कीवर्डहरू -

मिनी एडटेक एआई सम्मेलन २०२४ सम्पन्न, एआईसहितको शिक्षामा जोड

मिनी एडटेक एआई सम्मेलन २०२४ सम्पन्न, एआईसहितको शिक्षामा जोड

प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कूल, रोबोटिक्स एसोसिएसन अफ नेपाल (र्यान) र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एआईसँग शिक्षाको भविष्य भन्ने नाराका साथ मिनी एडटेक एआइ सम्मेलन २०२४ सम्पन्न गरेको छ ।

यस सम्मेलनमा ५० भन्दा बढी शिक्षाविद्, प्राविधिक र एआई अभ्यासकर्ताहरू उपस्थित भएका थिए । कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव इन्दुविक्रम जोशीले शिक्षामा एआईलाई अगाडि बढाउन सरकारको दृढ रहेको बताए ।

उनले देशमा एआई उद्यमशीलताको लागि कोष, नियमन, मानव संसाधन विकास, र पूर्वाधार निर्माणमा सरकारको महत्त्वपूर्ण भूमिकालाई जोड दिँदै एक व्यापक एआई रणनीति विकास गर्न जारी रहेको जानकारी दिएका थिए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताले च्याटजीपीटी, स्पेस टाइप्स, क्वीलबोट्स र इलिसिट जस्ता एआइ टूलले शैक्षिक परिदृश्यलाई रूपान्तरण गर्न कसरी सघाइरहेको छ भनेर जानकारी दिएका थिए । यस्तै ल्याटेल रोबोटिक्सका सीईओ जेरी ट्यानले स्वायत्त सवारी साधन,न्याचुरल लैंग्नेज प्रासेसिंग र कम्प्युटर भिजनलाई हाइलाइट गरेका थिए ।

नेक्स्ट एआईका संस्थापक क्षितिज रिमालले सन् २०२३ जेनेरेटिभ एआईको वर्ष भएको बताए र गुगलले विकास गरेको जेमिनाई मोडलको उदाहरण दिएका थिए ।

एआईसँगको शिक्षाको भविष्यमा प्यानल छलफल समेत भएको थियो ।  प्यानलमा बोल्ने वक्ता जीईजी काठमाण्डूका सुशील उप्रेतीले एआई अहिले आईसीटीमा मात्र सीमित नभई समाज र हाम्रो दैनिक जीवनको एक हिस्साको रूपमा विस्तार गर्नुपर्ने बताए ।

अध्ययन स्कूलका प्रिन्सिपल–निर्देशक सन्दीप शर्माले विद्यार्थी र शिक्षकहरूले समान रूपमा सिक्नु पर्ने भाषाको रूपमा कोडिङ रहेको र आफ्नो स्कूलको सोहीमा फोकस गरिरहेको बताए । डिजिटल इनोभेसन एन्ड चेन्जका प्रमुख आलोक खत्रीले बिजनेस स्कूलमा एआईको आवश्यकतालाई बढावा दिनु पर्ने बताए । साथै फ्युजमेसिन्स नेपालका सिनियर एमएल इन्जिनियर सिजन श्रेष्ठले फ्युज क्लासरूमको बारेमा बताएका थिए । 

फिलिपिन्सका मेकाट्रोनिक्स एण्ड रोबोटिक्स सोसाइटीका अध्यक्ष डा. नास्तारान जादेहले एआईको लहरको लागि तयारी गर्न प्रशिक्षकलाई तालिममा ध्यान दिनु पर्ने आवश्यकतालाई प्रकाश प्रष्ट पारेका थिए ।

नास्टका सचिव डा. रवीन्द्र ढकालले विद्यालय र विश्वविद्यालयस्तरमा विज्ञान र आईसीटी शिक्षकहरूलाई तालिम दिएर एआईसँग शिक्षामा परिवर्तनको यात्रामा सहयोग गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरे ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव (प्राविधिक) सन्तोष शर्माले सान्दर्भिक एआई फ्रेमवर्क र नीतिहरू विकास गर्न निजी क्षेत्रसँग मिलेर काम गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तयार रहेको बताएका थिए ।