हाइड्रोजन स्पेस्लाइज्ड कोरियाली कम्पनी जी फिलोसले नेपालमा ग्रीन हाइड्रोजन उत्पादन र फ्युल सेल प्लान्ट स्थापना गर्न लगानी बोर्डमा प्रस्ताव गरेको छ ।
जी फिलोसले नेपालमा २० मेगावाटसम्मको हरित हाइड्रोजन उत्पादनको पाइलट प्लाटन्ट र फ्युल सेल प्लान्ट स्थापना गर्ने गरी बोर्डमा प्रस्ताव गरेको हो ।
कम्पनीले २०८२ वैशाख १५ गते बोर्डमा पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदन पेश गरेको थियो । त्यसपछि बोर्डको ६३ औं बैठकले जी फिलोसलाई विस्तृत सम्भाव्यता अध्ययन गर्न अनुमति प्रदान गरेको छ ।
हाइड्रोजन परीक्षण परियोजना र फ्युल सेल प्लान्ट स्थापनाको लागि विस्तृत सम्भाव्यता अध्ययन गर्न जी फिलोसलाई स्वीकृति प्रदान गरिएको लगानी बोर्डको कार्यालयका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले बताए ।
अब जी फिलोसले जलविद्युतबाट हरित हाइड्रोजनको ठूला मात्रामा उत्पादनको लागि पर्याप्त छ कि छैन्, यातायात, उद्योग, र ऊर्जा भण्डारण लगायतका क्षेत्रहरूमा देशभित्रको सम्भावित माग तथा क्षेत्रीय बजारहरूमा निर्यात सम्भाव्यता, लगानी, खर्च, पर्यावरणीय र सामाजिक प्रभाव, नीति तथा कानुनहरू अध्ययन, पाइलट परियोजनाको कार्यान्वयन, विस्तार सम्भाव्यता लगायत विस्तृत अध्ययन गरेर विस्तृत अध्ययन गरेर बोर्डमा बुझाउने छ ।
विस्तृत सम्भाव्यता अध्ययन भएपछि बोर्डले स्वीस च्यालेन्जमार्फत अगाडि बढाउन उपयुक्त छ कि छैन् समन्वय र सहजीकरण गर्न लगानी बोर्डका सह-सचिव (प्राविधि) को संयोजकत्वमा समिति समेत गठन गरिएको छ । स्वीस च्यालेन्जमार्फत अगाडि बढाउन उपयुक्त देखिएमा बोर्डले प्रतिस्पर्धाबाट अगाडि बढाउन आह्वान गर्नेछ । त्यसपछि प्रतिस्पर्धाका आधारमा उक्त परियोजना अगाडि बढाइने छ ।
‘नेपालको हाइड्रोजन भविष्यमा विश्वबजारमा बिक्री हुन्छ, आजैदेखि काम थाल्नु पर्छ’
कम्पनीले नेपालको प्रशस्त जलविद्युत स्रोतबाट उत्पन्न अतिरिक्त विद्युत समेत प्रयोग गरी इलेक्ट्रोलाइसिस विधिमार्फत हरित हाइड्रोजन उत्पादन गर्ने लक्ष्य राखेको छ ।
हाइड्रोजन उत्पादन पानीको अणु (H₂O) लाई इलेक्ट्रोलाइजर प्रयोग गरी हाइड्रोजन (H₂) र अक्सिजन (O₂) मा विभाजन गरेर गरिने र यस प्रक्रिया सचालन गर्न आवश्यक विद्युत विद्यमान तथा निर्माणाधीन जलविद्युत आयोजना मार्फत आपूर्ति गरिने प्रस्तावमा बताइएको छ ।
उल्लेखित परियोजना चरणबद्ध रूपमा विस्तार गर्न मिल्ने मोडेलका रूपमा डिजाइन गरिएको छ । सुरूवातमा २० मेगावाट क्षमताबाट हाइड्रोजन उत्पादन सुरु गरिने र भविष्यमा बजारको माग तथा सरकारी नीति अनुसार भविष्यमा थप विस्तार गरिने प्रस्तावमा उल्लेख गरिएको उपाध्यायको भनाइ छ ।
उक्त कम्पनीले राखेको प्रस्ताव अनुरुप उत्पादन हुने हरित हाइड्रोजन उद्योग (जस्तै मल तथा स्टील उत्पादन), अमोनियम नाइट्रेट निर्माण र ऊर्जा भण्डारण प्रणालीहरूमा प्रयोग गरिने तथा भारत तथा चीन जस्ता छिमेकी मुलुकहरूमा निर्यात गर्ने उदेश्य राखेको छ ।
ग्रीन हाइड्रोजनमा नेपालको सम्भावना
हाइड्रोजनलाई भविष्यको उर्जाको रूपमा लिइएको छ । पछिल्लो समयमा प्रविधिमा भएको विकासले विश्वव्यापी रूपमा हाइड्रोजनको उत्पादन र प्रयोगलाई नयाँ आयाम प्रदान गरेको अवस्था छ ।
नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष जनाएको शून्य कार्बन उत्सर्जनको प्रतिबद्धता पूरा गर्न ग्रीन हाइड्रोजन ऊर्जाको उत्पादन र प्रयोगले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।
विश्न नै अहिले जीवाश्म इन्धनलाई ग्रीन हाइड्रोजनले प्रतिस्थापन गर्ने दिशामा अगाडि बढेको छ । हाइड्रोजन उत्पादनमा विकसित देशहरूले ठूला ठूला लगानी गरिरहेका छन् ।
हाइड्रोजनको व्यवसायिक उत्पादन गर्ने बाटो खुल्यो, पीपीए गर्नु नपर्ने र ह्विलिङ चार्ज नलाग्ने
भविष्यमा विश्वभर हाइड्रोजनको माग बढ्ने र नेपालले सस्तोमा हाइड्रोजन विदेशमा निर्यात गर्न सक्ने काठमाडौं विश्वविद्यालयको ग्रीन हाइड्रोजन ल्याबका प्रमुख डा. विराज सिंह थापा बताउँछन् ।
‘अबको १० वर्षसम्ममा विश्वलाई ठूलो परिमाणमा ग्रीन हाइड्रोजन चाहिनेवाला छ । यस सन्दर्भमा, हाइड्रोजन सस्तोमा कहाँ पाइन्छ ? भनेर धेरै खोजहरू भइरहेका छन् । सस्तो हाइड्रोजन पाइने मुलुकको सूचीमा नेपाल अग्रपङ्तिमा छ,’ थापाले केही समय अगाडि आइसिटी समाचारसँगको कुराकानीमा भनेका थिए, ‘अहिलेदेखि नै काम सुरू गरेर हाइड्रोजन निर्यात गर्न सकियो भने त्यसले देशको अर्थतन्त्रमा ठूलो योगदान गर्नेछ ।’
यसअघि काठमाडौं विश्वविद्यालयले नेपालमै पहिलो पटक हाइड्रोजन कार ल्याएर हाइड्रोजन उत्पादन र रिफिलिङ स्टेशनको सफल परीक्षण गरिसकेको छ ।
नेपालमा प्रचुर मात्रामा उपलब्ध जलविद्युत् प्रयोग गरी ग्रीन हाइड्रोजन उत्पादन र यसको प्रयोगबाट एमोनिया रासायनिक मल उत्पादन तथा यसको सहउत्पादन निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सक्छ ।
रासायनिक मल आयातमा ठुलो मात्रामा विदेशी मुद्रा मुलुक बाहिर गइरहेको अवस्थाबाट मुक्त हुन सकिन्छ ।