कीवर्डहरू -

एशिया प्यासिफिक आईसीटी अलायन्सको बैठक पहिलो पटक नेपालमा बस्दै, १६ देशका टेक लिडर आउने

एशिया प्यासिफिक आईसीटी अलायन्सको बैठक पहिलो पटक नेपालमा बस्दै, १६ देशका टेक लिडर आउने

वैशाख ८ गते अर्थात अप्रिल २० मा नेपालमै पहिलो पटक एशिया प्यासिफिक आईसीटी अलायन्स (एपीआईसीटीए) बैठक बस्ने भएको छ ।

नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (न्यास आईटी) को पहलमा यस वर्ष नेपालमै पहिलो पटक अलायन्सको कार्यकारी समितिको बैठक हुने भएको हो । 

यस बैठकमा एशिया प्यासिफिक क्षेत्रका देशहरू अष्ट्रेलिया, बगंलादेश, ब्रुनाई, चीन, चिनियाँ ताइपेई, हङकङ, इन्डोनेसिया, जापान, मकाउ, मेलिसया, म्यानमार, पाकिस्तान, सिंगापुर, थाइल्याण्ड, भियतनाम लगायतका प्रविधि नेतृत्व (टेक लिडर) हरूको सहभागीता रहने छ ।

न्यास आईटीका अध्यक्ष रिचन श्रेष्ठले नेपालमा हुन लागेको एशिया प्यासिफिक आईसीटी अलायन्सको बैठकले प्रविधि उद्योगको नवप्रवर्तन, उद्यमशीलता र सहकार्यलाई बढावा दिने बताए ।

‘एशिया प्यासिफिक आईसीटी अलायन्सको बैठक पहिलो पटक नेपालमा बस्दै छ,’ उनले भने, ‘यसले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन र प्रविधिको हब बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने छ ।’

यस अवसरमा न्यास आईटीले ‘नेभिगेटिङ ग्रोथः स्टार्टअप इकोसिस्टम र एशिया प्यासिफिक विस्तारका लागि रणनीति’ विषयमा प्यानल छलफल समेतको आयोजना गर्नेछ । 

कार्यक्रममा अष्ट्रेलियाको द मास्टरमाइन्ड ग्रुपका सीईओ तथा प्रबन्ध निर्देशक फुलभियो इन्सेरा, चाइनिज ताइपेईको राष्ट्रिय केन्द्रीय विश्वविद्यालयकाका प्रा सीके फर्न, श्रीलंकाबाट परामर्शदाता र डिजिटल टेक्नोलोजी ट्रान्सफर्मेसन प्रोफेशनल रुवान अमरसेकरा, मलेसियाको आइरन हर्स एशियाका संस्थापक स्टेन सिंह लगायत अन्तर्राष्ट्रिय प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, र शिक्षाविद्हरूको उपस्थिति रहने छ । 

एशिया प्यासिफिक आईसीटी अलायन्स, एशिया प्यासिफिक क्षेत्रमा प्रविधि, नवप्रवर्तन र सहकार्यलाई प्रवर्द्धन गर्न स्थापना भएको संस्था हो । केही समय अगाडि मात्रै न्यास आईटी पनि एशिया प्यासिफिक आईसीटी अलायन्सको सदस्य बनेको थियो । न्यास आईटी नेपालको सफ्टवेयर र आईटी उद्योगलाई प्रवर्द्धन गर्न स्थापना भएको गैर नाफा मुलक संस्था हो ।