कीवर्डहरू -

डेटा एक्सचेन्ज नहुँदा सरकारी सेवा लिन सास्ती, पटक पटक एउटै विवरण दिनुपर्ने झन्झट

डेटा एक्सचेन्ज नहुँदा सरकारी सेवा लिन सास्ती, पटक पटक एउटै विवरण दिनुपर्ने झन्झट

सरकारी सेवा लिन अहिले पटक पटक एउटै व्यक्तिगत विवरण पेश गर्नुपर्ने झन्झट छ । यसले गर्दा समय र लागत दुवै बढिरहेको अवस्था छ । सरकारसँग सबै नागरिकहरूको विवरण छ ।

विभिन्न सरकारी निकायहरूले आफ्नै तरिकाले डेटा संकलन गरिरहेका छन् । तर ती निकायबीच नै डेटा एक्सचेन्ज नहुँदा नागरिकले हरेक निकायमा पटक पटक एउटै विवरण बुझाउनु पर्ने बाध्यता छ । निकायपिच्छे व्यक्तिगत डेटा दिइरहनु झन्झटले गर्दा सेवाग्राहीले ठूलो सास्ती भोगिरहनु परेको यर्थाथ हामीसामु छ ।

अनलाइन सेवा पनि पूर्ण अनलाइन छैन् । कुनै न कुनै रूपमा भौतिक रूपमा उपस्थित हुनुपर्ने अवस्था छ । यी सबै समस्या समाधान गर्ने र कागजरहित सेवालाई सम्भव बनाउने उपाय हो, डेटा एक्सचेन्ज प्लेटफर्म । डेटा एक्सचेन्ज प्लेटफर्म निर्माण भएपछि सरकारी सेवा लिँदा पटक–पटक व्यक्तिगत विवरण बुझाउनुपर्ने बाध्यता हट्ने छ भने सार्वजनिक सेवा प्रवाह छिटो, छरितो र पारदर्शी हुनेछ । 

सरकारले पटक पटक कागजरहित सेवा प्रवाह गर्ने घोषणा गरिरहेको छ । तर डेटा एक्सचेन्ज प्लेटफर्म बिना कागजरहित सेवा दिन सम्भव छैन् । अहिले ई-गर्भेन्स बोर्डले अहिले डेटा एक्सचेन्ज प्लेटफर्म निर्माण गर्ने कार्यलाई अगाडि बढाउन खोजिरहेको छ । केही महिना अगाडि मात्रै विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश २०७९ मा पहिलो संशोधन गर्दै सरकारले डेटा एक्सचेञ्ज प्लेटफर्म स्थापना गर्ने जिम्मेवारी बोर्डलाई सुम्पिएको थियो । 

नेपालमा कस्तो खालको डेटा एक्सचेन्ज प्लेटफर्म आवश्यक पर्छ भनेर ३ जनाको समिति गठन गरेर काम अघि बढाएको विद्युतीय सुशासन बोर्डका सीईओ दिपेश विष्टले जानकारी दिए । ‘नेपाललाई कस्तो किसिमको डेटा एक्सचेन्ज प्लेटफर्म चाहिन्छ भनेर थाहा छैन् । त्यसैकारण हामी अहिले एउटा अध्ययन गर्दै छौ,’ विष्टले आईसीटी समाचारसँग भने, ‘अध्ययन गर्नको लागि तीन जनाको समिति पनि बनेको छ । कस्तो डेटा एक्सचेन्स प्लाटफर्म बनाउने भनेर त्यसले पनि एउटा दिशा निर्देश गर्नेछ।’

दिपेश विष्ट

नेपालमा डेटा एक्सचेन्ज प्ल्याटफर्म चाहिन्छ भन्ने कुरा राजनीतिज्ञदेखि कर्मचारीतन्त्र सबैले महशुस गरेका छन् । महशुस गरेपनि काम अगाडि बढ्न सकिरहेको थिएन । अब बढ्ने आशा गरिएको छ । बोर्डले ई-गर्नेन्स ब्लुप्रिन्टको मस्यौदामा पनि डेटा एक्सचेन्ज प्लेटफर्म र कुनै पनि व्यक्तिको डेटा एकपटक मात्रै संकलन गर्न पाउने प्रावधान राखेको छ ।  

किन आवश्यक छ डेटा एक्सचेन्ज प्लेटफर्म ? 

सार्वजनिक सेवा प्रवाहलाई सरल बनाउने महत्त्वपूर्ण छडी हो, डेटा एक्सचेन्ज प्लेटफर्म । अहिले नेपालमा नागरिक एपले केही हदसम्म डेटा एक्सचेन्जको काम गरिरहेको छ । तर त्यो अपुरो छ । 
एउटा सरकारी निकायसँग भएको डेटा अर्को निकायसँग आदान प्रदान नहुँदा नागरिकहरूले सास्ती भोग्नु परिरहेको छ ।

कुनै पनि सरकारी निकायलाई सेवा प्रवाहका क्रममा व्यक्तिको नागरिकता भेरिफाइ गर्नुपर्‍यो भने त्यस निकायले गृह मन्त्रालयसँग डेटा माग्न सक्छ । किनकी हाम्रो नागरिकरको डेटा गृहमन्त्रालयसँग छ । सेवाग्राहीसँग नागरिकताको सक्कल कपी वा फोटोकपी किन माग्नुपर्‍यो ? यो सबै डेटा आदान प्रदान नभएर हो । 

डेटा एक्सचेन्ज प्लेटफर्मले नेपालको डिजिटल रूपान्तरणमा ‘जादु’को काम गर्न सक्ने विष्ट बताउँछन् । ‘हामीले डिजिटल सरकारको कुरा गरिरहेका छौं । डिजिटल सरकार त्यतिबेला साकार हुन्छ, जतिबेला सेवा दिनलाई सरकार नागरिककोमा पुग्छ । यसलाई ‘प्रोएक्टिभ गभर्मेन्ट’ भनिन्छ,’ उनी भन्छन्, ‘जब डेटा एक्सचेन्ज प्लेटफर्म बन्छ, तब मात्रै सरकार नागरिककोमा गएर सेवा दिन सक्छ । डेटा एक्सचेन्जले नेपालमा ठूलो रूपान्तरण ल्याउँछ । सेवा प्रवाहमा जादुको काम गर्छ ।’

डेटाको सबैभन्दा ठूलो नै उत्पादक सरकार हो । सरकारसँग नागरिकता, पासपोर्ट, बजेट, कर, आम्दानी, हेल्थ, यातायात लगायतका विभिन्न डाटा छन् । यी डेटालाई एक अर्काबीच आदान प्रदान गर्न सकेमा सेवा प्रवाहमा ठूलो कायपलट हुन्छ । पूर्ण पेपरलेस युगको सुरूवात हुन्छ । 

आइसिटी विज्ञ तथा उच्चस्तरीय सूचना प्रविधि आयोगका पूर्व उपाध्यक्ष मनोहर भट्टराईले पनि नेपालमा डेटा एक्सचेन्ज प्लेटफर्म आवश्यक भइसकेको बताए । ‘आईटीबाट त्यतिबेला मात्रै फाइदा लिन सकिन्छ, जतिबेला डेटा आदान प्रदान हुन्छ,’ उनले आइसिटी समाचारसँग भने, ‘विद्युतीय सुशासन र पूर्वाधामा गरिएको लगानीबाट फाइदा लिन डेटा एक्सचेन्ज प्लेटफर्म अति आवश्यक छ ।’ 

मनोहर भट्टराई

संघीय सरकारदेखि स्थानीय सरकारसम्मले आ-आफ्नै हिसाबले डेटा संकलन गरिरहेका छन् । डेटा डुप्लिकेसन भइरहेको छ । एउटै व्यक्तिको डेटा पटक पटक संकलन भइरहेको छ । डेटा संकलन भएको छ तर त्यसको उचित प्रयोग भएको छैन् । जब डेटा आदान प्रदान हुन थाल्छ, तब त्यसको उचित प्रयोग पनि हुन थाल्छ ।

सेवा प्रवाहमा रूपान्तरण देखिन थाल्छ । नागरिकले पनि सास्ती पाउन छोड्छन् । डेटा आदान प्रदान हुन थालेपछि समय र लागत पनि घट्छ । सेवा लिन कार्यालयसम्म पुग्नुपर्ने झन्झट हुन्छ । अनि फोटोकपी गर्दा हुने खर्च र त्यसले वातावरणमा पार्ने असर समेत कम हुन्छ । अहिले नाम मात्रको अनलाइन सेवा छ । कुनै न कुनै रूपमा भौतिक रूपमा उपस्थित हुनुपर्ने खालको अधिंकाश अनलाइन सेवा छ । 

आइसिटी विज्ञ हेमपाल श्रेष्ठले सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउन डेटा एक्सचेन्ज प्लेटफर्म आवश्यक बताउँछन् । ई-गर्भेन्समा उल्लेख्य सफलता हासिल गरेको देश इस्टोनियामा डेटा एक्सचेन्ज प्लेटफर्मको रूपमा ‘एक्स रोड’ रहेको छ । हाम्रै छिमेकी देश भारतमा पनि ‘डिजिलकर’ भनेर डेटा एक्सचेन्ज प्लेटफर्म रहेको छ । अन्य देशहरूले पनि आवश्यकता अनुसार डेटा एक्सचेन्ज प्लेटफर्म बनाएका छन् ।

हेमपाल श्रेष्ठ

नेपालले बनाउने डेटा एक्सचेन्ज प्लेटफर्म छिमेकी देशको सिस्टमसँग पनि जोड्न सकिन्छ । केही समय अगाडि मात्रै भारतका लागि नेपाली राजदुरतले भारतको आधार कार्डलाई नेपालको नागरिक एपसँग जोड्ने जानकारी दिएका थिए । 

मानौं, पुशपतिनाथमा दर्शन गर्न आएको कुनै व्यक्ति विरामी भयो भने उक्त व्यक्तिको डेटा एक्सचेन्ज हुँदा उपचारमा छिटो र सहज हुन्छ । अस्पतालले उसको ब्लडग्रुप किन जाँच गर्ने ? एक्सरे किन गर्ने ? त्यहाँबाट डेटा लिन सकिन्छ । यो कुरा नेपालीहरू भारतमा उपचार गर्न जाँदा पनि लागु हुनुपर्छ ।

डेटा एक्चेन्ज प्ल्याटफर्मले देश भित्र मात्र नभएर विदेशमा पनि डेटा एक्सचेन्जको काम गर्नेगरी बोर्डले प्रारम्भिक रूपमा कल्पना गरेको सीईओ विष्टले जानकारी दिए । अहिले भारतसँग भएको क्रस बोर्डर डिजिटल भुक्तानीले भारतमा जाने नेपाली पर्यटक र नेपाल आउने भारतीय पर्यटकलाई धेरै सहज भएको छ । अन्य काममा पनि डेटा एक्सचेन्ज हुन थाल्यो भने धेरै सहज हुनेछ । 

डेटा एक्सचेन्ज नीति आवश्यक 

नेपालमा डेटा एक्सचेन्ज प्लेटफर्म आवश्यक भएको कुरामा कुनै दुईमत छैन् । तर डेटा आदान प्रदान कसरी गर्ने ? कस्तो नीति अपनाउने भन्ने कुरामा भने ध्यान दिनु आवश्यक छ । आइसिटी विज्ञ मनोहर कुमार भट्टराई पनि डेटा आदान प्रदान प्लेटफर्मसँगै डेटा एक्सचेन्ज नीति र नियमावली पनि बनाउनु पर्ने बताउँछन् । 

अहिले एउटा सरकारी निकायसँग भएको डेटा अर्को सरकारी निकायसँग आदान प्रदान हुन गरेको छैन् । एक हिसाबले भन्नुपर्दा डेटा लुकाएर राख्ने चलन छ । आइसिटी विज्ञ डेटाको संवेदनशीलता बुझेर कहाँ र कसरी प्रयोग तथा आदान प्रदान गर्ने त्यसका लागि आवश्यक कानुनी प्रबन्ध गर्नुपर्ने श्रेष्ठको भनाइ छ ।

यस्तै ई-गभर्नेन्स बोर्डका सीईओ दिपेश विष्ट पनि डेटा एक्सचेन्जका लागि कानुनी रूपमा केही अप्ठ्यारा रहेको र संशोधन गरेर अगाडि बढ्नुपर्ने बताउँछन् । 

प्रारम्भिक रूपमा ई-गभर्नेन्स बोर्डले कल्पना गरेको डेटा एक्सचेन्ज प्लेटफर्म डिसेन्ट्रलाइज्ड हो । जुन निकायसँग अहिले डेटा छन्, त्यो डेटा दिनु पर्दैन । आफ्नो डेटालाई सुरक्षित बनाएर राख्ने हो । तर मागेको बेला दिनुपर्छ ।