कीवर्डहरू -

एनसीएचएल सिस्टमबाट एकै दिन ८४ अर्ब भन्दा बढीको कारोबार

एनसीएचएल सिस्टमबाट एकै दिन ८४ अर्ब भन्दा बढीको कारोबार

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो विभिन्न प्रणालीहरू मार्फत पौष मसान्तको अन्तिम दिन रु.८४ अर्ब भन्दा बढीको भुक्तानी कारोबार फर्छ्यौट गरेको जनाएको छ । गत वर्षको सोही दिनमा भएको भुक्तानी कारोबारको तुलनामा उक्त कारोबार सङ्ख्याको आधारमा ६० प्रतिशत र रकमको आधारमा ७० प्रतिशतले वृद्धि भएको हो । 

एनसीएचएलका प्रणालीहरू मध्ये  एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस र आरपीएस मार्फत क्रमशः ४१ अर्ब, १४ अर्ब र २९ अर्ब रूपैयाँ बराबरको भुक्तानी कारोबार उक्त एक दिनमा फर्छ्यौट भएको हो ।  

विद्युतीय भुक्तानीको स्वीकार्यता सँगै आरपीएसअन्तर्गत कनेक्ट आईपीएस (वेब, एप तथा गेटवे), कर्पोरेटपे , बैंक शाखाहरू, मोबाइल बैंकिङ, वालेट तथा एनपीआई सँग जोडिएका विभिन्न च्यानलहरू मार्फत रियल टाइम भुक्तानीको सङ्ख्यामा अधिकतम वृद्धि भएको देखिएको नेपाल क्लियरिङ हाउसले जनाएको छ । 

त्यस्तै पौष मसान्तको अन्तिम दिनमा डिजिटल च्यानलमार्फत १.६ अर्ब बराबरको राजस्व संकलन तथा ६.८ अर्ब रूपैयाँ बराबरको सरकारी खर्च सम्बन्धी १ लाख २५ हजार भन्दा बढी भुक्तानी कारोबारहरू भएको जनाइएको छ । 

नेपाल सरकार र नेपाल राष्ट्र बैंकले लिएको नितिगत  पहलहरूले  नेपालको विद्युतीय भुक्तानीमा उल्लेख्य परिवर्तन आएको एनसीएचएलले जानकारी दिएको छ ।