मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एमबियूएसटी) ले ‘विश्वस्तरीय विश्वविद्यालयतर्फको पहिलो कदम’ शीर्षकमा एकदिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा आयोजना गर्ने भएको छ ।
आईतबार अर्थात आज आयोजना हुने उक्त सम्मेलनमा नेपाल तथा विदेशका प्रख्यात प्राज्ञ, नीति निर्माता, अनुसन्धानकर्ता, उद्योग क्षेत्रका प्रतिनिधि र विद्यार्थीहरू सहभागी हुनेछन् ।
उनीहरूले विश्वविद्यालयको दीर्घकालीन भिजन, रणनीति र अन्तर्राष्ट्रिय स्तरको गुणस्तर कायम गर्नका लागि आवश्यक पहलहरूबारे छलफल गर्नेछन् ।
विश्वविद्यालयका अध्यक्ष डा. राजेन्द्रध्वज जोशीका अनुसार सम्मेलनको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्नु र नवस्थापित विश्वविद्यालयको प्रभावकारी सञ्चालनका लागि व्यापक समर्थन जुटाउनु हो। उनका अनुसार हालसम्म १ करोड २५ लाख रूपैयाँ बराबरको आर्थिक सहयोग संकलन भइसकेको छ ।
एमबियूएसटी विशेष विश्वविद्यालय सञ्चालन ऐनमार्फत स्थापना भएको हो । हाल विश्वविद्यालयमा ३४ जना स्नातकोत्तर तथा विद्यावारिधि तहका विद्यार्थी अध्ययनरत छन्।
सम्मेलनमा प्रमुख वक्ताको रूपमा सिंगापुरको नेसनल युनिभर्सिटी अफ सिंगापुरका प्राध्यापक तथा एमबियूएसटीका ट्रस्टी प्रो. सीरम रामकृष्णले सम्बोधन गर्ने छन् ।
‘विश्वस्तरीय विश्वविद्यालय निर्माण: सरोकारवालाको सहभागिता’ विषयमा हुने प्यानल छलफल बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले सञ्चालन गर्ने छन् ।
छलफलमा एमबियूएसटी ट्रस्टी तथा पूर्व महानियन्त्रक भानु आचार्य, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा. गोविन्दराज पोखरेल, एमबियूएसटी डा. राजेन्द्रध्वज जोशी, एमबियूएसटीका ट्रस्टी तथा सांसद महेशकुमार बर्तौला, एमबियूएसटीकी ट्रस्टी तथा राष्ट्रिय योजना आयोगकी पूर्व सदस्य प्रा. डा. संगीता सिंह सहभागी हुनेछन् ।
सम्मेलनमा विभिन्न देशका सातभन्दा बढी अन्तर्राष्ट्रिय वक्ताहरूले पनि आ–आफ्ना विचार प्रस्तुत गर्नेछन् । जसमा एमआईटी तथा केएआईएसटी (कोरिया) का एमेरिटस प्राध्यापक नाम प्यो सुह, म्याकगिल विश्वविद्यालय, क्यानाडाका प्रा. सुजाने फोर्टियर, ओलिन इन्जिनियरिङ कलेज अमेरिकाका संस्थापक अध्यक्ष, प्रा. रिचर्ड मिलर, विश्व बैंकका पूर्व नेपाल निर्देशक डा. केनिची ओहाशी, सेन्ट्रल एशिया विश्वविद्यालय किर्गिस्तानका बोर्ड अफ ट्रस्टी अध्यक्ष डा. शम्स कासिम–लाखा, एभरेष्ट साइन्स एण्ड टेक्नोलोजी फण्ड, अमेरिका अध्यक्ष ब्रुस फ्लेस्नर रहेका छन् ।
सम्मेलनमा करिब ४०० सहभागीहरू र ३० भन्दा बढी वक्ताहरूको उपस्थिति रहनेछ । आयोजकका अनुसार यस सम्मेलनले एमबियूएसटीलाई नवप्रवर्तनशील, अन्तर्राष्ट्रिय रूपमा सञ्जाल विस्तार गर्ने र भविष्यमा विश्वस्तरीय शैक्षिक संस्था बनाउने दिशामा महत्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको छ ।