कीवर्डहरू -

एनसीआईटी कलेज : स्टार्टअप र इन्नोभेसनमा जोड, नतिजामा पनि अब्बल

एनसीआईटी कलेज : स्टार्टअप र इन्नोभेसनमा जोड, नतिजामा पनि अब्बल

सन् २००१ मा स्थापना भएको नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) पायोनियर आईटी कलेजको रूपमा चिनिन्छ । 

पोखरा विश्वविद्यालयबाट सम्बन्ध प्राप्त एनसीआईटी कलेजमा २ हजार बढीले अध्ययन गर्दै आएका छन् भने साढे सातहजार बढीको एलुमुनाई नेटवर्क रहेको छ । 

अहिले कलेजमा ब्याचलर्समा १८ सय र मास्टर्समा २०० जनाले अध्ययन गरिरहेका छन् ।  १०० भन्दा बढी फुल टाइम अनुभवी फ्याकल्टी रहेको एनसीआईटी कलेजमा ब्याचलर्समा बीई सिभिल इन्जिनियरिङ, बीई आईटी इन्जिनियरिङ, बीई कम्प्युटर इन्जिनियरिङ, बीई सफ्टवेयर इन्जिनियरिङ, कम्प्युटर एप्लिकेसन (बीसीए) र बिजनेस एडमिनिष्ट्रेसन (बीबीए) पढाइ हुँदै आएको छ । 

मास्टर्समा कम्प्युटर साइन्स इन्फर्मेसन सिस्टम, एमई कम्प्युटर र एमएसईसी कम्प्युटर पढाइ हुँदै आएको छ । आईटी क्षेत्रमा एनसीआईटी पायोनियर आईटी कजेलको रूपमा चिनिने एनसीआईटी कलेजका प्रिन्सिपल निरञ्जन खकुरेलले बताए । 

‘आईटी क्षेत्रमा एनसीआईटी एउटा पायोनियर कलेज हो । हामीले १० वटा कार्यक्रममा कक्षाहरू सञ्चालन गरिरहेका छौं,’ उनले आईसीटी समाचारसँग भने, ‘कलेजले अनुभवी फ्याक्टी र प्रयोगात्मक सिकाइमा विशेष जोड दिएको छ ।’

कस्ता विद्यार्थीले कस्तो कोर्ष पढ्ने ? 

आईटीको विकास र विस्तारसँगै यसको दायरा फराकिलो हुँदै गएको छ । कलेजहरू विभिन्न किसिमका आईटी कोर्षहरू पढाइरहेका छन् । एनसीआईटी कलेजमा पनि ४-५ थरिको आईटी पढाइ हुँदै आएको छ ।

विद्यार्थीले आफ्नो क्षमता र रूची अनुसार कोर्षहरू छनौट गर्नुपर्छ खकुरेल बताउँछन् । ‘सबै विद्यार्थीको क्षमता एउटै हुँदैन् । फरक फरक क्षमता भएकाले सबै विद्यार्थीका लागि एउटै कोर्ष पनि उपयोगी हुँदैन्, उनी भन्छन्, ‘विद्यार्थीहरूले आफ्नो रूची पहिचान गर्नुपर्छ र विषयको छनौट गर्नुपर्छँ ।’ 

सफ्टवेयर, कोडिङ र प्रडक्ट डेभलपमेन्टमा रूची भएका विद्यार्थी सफ्टवेयर इन्जिनियरिङ पढ्न सक्छन् भने कम्प्युटर अनुसन्धान गर्न चाहने, वैज्ञानिक बन्न चाहने र कम्प्युटरको सबै नलेज लिन चाहनेले कम्प्युटर इन्जिनियरिङ पढ्दा उपयोगी हुन सक्छ ।

डाटा सेन्टर, टेलिकम, इन्टरनेट सेवा प्रदायकमा सञ्चार तथा नेटवर्कसँग सम्बन्धित काम गर्न चाहनेलाई आइटी इन्जिनियरिङ पढ्दा राम्रो हुन सक्ने उनको धारणा छ । यस्तै बीसीए कोर्ष आईटी र म्यानेजमेन्टको मिश्रित कोर्ष हो । ८० प्रतिशत जति इन्जिनियरिङको जस्तो कोर्ष छ भने बाँकी म्यानेजमेन्टको छ । 

गत वर्ष मात्रै पोखरा विश्वविद्यालयले बीसीएको कोर्ष रिभाइज गरेको थियो । यसमा म्यानेजमेन्ट पढेकोले पनि एडमिसन गर्न पाउँछन् । तर प्लस टुमा कम्प्युटर वा गणित विषय लिएको भने हुनुपर्नेछ । 

इन्जिनियरिङ तर्फको कोर्षमा आवेदन दिनका लागि फिजिक्स, क्यामेष्ट्री र म्याथमा सी ल्याएको हुनुपर्नेछ भने बीसीएमा कम्तिमा सी ग्रेड ल्याउनु पर्नेछ । यी कोर्षका लागि एनआईटी कलेजले प्रवेश परीक्षा लिन थालिसकेको छ । पोखरा विश्वविद्यालयमा कलेज आफैले प्रवेश परीक्षा लिने व्यवस्था छ । पहिलो प्रवेश परीक्षाको मिति साउन १६ गते र अर्कोको साउन ३१ गते तोकिएको छ । 

प्रवेश परीक्षाका लागि एनसीआईटी कलेजको वेबसाइटबाट वा कलेजमै उपस्थिति भएर समेत आवेदन दिन सकिने छ । कोर्षहरूको शुल्क १२ देखि १३ लाख रूपैयाँसम्म तोकिएको छ । 

कलेजमा २०० बढी विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्दै आएका छन् । पोखरा विश्वविद्यालयमा १० प्रतिशत छात्रवृत्ति दिने प्रावधान नै छ । प्रावधान अनुसारको छात्रवृत्ति सँगसँगै कलेजमा चार जीपीए लिएर आउने विद्यार्थी, प्रवेश परीक्षामा राम्रो गर्ने र कक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पनि कलेजले छात्रवृत्तिको व्यवस्था गरेको छ ।

स्टार्टअप र इन्नोभेसनमा जोड

एनसीआईटी २४ वर्षे लामो इतिहास बोकेको कलेज हो । एनसीआईटी कलेजले आईटीमा ३, सफ्टवेयरमा २, कम्प्युटरमा २ वटा र बीसीएको एउटा गरी आईटीको मात्रै ८ वटा ब्याच सञ्चालन गर्दै आएको छ ।

कलेजले कोर्षसँगै अन्य विभिन्न क्रियाकलापमा कलेजले जोड दिएको छ । ट्रेनिङ, सेमिनार, कन्फेरेन्स, प्रदर्शनी जस्ता कार्यक्रम सुरूवात देखिनै गर्दै आएको छ । एनसीआईटी कलेजले न्युनतम् शुल्कमा प्रोफेसनल कोर्ष समेत अध्यापन गराउँदै आएको खकुरेलको भनाइ छ । प्रोफेसनल कोर्षका लागि कलेज एडब्लुएस एकेडेमी, चेकपोइन्ट एकेडेमी, ओर्‍याकल एकेडेमी, एप्निक एकेडेमीसँग आवद्ध रहेको छ । 

निरञ्जन खकुरेल

विगत ८-९ वर्षदेखि नै थेसिस, रिसर्च पेपरहरू, जर्नल अफ साइन्स एण्ड टेक्नोलोजी जर्नलमा प्रकाशित गर्दै आएको छ । पछिल्लो समय कलेजले स्टार्टअप र इन्नोभेसनलाई विशेष प्राथमिकता दिएको छ । गत वर्षबाट एनसीआईटीले  आन्ट्रप्रेनरसीप सपोर्ट कार्यक्रम समेत सुरू गरेको छ, जसका लागि विश्वविद्यालय अनुदान आयोगबाट १ करोड १५ लाख बिउँ पुँजी प्राप्त गरेको थियो ।

उक्त पुँजीबाट कलेजका ३ वटा स्टार्टअपलाई बिउ पुँजी समेत उपलब्ध गराएको थियो । उपलब्ध गराएको सीड फण्ड विश्वविद्यालय अनुदान आयोगको कार्यविधि अनुसार ४ वर्षपछि बिना ब्याज फिर्ता गर्नुपर्ने उनले बताए । 

‘एनसीआईटीमा स्टार्टअप र इन्नोभेसनको इकोसिस्टम समेत बन्दै गएको छ,’ उनी भन्छन्, ‘सीड फण्ड फिर्ता आएपछि उक्त रकम फेरि कलेजका अन्य स्टार्टअपलाई प्रदान हुनेछ । कलेजलाई आईटी इन्नोभेसन सेन्टरको रूपमा विकास गर्न खोजेका छौं ।’

कलेजमा आईटी इन्क्युबेटर समेत बनाइएको छ । स्टार्टअप गर्ने विद्यार्थीहरूलाई मेन्टरसीप प्रदान गर्नका लागि नेदरल्याण्डको एउटा संस्थासँग कलेजले सम्झौता समेत गरेको छ । यसबाट विद्यार्थीलाई अन्तर्राष्ट्रिय सपोर्ट मिल्ने कलेजको विश्वास छ । 

आगामी अगस्टमा कलेजले अन्तर्राष्ट्रिय कन्फेरेन्स आयोजना गर्दै छ । एनसीआईटी कलेजमा अहिले पनि २० भन्दा बढी स्टार्टअपहरू सञ्चालन भइरहेका छन् । एनसीआईटीमा टेक कम्युनिटी, एनसीआईटी ओपन सोर्स लगायतका क्लबहरू पनि रहेका छन् ।

कलेजमा भएको परियोजना प्रदर्शनी

कोर्षको आठौं सेमेस्टरमा अनिवार्य इन्टर्नसीपको व्यवस्था भएपनि कलेजका विद्यार्थीले ५ देखि ६ सेमेस्टरबाटै इन्टर्नसीप गर्न थाल्ने खकुरेलको दावी छ । ‘आठौं सेमेस्टरमा अनिवार्य इन्टर्नसीपको व्यवस्था छ । तर हाम्रा विद्यार्थीहरूले ५-६ सेमेस्टदेखि नै इन्टर्नसीप गर्न थाल्छन्,’ उनले भने, ‘हामी विद्यार्थीलाई सुरूवात देखिनै प्रोफेसनल कोर्षमा पनि जोड दिन्छौं । त्यसकारण विद्यार्थीले सजिलै इन्टर्नसीप पाउँछन् ।’ 

एडब्लुएस एकेडेमीको सोलुसन आर्किटेक्चरसँग फ्रीमा पठाउन एडेक्स इन्टरनेसनलसँग सहकार्य पनि गरेको छ । यसबाट वर्षमा २०० जनालाई तालिम प्रदान गरिने छ । 

नतिजामा अब्बल एनसीआईटी कलेज 

एनसीआईटी कलेज एकेडेमीको नतिजामा समेत उत्तिकै अब्बल छ । हालै भएको नतिजामा पनि ४ जीपीए ल्याउने २६ बढी विद्यार्थी रहेका छन् । कलेजले अहिलेसम्म ४ वटा चान्सलर अवार्ड र ३ वटा भीसी गोल्ड मेडल प्राप्त गरिसकेको छ । 

गत वर्ष आईटी, कम्प्युटर र सफ्टवेयर इन्जिनियरिङमा एनसीआईटीको विद्यार्थीले टप गरेको खकुरेल बताउँछन् ।

‘हाम्रा विद्यार्थीले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउँदै आएका छन् । पोखरा विश्वविद्यालयबाट सम्बन्ध प्राप्त गरेर उत्कृष्ट नतिजा ल्याउने सूचीमा एनसीआईटी अंग्रपंक्तिमा छ,’ गोरव महशुश गर्दै उनी भन्छन् ।