लेनोभोले नेपालमा योगा स्लिम ७ आई औरा एडिसन सार्वजनिक गरेको छ । नागमणी इन्टरनेशनलसँगको सहकार्यमा सार्वजनिक गरिएको यो प्रिमियम ल्यापटप अत्याधुनिक प्रविधि र नवप्रवर्तनमार्फत प्रयोगकर्ताको अनुभवलाई उचाइमा पुर्याउने लक्ष्य राखेर डिजाइन गरिएको छ ।
इन्टेलसँग मिलेर सह–निर्मित यो उत्पादनले आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन र फिचरहरूको समायोजन गर्दै व्यवसायिक, सिर्जनात्मक, कोडिङ गर्ने र दैनिक प्रयोगकर्ताहरूको आवश्यकता पूरा गर्न सक्षम रहेको कम्पनीको भनाइ छ ।
यो ल्यापटपले एआई–समर्थित प्रविधिको उपयोग गर्दै कम्प्युटिङ अनुभवलाई नयाँ उचाइमा पुर्याएको बताइएको छ । इन्टेल कोर अल्ट्रा प्रोसेसर (सिरीज २) सँग सुसज्जित यसले १८ घण्टाभन्दा बढी ब्याट्री लाइफ प्रदान गर्न सक्ने बताइएको छ ।
८–कोर हाइब्रिड आर्किटेक्चर, शक्तिशाली ्जीपीयू, र स्मार्ट एनपीयू (४०+ टप्स) ले एकै समयमा मल्टिटास्किङ र जटिल कार्यहरू सजिलै पूरा गर्न सक्ने क्षमता प्रदान गर्दछ । यसमा ३२ जीबी सम्म ८५३३ मेगाहर्जको र्याम र १ टिबीको एसएसडी स्टोरेजको विकल्प उपलब्ध छ, जसले ठूला फाइल र मागयुक्त एप्लिकेसनहरू सहज रूपमा सञ्चालन गर्न सक्षम बनाउँछ ।
माइक्रोसफ्टका नवीनतम सुधारहरू र कोपाईलट+ को सहयोगमा प्रयोगकर्ताले अफलाइन अवस्थामै उत्पादनशीलता र सिर्जनशीलताका लागि ठूला भाषा मोडेल (एलएलएम) प्रयोग गर्न सक्नेछन् ।
साथै, बजेट अनुकूल गेमिङ ल्यापटप खोज्नेहरूका लागि लेनोभोले एलओक्यू एसेंशियल पनि सार्वजनिक गरेको छ । १२औँ जेन इन्टेल कोर प्रोसेसर र ३० तथा ४० सिरीजका एनभीडीया जीफोर्स आरटिएक्स ग्राफिक्सले यसलाई अध्ययन र खेल दुवैका लागि शक्तिशाली बनाएको छ । यो ल्यापटपले बजेटमै उच्च प्रदर्शन प्रदान गर्दै विद्यार्थी गेमर र पहिलो पटक गेम खेल्नेहरूको आवश्यकतालाई सम्बोधन गर्दछ ।
नागमणी इन्टरनेशनलका प्रबन्ध निर्देशक अमित साराफले दशकभन्दा लामो समयदेखि आईटी वितरणमा विश्वासिलो नामका रूपमा स्थापित भएको बताउँदै यो कार्यक्रम हाम्रो साझेदार र नेपालको प्रविधि उत्साहीप्रतिको प्रतिबद्धताको प्रतीक भएको जानकारी दिए ।