विद्यार्थीहरूले सैद्धान्तिक सीप अभ्यास गर्न, आफ्नो सिर्जनशीलता प्रयोग गर्न र आधुनिक प्रविधिको प्रयोगमार्फत वास्तविक संसारका समस्याहरू समाधान गर्न आवश्यक किट र सामानहरू छन् ।