कीवर्डहरू -

मेटाले इन्स्टाग्राम, फेसबुक र व्हाट्सएपमा नयाँ सशुल्क ‘प्लस’ सेवा सुरु गर्दै

मेटाले इन्स्टाग्राम, फेसबुक र व्हाट्सएपमा नयाँ सशुल्क ‘प्लस’ सेवा सुरु गर्दै

काठमाडौं । मेटाले केही महिनादेखिको परीक्षणपछि इन्स्टाग्राम, फेसबुक र व्हाट्सएपमा नयाँ सशुल्क ‘प्लस’ सब्सक्रिप्शन सेवा सुरु गर्ने तयारी गरेको छ । यस सेवामार्फत प्रयोगकर्ताले विभिन्न प्रिमियम फिचरहरू प्रयोग गर्न सक्नेछन् ।

नयाँ सेवाअन्तर्गत इन्स्टाग्राम र फेसबुक प्रयोगकर्ताले स्टोरीहरूको विस्तृत तथ्यांक हेर्न, २४ घण्टाभन्दा लामो समयसम्म रहने स्टोरी तथा पोस्ट राख्न, कस्टम थिम प्रयोग गर्न र विशेष रियाक्सनहरू प्रयोग गर्न सक्नेछन् ।

मेटाले इन्स्टाग्राम प्लस र फेसबुक प्लसको मासिक शुल्क ३.९९ अमेरिकी डलर तथा व्हाट्सएप प्लसको शुल्क २.९९ अमेरिकी डलर निर्धारण गरेको छ । कम्पनीले कृत्रिम बुद्धिमत्ता, बिजनेस र क्रिएटर अकाउन्टका लागि थप सशुल्क सेवाहरूको परीक्षण गर्ने योजना पनि अघि सारेको छ, जसलाई ‘Meta One’ नाम दिइएको छ ।

इन्स्टाग्राम प्लसको परीक्षण संस्करणमा स्टोरीका लागि बहु-अडियन्स चयन, स्टोरी पुन: हेरिएको जानकारी, दर्शक सूची खोज्ने सुविधा, २४ घण्टाभन्दा लामो समयसम्म स्टोरी राख्न सकिने सुविधा तथा ‘स्पटलाइट स्टोरी’ जस्ता फिचरहरू समावेश छन् । साथै, ‘सुपर हार्ट’ रियाक्सन र प्रयोगकर्ताको नाम नदेखिने गरी स्टोरीको केही भाग हेर्न सकिने सुविधा पनि उपलब्ध हुने बताइएको छ ।

फेसबुक प्लसमा पनि यस्तै प्रकारका प्रिमियम सुविधाहरू समावेश गरिएका छन् । त्यस्तै, व्हाट्सएप प्लसमा कस्टम थिम, रिङ्टोन, स्टिकर, पिन च्याट तथा अन्य व्यक्तिगत अनुकूलन सम्बन्धी सुविधाहरू थपिनेछन् ।

मेटाले आफ्ना सबै सशुल्क सेवाहरूलाई एउटै छातामुनि ल्याउन ‘Meta One’ ब्रान्ड सुरु गर्ने तयारी गरिरहेको छ । यसअन्तर्गत कम्पनीले आफ्ना एपहरू, एआई सेवा तथा क्रिएटर र बिजनेस अकाउन्टका लागि विभिन्न नयाँ पेड मोडेलहरू परीक्षण गर्नेछ ।

कम्पनीका अनुसार मेटा एआईका केही आधारभूत सुविधाहरू नि:शुल्क नै रहनेछन् । तर Advanced Reasoning, Thinking Mode, Image Generation तथा Video Generation जस्ता उन्नत सुविधाहरूमा सीमा तोकिनेछ र ती केवल सशुल्क सदस्यतामार्फत मात्र उपलब्ध गराइनेछन् ।

यसका साथै, मेटाले बिजनेस तथा क्रिएटर प्रयोगकर्ताका लागि नयाँ सब्सक्रिप्शन योजना ल्याउने र हाल सञ्चालनमा रहेको Meta Verified सेवाको संरचनामा समेत परिवर्तन गर्ने तयारी गरिरहेको जनाएको छ ।