देश तथा विदेशका ३०० भन्दा बढी वित्तीय संस्थाहरूलाई सफ्टवेयर सेवा प्रदान गर्दै आएको आईटी कम्पनी जुनेली इंकले नेपालमै सुरक्षित र विश्वस्तरीय रिमोट डेस्कटप एप्लिकेसन ‘मल्टिपल डेस्क’ विकास गरेको छ ।
नेपालमा प्रायः अनलाइन ग्राहक सेवा दिन विदेशी सफ्टवेयरहरू — जस्तै टिमभ्युअर वा एनिडेस्क—प्रयोग गर्नुपर्ने बाध्यता थियो । यसले एकातिर डेटा सुरक्षामा जोखिम र अर्कोतिर नेपाली रकम विदेशिने समस्या ल्याएको थियो । यही समस्याको समाधानका लागि जुनेली इंकले स्वदेशमै आफ्नै समाधान तयार गरेको हो ।
‘हामीले नेपालमै सुरक्षित र विश्वस्तरीय रिमोट डेस्कटप एप्लिकेसन विकास गरेका छौं,’ जुनेली इंकका सीईओ अपार थेबेले आइसिटी समाचारसँग भने, ‘मल्टिपल डेस्क प्रयोग गर्दा डेटा सुरक्षित हुन्छ किनभने हाम्रो सर्भर नेपालमै हो ।’

सुरुवातीमा आफ्नै ग्राहकहरूलाई रिमोट सहयोग गर्नका लागि विकसित गरिएको यो सफ्टवेयर अब सबै व्यवसायका लागि उपलब्ध बनाइएको छ ।
मल्टिपल डेस्कमा रिमोट डेस्कटप पोर्टल (RDP) र भर्चुअल डेक्स्टप इन्फ्रास्ट्रक्चर (VDI) गरेर २ वटा सुविधा छ । आरडीपी भनेको रिमोट डेस्कटप एप्लिकेसन हो, जहाँ भर्चुअल रूपमा अर्को कम्प्युटर एक्सेस गर्न सकिन्छ ।
यस्तै भीडीआई ठूला ठूला बिजनेसका लागि उपयोगी हुन्छ । कम्पनीको सेन्ट्रल सर्भरमा ‘भर्चुअल डेस्कटप’ विकास गरिएको हुन्छ, जसलाई विश्वको जुनकुनै ठाउँबाट जसले पनि एक्सेस गर्न सक्छन् । थेबेका अनुसार भीडीआई प्रविधि अन्य भन्दा थप महंगो र सुरक्षित हो ।
सुरक्षित र विश्वस्तरीय सफ्टवेयर
टिम भ्यूअर वा एनिडेस्क जस्तै मल्टिपल डेस्क पनि निःशुल्क चलाउन सकिन्छ तर थप सुविधाका लागि यसको सःशुल्क (प्रिमियम) भर्सन पनि उपलब्ध छ ।
निःशुल्क संस्करणमा सिंगल डिभाइस सपोर्ट, दैनिक २ जीबी फाइल ट्रान्सफर, AES-256 इन्क्रिप्सन, क्लिपबोर्ड सिन्क्रोनाइजेसन र कम्युनिटी सपोर्ट जस्ता सुविधा छन् ।
सःशुल्क भर्सनलाई पनि बिजनेस र कर्पोरेट गरेर २ प्रकारमा बाँडिएको छ । साना तथा मध्यम व्यवसायका लागि ‘बिजनेस भर्सन’ र ठूला ठूला कर्पोरटहरूका लागि ‘कर्पोरेट भर्सन’ छ ।
बिजनेस भर्सनको शुल्क मासिक ६५० रूपैयाँ छ । यसमा अनलिमिटेड डिभाइस, प्रायोरिटी सपोर्ट, फाइल ट्रान्सफर, सेसन रेकर्डिङ लगायतका सुविधा छन् ।
यस्तै कर्पोरेट भर्सनको शुल्क मासिक ९५० रूपैयाँ तोकिएको छ । निःशुल्क र बिजनेस भर्सनका सुविधा बाहेक अडिट लग, डेडिकेटेड म्यानेजर, कस्टम इन्टिग्रेसन लगायतका सुविधा छन् । कर्पोरेट भर्सनका ग्राहकलाई आफ्नो डेटा आफ्नै सर्भरमा होस्ट गर्न सकिने सुविधा पनि दिइएको छ ।

अहिले विन्डोजमा मात्र उपलब्ध रहेको मल्टिपल डेस्कलाई सन् २०२५ को अन्त्यसम्ममा एन्ड्रोइडमा समेत ल्याइने कम्पनीको योजना छ ।
कम ब्याण्डविथमा पनि काम गर्न सक्ने गरी ‘मल्टिपल डेस्क’ सफ्टवेयरको विकास गरिएको छ । मल्टिपल डेस्क पूर्ण रूपमा विश्वस्तरीय, सुरक्षित र प्रयोगमैत्री समाधान भएको थेबेको दावी छ । यसमा AES-256 इन्क्रिप्सन, दुई तह प्रमाणीकरण (2FA) र उन्नत फायरवाल जस्ता सुरक्षा सुविधाहरू छन् ।
नेपालमै विकास गरिएको यस अत्याधुनिक रिमोट एक्सेस प्रणालीले बैंक, वित्तीय संस्था, सरकारी कार्यालय र निजी व्यवसायहरूलाई सुरक्षित, भरपर्दो र सहज सेवा प्रदान गर्ने उनी बताउँछन् छ ।
हाल मोरू डिजिटल वालेटले मल्टिपल डेस्कको प्रिमियम भर्सन प्रयोग गर्न थालिसकेको छ । अन्य बिजनेसहरू पनि प्रयोगमा चासो देखाएका छन् ।
अर्ब डलरको बजार
कोरोना महामारीपछि विश्वभर रिमोट र हाइब्रिड कार्यसंस्कृति स्थायी बन्दै गएको छ । यसले रिमोट डेस्कटप सफ्टवेयरको मागलाई संस्थागत रूपमा बढाएको छ । प्रयोगकर्ता टाढा रहँदा पनि रिमोट डेस्कटप सफ्टवेयरमार्फत डेटाहरूमा वास्तविक समयमा पहुँच पाउन सकिन्छ ।
पछिल्लो समय ठूला कम्पनीहरूले कर्मचारीलाई घरबाटै वा हाइब्रिड काम गर्ने सुविधा दिन यस प्रकारको सफ्टवेयर व्यापक रूपमा अपनाएका छन् । विश्वमा रिमोट डेस्कटप एप्लिकेसनको बजारमा अर्ब डलरमा रहेको छ, जुन हरेक वर्ष बढ्दो छ ।
फोर्चुन बिजनेस इन्साइट्सका अनुसार, सन् २०२५ सम्ममा विश्वव्यापी रिमोट डेस्कटप एप्लिकेसन बजार ३ अर्ब ९२ करोड अमेरिकी डलर पुग्ने अनुमान छ, र सन् २०३० सम्ममा यो करिब १२ अर्ब डलर पुग्नेछ ।
थेबेका अनुसार, ‘अहिले नेपालबाट मात्र हरेक वर्ष लाखौं रुपैयाँ विदेशी रिमोट डेस्कटप सफ्टवेयरमा खर्च भइरहेको छ । अब मल्टिपल डेस्कले त्यही रकम देशमै राख्ने र डेटा पनि देशमै सुरक्षित गर्ने समाधान प्रदान गर्नेछ ।’

विभिन्न संस्थाहरूको ‘ब्रिङ योर ओन डिभाइस’ (Bring Your Own Device - BYOD) नीतिले पनि रिमोट एक्सेस सफ्टवेयरको प्रयोगलाई अझै तीव्र बनाएको छ । स्वास्थ्य, शिक्षा, सूचना प्रविधि (आईटी) र टेलिकमजस्ता क्षेत्रहरूको काममा यसले सहजता थप्ने भएका कारण यस सफ्टवेयरको प्रयोग उल्लेखनीय रूपमा बढिरहेको छ ।
स्वदेशी बजार मात्रै नभएर नेपालमै निर्मित ‘मल्टिपल डेस्क’ले भविष्यमा आफ्नो सेवा विदेशी बजारमा समेत विस्तार गर्ने योजना बनाएको छ ।
कमल केसी