काठमाडौं । इन्स्टाग्रामले आफ्नो टिभी एपलाई अझ धेरै प्रयोगकर्तामाझ पुर्याउने उद्देश्यसहित नयाँ फर्म्याटहरू परीक्षण गरिरहेको छ । कम्पनीले लामो भिडियो, बहु-एपिसोड सिरिज तथा लाइभ टिभी जस्ता सामाग्री समावेश गर्ने योजना बनाएको छ ।
यसैबीच, मेटाले इन्स्टाग्राम र फेसबुकमा ‘Series’ फिचरको पनि परीक्षण गरिरहेको छ, जसले सिरिजात्मक सामग्री हेर्न र व्यवस्थापन गर्न प्रयोगकर्तालाई थप सहज बनाउनेछ ।
यी नयाँ सुविधासँगै इन्स्टाग्रामले अब टिकटक र युट्युब मात्र होइन, Netflix र Amazon Prime Video जस्ता स्ट्रिमिङ सेवासँग समेत प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको छ । कम्पनीले विशेष गरी लिभिङ रुममा टिभीमार्फत सामाग्री हेर्ने प्रयोगकर्तालाई लक्षित गर्दै आफ्नो पहुँच विस्तार गर्न खोजेको हो ।
इन्स्टाग्राम टिभी एप अब Samsung TV मा पनि उपलब्ध हुने भएको छ । यसअघि नै यो एप Amazon Fire TV र Google TV मा प्रयोग गर्न सकिने व्यवस्था रहेको छ । कम्पनीले आफ्नो टिभी एपमा च्यानल प्रणाली, मोबाइलबाट टिभीमा सामाग्री कास्ट गर्ने सुविधा तथा होरिजोन्टल भिडियो हेर्न मिल्ने नयाँ फिचरहरू पनि ल्याउने तयारी गरेको छ ।
यी सुविधामार्फत प्रयोगकर्ताले आफ्नो रुचिअनुसारका भिडियो तथा मनपर्ने क्रिएटरका च्यानलहरू सहज रूपमा हेर्न सक्नेछन् । टिभीमा अझ राम्रो अनुभव प्रदान गर्न छुट्टै होरिजोन्टल भिडियो सेक्सनको समेत परीक्षण भइरहेको छ ।
अब प्रयोगकर्ताले आफ्नो फोनबाट Reels र Saved ट्याबमा रहेका भिडियोहरू सिधै टिभीमा कास्ट गर्न सक्नेछन् । साथै, टिभी एपमा अन्य प्रयोगकर्ताका Stories पनि हेर्न मिल्ने सुविधा थपिने भएको छ । यसअघि टिभी एपमा मुख्यत: Reels मात्र हेर्न सकिने व्यवस्था थियो ।
आईसीटी समाचार