कीवर्डहरू -

फुड डेलिभरीमा ‘क्रान्ति’ ल्याउने मनोहर

फुड डेलिभरीमा ‘क्रान्ति’ ल्याउने मनोहर
मनोहर अधिकारी

सन् २०१० तिर नेपालीहरू स्मार्टफोन र इन्टरनेटसँग भर्खर भर्खर परिचित हुन थालेका थिए । एकदमै कम व्यक्तिसँग मात्र इन्टरनेट र स्मार्टफोनको पहुँच थियो । 

झन अनलाइन व्यवसाय त नेपालीका लागि अनौठो कल्पना नै थियो । यस्तो अवस्थामा काठमाडौंका मनोहर अधिकारीले अनलाइन व्यवसाय सुरू गर्ने अठोट लिए । 

आईडिया, अठोट र दृढ इच्छाशक्तिले सन् २०१० मा सुरू भयो नेपालकै पहिलो अनलाइन फुड डेलिभरी प्लेटफर्म ‘फुडमाण्डु’ । जतिबेला विश्वभर नै अनलाइन फुड डेलिभरी भर्खर भर्खर सुरू हुन थालेको थियो । 

अमेरिकी आईटी कम्पनी डिटुहकाईको नेपाल कार्यालयमा काम गर्दा फुडमाण्डुको अवधारणा मनोहरको दिमागमा आएको थियो । सन् २००४ देखि सन् २००६ सम्म उनले डिटुहकाईको नेपाल कार्यालय विशालनगरमा काम गरेका थिए ।

काम गर्दा प्राय जसो लञ्च आवर (खाना/खाजा खाने समय) मा के खाने, कहाँ खाने ? भन्ने समस्या हुन्थ्यो । वरिपरि खासै रेष्टुरेन्ट पनि थिएनन् । अफिसबाट नजिकको रेष्टुरेन्टमा जान हिडेर १०-१५ मिनेट लाग्थ्यो । त्यो बेला बालुवाटर र बालाजु चोकमा थियो रेष्टुरेन्ट । त्यो समस्या आफ्नो मात्र नभएर धेरै जनाको भएको उनलाई त्यतिबेला नै लागिसकेको थियो । 

यत्तिकैमा डिटुहकाईमा २ वर्ष काम गरेपछि आफ्नै सफ्टवेयर आउटसोर्सिङ कम्पनी ‘स्टर्डी सफ्टवेयर सोलुसन’ स्थापना गरेर काम गर्न थाले । सन् २०१० सम्म आउँदा मनोहरलाई आफ्नै प्रडक्टमा काम गर्नुपर्छ भन्ने लागिसकेको थियो । विभिन्न आईडियाहरू समेत आईरहेका थिए ।

प्रविधिमै काम गरिरहेका उनलाई प्रडक्ट पनि प्रविधि जोडेरै बनाउन मन थियो । डिटुहकाईमा काम गर्दा भोगेको समस्यालाई ‘इन्नोभेटिभ’ तरिकाले समाधान गर्ने निधोसहित फुडमाण्डु सुरू गरेको संस्थापक मनोहर अधिकारी बताउँछन् । फुडमाण्डु सुरू गरेपछि फुड अर्डर गर्ने प्लेटफर्म बन्यो । त्यो सफ्टवेयरको विकास मनोहर आफैले गरेका थिए । 

null

त्यसो त उनी कुनै व्यवसायिक पृष्ठभूमिबाट आएका व्यक्ति होइइन । उनीसँग कुनै ठूलो योजना पनि थिएन । फुडमाण्डु सुरू गरेपछि चलिहाल्छ नि भन्ने एक किसिमको उत्साह पनि थियो । तर उत्साह धेरै दिन टिकेन । व्यवसाय सुरू गरेपछि अनके चुनौती देखिन थाले । एकातिर बिजनेस मोडलबारे रेष्टुरेन्टलाई बुझाउन गार्‍हो थियो भने अर्कोतिर ग्राहक पनि अवयेर थिएनन् । 

‘मैले भोगेको समस्या अरूले पनि भोगेका हुन सक्छन् भन्ने लागेको थियो । फुडमाण्डु सुरू गर्दा एक किसिमको उत्साह थियो र चलिहाल्छ नि भन्ने थियो । तर सुरू सुरूमा खासै चलेन । धेरै चुनौती भोग्नु पर्‍यो । रेष्टुरेन्टलाई बुझाउनै गार्हो थियो । ग्राहक पनि जानकार थिएनन,’ उनले आइसिटी समाचारसँग सुरूवाती दिन सम्झिए । 

डेलिभरीका लागि लजिष्टिक व्यवस्थापन गर्न धेरै समस्या थियो । डेलिभरी गर्ने थर्मल ब्याग पनि नेपालमा उपलब्ध थिएन । म्यापको सेवा थिएन । गूगल म्याप पनि अहिले जस्तो लोकप्रिय थिएन । स्मार्टफोन पनि सिमितको हातमा थियो ।

अहिले पनि एकुरेट लोकेसनमा पुग्न कठिन छ । डेलिभरी गर्नेलाई हप्तौंसम्म प्रशिक्षण गर्नुपर्थ्यो । कर्मचारी रिटेन्सन र सञ्चानमा पनि समस्या थियो । तर जुनसुकै अवस्थामा पनि परिवारको साथ भने उनलाई सधैं रह्यो  ।

null

सुरूवाती दिनमा अनेक उतारचढाव भएपनि भविष्यमा फुडमाण्डु ‘सफल व्यवसाय’ बन्नेमा मनोहर ढुक्क थिए । सानो आकारमा अर्डर आएपनि बजारले आईडिया भ्यालिडेट गरिसकेको थियो । रिपिट अर्डरहरू पनि आइरहेका थिए ।

त्यसो त फुडमाण्डु त्यो बेला ‘अर्लि टु मार्केट’ थियो नै । सन् २०१० तिर विश्वको अनलाइन फुड बजार भर्खर भर्खर उदाउँदो थियो । नेपालमा पनि अनलाइन फुड डेलिभरी व्यवसायलाई बजारले भ्यालिडेट गरिसकेको थियो ।  बजारले आईडिया भ्यालिडेट गरिसकेपछि फुडमाण्डु छोड्नै मन नलागेको मनोहर सुनाउँछन् । 

सुरूवाती समयमा वेबसाइटबाट अर्डर लिने भनेर वेबसाइट बनाइएको थियो । तर अर्डर फोनबाट बढी आउथ्यो । आफुहरूले वेबसाइटबाट अर्डर लिन खोजेपनि प्रयोगकर्ता अभ्यस्त नभएका कारण फोनबाट अर्डर आउने गरेको मनोहरको बुझाइ छ ।  

व्यवस्थापनको पढाइ, आईटीको काम 

मनोहर अधिकारी काठमाडौंमै जन्मिए र हुर्किए । काठमाडौंको विजय मेमोरियल स्कुलबाट एसएलसी उतीर्ण गरेका उनी आईकम पढे ।

उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातक र मास्टर्समा बिजनेस स्टडिज अध्ययन गरेका थिए । पढाइ व्यवस्थापन गरेपनि काम भने उनले आईटीमा गरे । 

विशेष गरी एसएलसी पास गरेपछि आईटीमा मनोहरको रूची बढेको थियो । १९९३ एसएलसी दिएपछि कम्प्युटरको ट्रेनिङहरू लिदै गए । त्यो बेला प्रोग्रामिङमा उनको रूची बढ्यो । त्यो बेला आईटी उद्योग अहिलेको जस्तो थिए । सन् २००० मा प्रोग्रामिङको ट्रेनिङ लिए र सफ्टवेयर डेभलपरको रूपमा आफ्नो करियर सुरू गरे । 

null

हुनत, मनोहरका लागि काम कुनै नयाँ थिएन । १६ वर्षदेखि नै सानो सानो काम गर्न थालिसकेको थिए । बीचमा पोल्ट्री फार्मिङ पनि गरेका थिए, अपसोच सफल हुन सकेनन् । पोल्ट्री फार्मिङ सफल हुन नसके पनि फुडमाण्डुलाई भने सफल बनाइसकेका छन् । 

सफ्टवेयर डेभलपरबाट आईटीको यात्रा तय गरेका मनोहरले सन् २००४ देखि सन् २००६ सम्म अमेरिकी कम्पनी डिटु हकाईमा काम गरे । त्यसपछि आउटसोर्सिङ सफ्टवेयर कम्पनीमा करिब ८ वर्ष काम गरे । त्यो बीचमा उनले सन् २०१० फुडमाण्डु सुरू गरिसकेका थिए ।

सन् २०१४ सम्म सफ्टवेयर आउटसोर्सिङमा कम्पनीमा काम गरेपछि त्यसलाई बन्द गरेर उनी फुडमाण्डुमा नै फोकस भए । त्यसपछि फुडमाण्डुले झनै गति लिन थाल्यो । सन् २०१५ मा फुडमाण्डुले मोबाइल एप ल्यायो । 

सानो लगानीबाट सुरू भएको फुडमाण्डुमा सन् २०१६ मा पहिलो पटक प्राइभेट इक्विटी एण्ड भेन्चर क्यापिटल ट्रु नर्थ एशोसिएट्सले लगानी गर्‍यो । त्यतिबेलासम्म मनोहर आफैले लगानी गर्दै व्यवसाय सञ्चालन गरिरहेका थिए ।

ट्रु नर्थले लगानी गरेपछि व्यवसायको ग्रोथ र विस्तार पनि भयो । फुडमाण्डुले फेरि सन् २०२० टिम भेञ्चर र सन् २०२२ डोल्मा इम्प्याक्ट फण्डबाट लगानी उठायो । डोल्मा इम्प्याक्ट फण्डले फुडमाण्डुमा ४६ करोड रूपैयाँ लगानी गरेको थियो । ट्रु नर्थ र टिम भेञ्चर लगानी रकम भने खुलाइएको छैन् । 

आज फुडमाण्डुलाई नेपालको नम्बर वान अनलाइन फुड डेलिभरी ब्राण्ड बनाउन मनोहर सफल भएका छन् । ग्राहकले अत्याधिक रूचाइदिएका छन् । नेपालमा अनलाइन फुड डेलिभरीलाई नयाँ उद्योगको रूपमा विस्तार गर्ने पनि श्रेय उनलाई जान्छ । उद्योग आफुसँगै ग्रो हुँदा मनोहर गौरव महशुस गर्छन् ।

भन्छन्, ‘सबै काम गर्दा उद्योग आफुसँगै ग्रो भयो, त्यो चाँहि गौरव लाग्छ । अन्तर्राष्ट्रियस्तरमा पनि अनलाइन फुड डेलिभरीको उद्योग सँगसँगै ग्रो भयो । यसले हामी नेपाली पछि छैनौं, पहिलेदेखि नै गर्न सक्छौं भन्ने पनि देखाएको छ ।’ 

null

अहिले फुडमाण्डु नेपालीहरूको खाना खानै शैलीमै परिवर्तन ल्याउन सफल भएको छ । आफुलाई खाना मन लागेको खाना/खाजा मोबाइलबाट अर्डर गर्ने बित्तिकै आफुल चाहेकै ठाउँमा आइपुग्छ । 

अहिले मनोहरले फुडमाण्डुमा करिब ५ सय जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । तीमध्ये ३५० जना राइडर छन् । ८० प्रतिशत राइडर पनि पूर्ण कालीनरूपमा आवद्ध भएर काम गरिरहेका छन् ।  

अप्रत्यक्ष रूपमा पनि फुडमाण्डुमा धेरैले रोजगारी पाएका छन् । सक्रिय रूपमा १ हजार रेष्टुरेन्ट फुडमाण्डुसँग जोडिएका छन् । फुडमाण्डुले डेलिभरीमा इको फ्रेन्डली ब्याग प्रदान गर्दै आएको छ । त्यो पूर्ण हातबाट बन्छ । इको फ्रेन्डली ब्याग बनाउने उद्योगमा पनि रोजगारी पाएका छन् । 

पोखेरा, काठमाडौं र चितवनमा उपलब्ध रहेको फुडमाण्डुमा दैनिक २ हजारदेखि २५०० सम्म अर्डर हुने गरेको छ । ९० प्रतिशत बढी अर्डर मोबाइल एपबाटै आउने गरेको छ । कम्पनीले वार्षिक ५० देखि ७० प्रतिशतसम्म ग्रोथ गरिरहेको छ । 

कुनै पनि चीजले नतिजा दिन समय लाग्ने मनोहरले बताए । ‘कुनै पनि चीजले नतिजा दिन समय लाग्छ । भविष्यमा राम्रो हुन्छ भनेर धैर्य र लगनशीलता नदेखाएको भए फुडमाण्डु आज यहाँ हुने थिएन’ मनोहर भन्छन्, ‘सुरूमा दिनमा ४-५ वटा मात्रै अर्डर हुन्थ्यो । सन् २०१५ तिर दिनमा १०० अर्डर हुन थालेको थियो । अहिले २५ समय हुन्छ । यो सबै धैर्यता, फोकस र मिहिनेरको नतिजा हो ।’

null

फुडमाण्डुले अहिले बिहान ८ बजेदेखि बेलुका १० बजेसम्म डेलिभरी सेवा दिइरहेको छ । विस्तारै डेलिभरी गर्ने समय बढाउने मनोहरको योजना छ । यस्तै पछिल्लो समय क्विक कर्मसको रूपमा फुडमाण्डुले वानमार्ट सुरू गरेको छ ।

परीक्षणको रूपमा गैरीधाराबाट ३ किलोमिटर वरपर वानमार्टको सेवा उपलब्ध छ । यस ठाउँमा बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म ग्रोसरी र अत्यावश्यक सामानहरू अर्डर गरेको १५ देखि ३० मिनेटमा डेलिभर हुन्छ । विस्तारै यो सेवालाई पनि विस्तार गर्ने कम्पनीको योजना छ । 

फुड डेलिभरीमा फुडमाण्डुले क्रान्ति ल्याए जस्तै वानमार्टले पनि केही वर्षमा क्विक कर्मसको क्षेत्रमा क्रान्ति ल्याउनेमा मनोहर विश्वस्त देखिन्छन् ।