काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामका लागि मेटाले हालै सार्वजनिक गरेको कृत्रिम बुद्धिमत्तामा आधारित ‘म्यूज इमेज’ सुविधा व्यापक आलोचनापछि बन्द गरेको छ ।
गत जुलाई ८ मा सार्वजनिक गरिएको उक्त सुविधाले कुनै पनि सार्वजनिक इन्स्टाग्राम खातामा रहेका तस्बिरहरूको आधारमा नयाँ एआई–निर्मित डिजिटल तस्बिर तयार गर्न सक्थ्यो । प्रयोगकर्ताले सम्बन्धित सार्वजनिक खाताको नाम प्रविष्ट गरेपछि प्रणालीले त्यही खाताका तस्बिरलाई आधार बनाएर नयाँ दृश्य सिर्जना गर्ने व्यवस्था गरिएको थियो ।
सुविधा सार्वजनिक भएको केही समयमै गोपनीयता र सहमतिसम्बन्धी प्रश्न उठ्दै सामाजिक सञ्जालमा यसको व्यापक विरोध भएको थियो । प्रयोगकर्ताहरूले आफ्नो अनुमति बिना व्यक्तिगत तस्बिरलाई एआई प्रणालीमा प्रयोग गर्नु निजताको अधिकारमाथिको हस्तक्षेप भएको बताएका थिए ।
यसका साथै, उक्त प्रविधिको दुरुपयोग गरेर नक्कली डिजिटल तस्बिर निर्माण गर्न सकिने, व्यक्तिको पहिचान दुरुपयोग हुने तथा डिजिटल ठगी र भ्रामक सामाग्री फैलिन सक्ने जोखिमबारे पनि चिन्ता व्यक्त गरिएको थियो ।
विवादमा सर्वसाधारण मात्र होइन, हलिउड कलाकारहरूको प्रतिनिधित्व गर्ने एक प्रतिष्ठित प्रतिभा व्यवस्थापन संस्थाले समेत आपत्ति जनाएको थियो । संस्थाले व्यक्तिको स्पष्ट सहमति बिना उसका तस्बिरलाई एआई प्रणालीमा प्रयोग गर्नु स्वीकार्य नहुने धारणा सार्वजनिक गरेको थियो ।
बढ्दो आलोचनापछि मेटाले आफ्नो आधिकारिक ब्लगमार्फत ‘म्यूज इमेज’ सुविधा हटाइएको जानकारी दिएको छ । कम्पनीले सिर्जनात्मक अनुभव विस्तार गर्ने उद्देश्यले यो सुविधा ल्याइएको भएपनि प्रयोगकर्ताको प्रतिक्रिया र सम्भावित दुरुपयोगलाई ध्यानमा राख्दै यसलाई बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।
मेटाका अनुसार अब सार्वजनिक इन्स्टाग्राम खाताको नाम प्रयोग गरेर एआईमार्फत नयाँ तस्बिर सिर्जना गर्न खोज्दा प्रणालीले त्यस्तो अनुरोध स्वीकार गर्ने छैन । यसअघि नै निजी खाता तथा १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताका खातालाई भने यो सुविधाबाट बाहिर राखिएको थियो ।
आईसीटी समाचार