काठमाडौं । काठमाडौंको बबरमहलस्थित किङ्ग्स कलेज नेपालमा उद्यमशीलता, नवप्रवर्तन र आधुनिक शिक्षालाई जोडेर उच्च शिक्षा प्रदान गर्ने अग्रणी शैक्षिक संस्थामध्ये एक हो । सन् २००३ मा स्थापना भएको कलेजले सुरुआतमा ए लेभल कार्यक्रम सञ्चालन गरेको थियो भने सन् २००९ देखि स्नातक र स्नातकोत्तर तहका कार्यक्रम सञ्चालन गर्दै आएको छ । हाल अमेरिकाको वेस्टक्लिफ युनिभर्सिटीसँगको शैक्षिक सहकार्यमा अन्तर्राष्ट्रियस्तरका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।
किङ्ग्स कलेजको पहिचान केवल डिग्री प्रदान गर्ने संस्थाका रूपमा मात्र सीमित छैन । विद्यार्थीमा उद्यमशील सोच, नेतृत्व क्षमता, समस्या समाधान गर्ने सीप र सामाजिक उत्तरदायित्व विकास गर्ने उद्देश्यका साथ कलेजले आफ्नो शिक्षण प्रणालीलाई तयार गरेको छ । यही कारण कलेजले शिक्षालाई कक्षा कोठाभित्र सीमित नराखी उद्योग, समुदाय र वास्तविक जीवनका अनुभवसँग जोड्ने अभ्यासलाई प्राथमिकता दिएको छ ।
सूचना प्रविधि (आईटी) क्षेत्रमा कलेजले समय सापेक्ष कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्नातक तहमा बीएस आईटी, बीएस कम्प्युटर साइन्स, फिनटेक र डिजिटल मार्केटिङ जस्ता कार्यक्रम अध्ययन गर्न सकिन्छ । त्यस्तै स्नातकोत्तर तहमा एमबीए अन्तर्गत टेक एन्ड इनोभेसन, डेटा एनालिटिक्स र एआई (आर्टिफिसियल इन्टेलिजेन्स) जस्ता विषयमा विशेषज्ञता हासिल गर्ने अवसर उपलब्ध छ । बजारको आवश्यकता अनुसार नयाँ कार्यक्रम थप्ने तयारी पनि कलेजले गरिरहेको छ ।
सन् २०११ तिर बैंकिङ क्षेत्र लोकप्रिय थियो । त्यसबेला किङग्स कलेजका ९० प्रतिशत बढी विद्यार्थी बैंकिङमा गइरहेका थिए । त्यो एउटा गर्वको विषय पनि थियो । तर नरोत्तम अर्याल खासै खुसी थिएनन । ‘देशलाई बैंकर भएर मात्र भएन । धेरै स्रोत साधन र सम्भावना हुँदा हुँदै पनि हामी गरिब छौं,’ अर्याल भन्छन्, ‘हामीलाई चाहिएको उद्यमीहरू हो, जसले स्रोत साधन परिचालन गरेर भ्याल एड गर्न सकोस्, जसलाई म आन्टरप्रेनर्स क्याडर भन्थे ।’
समाजका तमाम समस्याहरूलाई उद्यमशीलमार्फत हल गर्ने उनको सोच थियो । यसमा उनको कुनै विज्ञता भने थिएन । तर आवश्यकता पहिचान भएपछि सन् २०१२ मा कलेजले ‘एमबीए आन्टरप्रेनरसीप’ कोर्ष सुरू गर्यो । अनि, उद्यमशीलतामार्फत समाजको रूपान्तरण गर्ने मिसनसहित किङ्गस कलेज अगाडि बढिरहेको छ भने शिक्षालाई समाज (समुदाय) र उद्यमशीलतासँग जोड्ने काम गरिरहेको छ ।
अर्को कुरा किङ्ग्समा पढ्नलाई राम्रो अंक पनि ल्याउनु पर्दैन् । अघिल्लो कक्षामा पास मात्रै भए पुग्छ । ‘हाम्रोमा पढ्नलाई यति ग्रेड आएको हुनुपर्ने, यति प्रतिशत आएको हुनुपर्ने, अंग्रेजी राम्रो हुनुपर्ने केही मापदण्ड छैन्,’ अर्यालले भने, ‘हिजोले भोलिलाई सधैं परिभाषित गर्न मिल्छ ? पास भएपछि कम्तिमा अप्लाई त गर्न पाउनु पर्यो नि, विद्यार्थीले ।’
सबै व्यक्ति पढाइमा राम्रो हुन्छन् भन्ने छैन् । सबैको क्षमता फरक फरक हुन्छ । कुनै व्यक्ति राम्रो कलाकार, सामाजिक अभियान्ता वा उद्यमी हुन सक्छ । कसैको नेपाली राम्रो हुन सक्छ । कसैको अंग्रेजी राम्रो हुन सक्छ ।
‘अंग्रेजी राम्रो छैन् भन्दैमा किन दण्डित गर्ने ? त्यसो भए जापानीज, चाइनिज, जर्मनीजले पढ्नै नपाउनु पर्ने हो ? केही गर्ने नसक्नु पर्ने हो ?’, अर्याल अगाडि थप्छन्, ‘सबैको क्षमताको कदर गर्नुपर्छ । सुरूमै ग्रेड वा अंक राम्रो नभएकै कारण पढ्नबाट बञ्चित गर्नु हुँदैन् ।’ अर्यालले भने।
किङ्ग्स कलेजको अर्को विशेषता यसको सिकाइ प्रणाली हो । यहाँ परम्परागत तीन घण्टे अन्तिम परीक्षामा मात्र निर्भर नबसी कन्टिन्युअस एसेसमेन्ट अर्थात् निरन्तर मूल्याङ्कन प्रणाली अपनाइएको छ । विद्यार्थीको सिकाइलाई परियोजना, प्रस्तुति, अनुसन्धान, कक्षा सहभागिता र व्यावहारिक कार्यमार्फत मूल्याङ्कन गरिन्छ । यसले विद्यार्थीलाई परीक्षा केन्द्रित नभई सीप केन्द्रित बनाउन सहयोग पुर्याउने कलेजको विश्वास छ ।
‘यो शिक्षाको सानो डायमेन्सन मात्रै हो । पूर्ण शिक्षा हुनलाई अनुभव, सोचाइ व्यावहारिक प्रयोग, रिड एण्ड राइट पनि हुनुपर्छ,’ उनले आइसिटी समाचारसँग भने, ‘हाम्रो शिक्षामा सोचाइ र फरक छ ।’
विद्यालयहरूले ग्रेड धेरै आउने विद्यार्थीको फोटो टास्नेदेखि पत्रिकामा विज्ञापन निकाल्नेसम्म गर्दै आएका छन् । ‘मार्क्स’ ल्याउनु नराम्रो नभएपनि सबै चिजको सेलिब्रेट गर्नुपर्ने उनको धारणा छ । उनी भन्छन्, ‘राम्रो खेल खेल्ने, राम्रो गिटार बजाउने, राम्रो समाजसेवा गर्ने, राम्रो उद्यमी सबैको फोटो सेलिब्रेट गर्नुपर्छ ।’
प्रविधिमैत्री शिक्षामा जोड दिँदै कलेजले धेरै वर्षअघि नै लर्निङ म्यानेजमेन्ट सिस्टम (एलएमएस) लागू गरेको थियो । डिजिटल सिकाइ, अनलाइन स्रोत र मिश्रित शिक्षण प्रणालीमार्फत विद्यार्थीलाई समयअनुकूल अध्ययन वातावरण उपलब्ध गराइएको छ ।
भर्नाका लागि कलेजले अंक वा ग्रेडलाई मात्र आधार नबनाई विद्यार्थीको सम्भावना र सिक्ने इच्छालाई प्राथमिकता दिने नीति अपनाएको छ । कलेजका अध्यक्ष तथा प्रिन्सिपल नरोत्तम अर्यालका अनुसार राम्रो शिक्षा सबैका लागि पहुँचयोग्य हुनुपर्छ र विद्यार्थीलाई सुरुमै प्राप्त अंकका आधारमा अवसरबाट वञ्चित गर्नु उचित हुँदैन।

उद्यमशीलता किङ्ग्स कलेजको मूल दर्शन हो । यही सोचका साथ कलेजले विद्यार्थीलाई आफ्नै व्यवसायिक अवधारणा विकास गर्न, सामाजिक समस्या समाधान गर्ने परियोजनामा काम गर्न तथा उद्योगसँग प्रत्यक्ष सहकार्य गर्न प्रोत्साहित गर्दै आएको छ । कलेजका विभिन्न कार्यक्रम, कार्यशाला, उद्योगसँगको सहकार्य तथा स्टार्टअप गतिविधिले विद्यार्थीलाई अध्ययनसँगै व्यावसायिक संसारका लागि तयार पार्ने लक्ष्य राख्छन् ।
कलेजले विद्यार्थीको समग्र विकासलाई प्राथमिकतामा राख्दै नेतृत्व, सञ्चार, समालोचनात्मक सोच, टोलीमा काम गर्ने क्षमता र सामाजिक चेतनाको विकासमा समेत जोड दिएको छ । किङ्ग्स कलेजका अनुसार शिक्षा केवल डिग्री हासिल गर्ने माध्यम नभई व्यक्तिको क्षमता पहिचान गर्ने, समाज बुझ्ने र परिवर्तनको नेतृत्व गर्ने आधार बन्नुपर्छ ।
अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रम, प्रविधिमैत्री सिकाइ, उद्योगसँगको सहकार्य र उद्यमशीलता केन्द्रित शिक्षण पद्धतिका कारण किङ्ग्स कलेज नेपालमा आधुनिक उच्च शिक्षा खोज्ने विद्यार्थीका लागि आकर्षक शैक्षिक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।
स्नेहा झा