कीवर्डहरू -

अपराध अनुसन्धानमा सहयोगी बन्दै प्रहरीको मोबाइल एप, रिपोर्टदेखि उजुरी गर्नेसम्म सुविधा

अपराध अनुसन्धानमा सहयोगी बन्दै प्रहरीको मोबाइल एप, रिपोर्टदेखि उजुरी गर्नेसम्म सुविधा

अपराध अनुसन्धानमा नेपाल प्रहरीको मोबाइल एप सहयोगी बन्दै गएको छ । २०७६ असोजबाट सञ्चालनमा आएको एपबाट प्राप्त हुने सूचनाले अनुसन्धानमा सहजता थपेको हो । 

नेपाल प्रहरी मोबाइल एपद्वारा अडियो, फोटो र भिडियो जस्ता प्रमाणजन्य सूचना प्राप्त गरी अपराध अनुसन्धानमा सहजताका साथै प्रहरी कार्यलाई अझै चुस्त राख्न समेत मद्दत पुगेको प्रहरीले जनाएको छ । 

एपको प्रयोगले आम नागरिक आफू पीडित भएको अवस्थामा होस् वा कुनै घटनाको प्रत्यक्षदर्शीको रुपमा प्रहरीलाई स्थान सहितको सूचना प्रदान गर्न सक्छन् । त्यसले गर्दा प्रहरीलाई पनि सो स्थानमा छिटो छरितो रुपमा सहजै पुगी प्रहरी सेवामा प्रभावकारिता ल्याउन मद्दत पुगेको छ । 

नेपाल प्रहरीलाई घटनाको छिटोछरितो रिपोर्टिङ गर्न मोवाइल एपले सहयोग गर्ने प्रहरीको भनाइ छ । नेपाल प्रहरीका अनुसार जनशक्ति न्यून रहेको अवस्थामा मोबाइल एपको प्रयोग गरी आम नागरिकहरूले प्रहरीसँग सम्बन्धीत सूचना जीपीएसमा आधारित रहेर फोटो, भिडियो, अडियो र टेक्स्ट सूचनासहित खबर गर्न सकिने प्रावधान रहेको छ । 

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महाननिरीक्षक भिम प्रसाद ढकालले नेपाल प्रहरीको कामकारबाहीलाई प्रविधिमैत्री सेवाको रुपमा संस्थागत विकास गर्ने उदेश्य अनुरुप पाइलट प्रोजेक्टको रुपमा एप सञ्चालन भएको बताए । 

‘हाल ७७ वटै जिल्लाहरूमा प्रहरी एपमार्फत आएका गुनासा र सूचनाका आधारमा नजिकैको प्रहरी कार्यालबाट तुरून्त प्रहरी परिचालन गर्ने व्यवस्था गरिएको छ,’ उनले भने, ‘समुदायमा घट्ने अपराधिक कृयाकलाप, विभिन्न घटनाहरू तथा सूचनाहरूलाई छिटो छरितो र प्रविधियुक्त तवरबाट सम्बोधन गरी थप क्षति हुन नदिन तथा अपराधिलाई तत्काल नियन्त्रणमा लिनुका साथै समग्र शान्ति सुरक्षा तथा अमनचयन कायम राख्न एपले सहयोगी भूमिका निर्वाह गर्दै आएको छ ।’ 

के के छन् एपमा सुविधा ? 

 मोबाइल एप एन्ड्रोइडआईओएस उपलब्ध रहेको । नेपाल प्रहरीको आन्तरिक प्रयोजन अन्तर्गत यस प्रणालीमार्फत ईन्ट्रानेट पोर्टल (Nepol.cd), PMIS profile, Geo-Attendance, Police Calendar, GPS Tracker, Patrolling जस्ता सुविधाहरू छन् । 

यस बाहेक एपमा आम नागरिकका लागि विभिन्न सुविधाहरू रहेका छन्, जसमध्ये रिपोर्ट इन्सिडेन्टबाट आम नागरिकले आकस्मिक रूपमा प्रहरीबाट सहयोग चाहिएमा रिपोर्ट गर्न सक्छन् । इमर्जेन्सी नम्बर विकल्पबाट आपतकालिन नम्बर प्राप्त गर्न सकिन्छ । 

एफएम स्टेशनबाट ट्राफिक एफएम सुन्न सकिन्छ । न्युजबाट नेपाल प्रहरीको विभागीय तथा अन्य समाचार पढ्न सकिन्छ । नोटिसबाट नेपाल प्रहरी सम्बन्धी सम्पूर्ण सूचनाहरूको जानकारी लिन सकिन्छ । पुलिस स्टेशन नियरबाईबाट नजिकका प्रहरी कार्यालयहरू र तिनको फोन नम्बर थाहा पाउन सकिन्छ । 

ई-कम्प्लेन्टबाट प्रहरीसँग सम्बन्धित गुनासो र सेवाबारे उजुरी दिन सकिन्छ । पब्लिक आईबाट तुरून्तै रिपोर्ट गर्न सकिन्छ । पुलिस क्लियरेन्स रिपोर्टबाट प्रहरी चारित्रिक प्रमाणपत्र सम्बन्धी जानकारी लिन सकिन्छ । 

प्यानिक मोड अन्तर्गत आकस्मिक रुपमा प्रहरीबाट सहयोग चाहिएको खण्डमा उक्त फिचर इनेबल गरे लगत्तै नेपाल प्रहरीले ड्यासबोर्डमा सो व्यक्तिको सम्पर्क नम्बर तथा स्थानसहितको सूचना प्राप्त भई सम्बन्धित स्थानमा प्रहरी परिचालन गर्न सघाउ पर्‍याउँछ ।   

हालसम्म ५५ हजार २२८ जना सर्वसाधारणले एपको प्रयोग गरिरहेका छन् भने ५२ हजार ९७० जना प्रहरी कर्मचारीले पनि एपको प्रयोग गर्दै आएका छन् । यस एपमार्फत ९ हजार ३८४ वटा घटनाको खबर प्राप्त भएको छ ।  

यस एपको निर्माण तथा व्यवस्थापन नेपाल प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयले गर्दै आएको छ । निर्देशनालयका प्रहरी उपरीक्षक सरोज शाक्य हरेक नागरिकले प्रयोग गरी आफू सुरक्षित हुन र प्रहरीलाई पनि सघाउने बताए । 

‘हाल केही सुविधाहरू थप गरी एप परिमार्जन गर्ने काम भइरहेको छ,’ उनले भने, ‘छिट्टै यो एपको नयाँ भर्सन सार्वजनिक गर्ने क्रममा रहेकोले नयाँ एन्ड्रोइड डिभाइसहरूमा यो एप अपडेटको अवधि भर गुगल प्लेस्टोरको लिस्टिङमा नदेखिने अवस्था रहेको समेत जानकारी गराउँदछु ।’

मोबाइल एपमा नेपाल प्रहरीका कर्मचारी तथा आम नागरिक दुवैलाई सहज हुने गरी विभिन्न सुविधा रहेका छन् । एप मार्फत आफू पीडित भएको अवस्थामा वा कुनै घटनाको प्रत्यक्षदर्शी भएको बेला प्रहरीलाई स्थान सहितको सूचना तुरून्तै आदानप्रदान गर्ने प्रणाली रहेको  छ ।