नेपाल राष्ट्र बैंकले डिजिटल वालेट आईएमई पे र खल्तीलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको छ । राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाएसँगै अब मर्जरको काम अगाडि बढ्ने छ ।
२ हप्ता अगाडि नै मर्जरका लागि राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाएको आईएमई स्रोतले आइसिटी समाचारलाई जानकारी दिएको छ । ‘राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति आइसकेको छ । अब बाँकी कामहरू अगाडि बढ्छ,’ स्रोतले भन्यो ।
नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फर्छ्योट विनियमावली, २०७७ मा संशोधन गर्दै वालेट मर्ज हुनसक्ने व्यवस्था गरेको छ । त्यस अनुसार आईएमई पे र खल्तीले गत फागुनमा एक आपसमा मर्ज हुनका लागि प्रारम्भिक लिखित समझदारी गरी सहमतिका लागि राष्ट्र बैंकमा निवेदन दिएका थिए ।
उक्त निवेदन अध्ययन गरेर राष्ट्र बैंकले मर्जरका लागि सैद्धान्तिक सहमति दिएको हो । सैद्धान्तिक सहमति प्राप्त गरेसँगै दुवै संस्थाले आ-आफ्नो सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न लेखापरीक्षक नियुक्त गरी विस्तृत मूल्याङ्कन प्रतिवेदन (डीडीए) तयार गर्नुपर्नेछ ।
त्यसपछि दुवै संस्थाले एक आपसमा मर्ज हुनका लागि अन्तिम सम्झौता गर्नुपर्नेछ । अन्तिम सम्झौता भएपछि अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिनुपर्नेछ । राष्ट्र बैंकले अन्तिम स्वीकृत दिएको ३० दिनभित्र एकीकृत कारोबार सञ्चालन गरिसक्नुपर्ने व्यवस्था विनियमावलीमा रहेको छ ।
आईएमई पे र खल्ती मर्जर भएपछि नयाँ नाम ‘आईएमई खल्ती’ हुनेछ । आईएमई खल्ती सञ्चालनका लागि छुट्टै कम्पनी नै हुने स्रोतको भनाइ छ । कम्पनीमा आईएमईको ५५ प्रतिशत र खल्तीको ४५ प्रतिशत शेयर स्वामित्व रहनेछ ।
यदी यो मर्जर सफल भयो भने नेपालको वालेट उद्योगमै पहिलो मर्जर हुनेछ । ‘मर्जर किङ’ रूपमा समेत परिचित आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले यसअघि बैंक तथा रेमिट्यान्समा क्षेत्रमा पनि सफल मर्जर गराइसकेका छन् ।
आईएमई पेमा आईएमई ग्रुपको लगानी रहेको छ । यस्तै अमित अग्रवाल, ध्रुव अधिकारी, अरविन्द शाह र मनिष मोदी सहसंस्थापक रहेको खल्तीमा वर्ल्डलिंकको ४० प्रतिशत शेयर स्वामित्व रहेको छ ।
मर्जरपछि बन्ने आईएमई खल्तीले इसेवालाई ठूलै टक्कर दिनेछ । मर्जरपछि बैंकलाई पनि टक्कर दिने गरी वित्तीय क्षेत्रमा इन्नोभेटिभ प्रडक्ट लिएर आउने गरी काम गरिरहेको स्रोतले बतायो ।
आईएमई पे र खल्तीबीच मर्जर भएपछि एकीकृत कारोबार आगामी साउनदेखि सञ्चालनमा गर्ने तयारी गरिएको छ । सम्भवतः अहिले भएका एप भन्दा पनि छुट्टै नयाँ एपबाट सेवा प्रवाह हुनेछ ।
नेपालमा अहिले २५ वटा डिजिटल वालेटले राष्ट्र बैंकबाट अनुमति पाएका छन् । त्यसमा आईएमई पेले २०७४ असार ५ गते र खल्तीले २०७६ वैशाख २ गते अनुमति पाएका थिए । हाल खल्तीको चुक्ता पूँजी ५ करोड रुपैयाँ र आईएमई पे को चुक्ता पूँजी ३० करोड रुपैयाँ छ ।