कीवर्डहरू -

नबिल बैंकको कार्डमा आधारित विप्रेषण सेवा अब हाम्रो पात्रोमा, ५ हजार डलरसम्म नेपाल पठाउन सकिने

नबिल बैंकको कार्डमा आधारित विप्रेषण सेवा अब हाम्रो पात्रोमा, ५ हजार डलरसम्म नेपाल पठाउन सकिने

नबिल बैंक लिमिटेड र स्मार्ट आइडियाज प्रालि (हाम्रो पात्रो) बिच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी भएको छ । नबिल बैंक लिमिटेडका तर्फबाट एनबैंक प्रमुख प्रदीप नेपाल र स्मार्ट आइडियाजको तर्फबाट वरिष्ठ इन्जिनियरिङ म्यानेजर सुरज गौतमले सोमबार एक कार्यक्रमका बिच समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेका हुन् ।

दुई कम्पनीबिच भएको सम्झौताअनुसार, नबिल बैंकले कार्डमा–आधारित विप्रेषण प्लेटफर्म एनरेमिटको सेवा हाम्रो पात्रो एपमा समावेश गरेको छ । नेपालबाहिर रहेका हाम्रो पात्रो प्रयोगकर्ताहरूले अब एपको ‘रेमिटेन्स’ बटनमा गएर पठाउने र प्राप्त गर्ने व्यक्तिको विवरण र विप्रेषणको उद्देश्य उल्लेख गरी सेवा लिन सक्ने छन् । जसअन्तर्गत आफ्नो अन्तर्राष्ट्रिय मास्टर कार्ड वा भिसा कार्ड प्रयोग गरेर विप्रेषण रेमिटेन्स पठाउन सकिनेछ ।

यस सेवा अन्तर्गत, प्रयोगकर्ताहरूले न्यूनतम युएस डलर १०० देखि अधिकतम ५ हजार डलरसम्म पठाउन सक्नेछन् । नबिल बैंकका अनुसार रेमिटेन्स प्राप्त कर्ताले नेपालभित्र जुनसुकै बैंक खातामा तुरुन्तै रकम प्राप्त गर्नेछन् । नबिल बैंकले २०२२ डिसेम्बरदेखि आफ्नो एनबैंक एपमार्फत एनरेमिट सेवा दिँदै आएको छ । यो सेवाको पहिलो पटक तेस्रो पक्षसँगको सहकार्यमा विस्तार गरिएको हो । 

यस सम्झौतामार्फत दुवै संस्थाहरूले देशमा विप्रेषण प्रक्रियालाई सरल बनाउने उद्देश्य राखेका छन् । यसबाट नेपाली बैंकिङ क्षेत्रलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।