कीवर्डहरू -

नेपाल लाइफको प्रथम बीमा शुल्क १३ अर्ब नाघ्यो, जीवन बीमा क्षेत्रमा नयाँ कीर्तिमान

नेपाल लाइफको प्रथम बीमा शुल्क १३ अर्ब नाघ्यो, जीवन बीमा क्षेत्रमा नयाँ कीर्तिमान

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क (फस्ट प्रिमियम इनकम - एफपीआई) आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा नयाँ कीर्तिमान कायम गरेको जनाएको छ ।

कम्पनीका अनुसार आफ्नो स्थापना भएको २५ वर्ष पूरा गरेको अवसरमा नेपाल लाइफले १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गरेको हो । यसअघि कम्पनीले अघिल्लो आर्थिक वर्षमा १० अर्ब रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो ।

कम्पनीले यो उपलब्धिलाई नेपालको जीवन बीमा इतिहासमा पहिलो पटक हासिल भएको दाबी गरेको छ । यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीको सफलतामा योगदान पुर्‍याउने सञ्चालक समिति, बीमित, बीमा अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरेका छन् ।

नेपाल लाइफले २५ वर्षदेखि विश्वास, सेवा र उत्कृष्टतालाई प्राथमिकतामा राख्दै सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा प्रविधिमैत्री तथा ग्राहकमैत्री सेवा विस्तार, नवीन बीमा योजना, प्रभावकारी लगानी व्यवस्थापन तथा कर्मचारी र अभिकर्ताको क्षमता अभिवृद्धिमा जोड दिने जनाएको छ ।

कम्पनीले १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क आर्जनलाई आफ्ना ग्राहक, अभिकर्ता, कर्मचारी, शेयरधनी तथा अन्य सरोकारवालाको साझा उपलब्धिका रूपमा लिँदै आगामी दिनमा पनि जीवन बीमा क्षेत्रमा अग्रणी संस्थाका रूपमा आफ्नो भूमिका अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ ।