नेपाली मूलका व्यवसायी डा. समिर मास्केले स्थापना गरेको एआईमा काम गर्ने कम्पनी फ्युजमेसिन्स इंक अमेरिकाको स्टक एक्सचेन्ज नासड्याकमा सूचीकृत हुने भएको छ ।
पब्लिक कम्पनी बनेर नासड्याकमा सूचीकृत हुने लक्ष्यसहित सीएसएलएम एक्विजिसन कर्फसँग २०० मिलियन अमेरिकी डलर भ्यालुएसन गरेर मर्जर डिलमा सम्झौता भएको हो ।
यो सम्झौतालाई फ्युजमेसिन्स र सीएसएलएमका शेयरहोल्डर र नियामकले स्वीकृत गरेपछि ‘FUSE’ संकेतसहित नासड्याकमा कारोबार हुने अपेक्षा गरिएको छ ।
फ्युजमेसिन्सका संस्थापक तथा सीईओ डा. शमिर मास्केले नेपाली मूलको कम्पनीका लागि नासड्याकमा सूचीकृत हुने महत्त्वपूर्ण कोशेढुंगा भएको बताए । ‘नेपाली मुलको कुनै पनि कम्पनीका लागि नासड्याकमा सूचीकृत हुन पाउन महत्त्वपूर्ण कोशेढंगा हो,’ मास्केले भने, ‘सीएसएलएमसँगको सहकार्यले रणनीतिक रूपमा एआईलाई डेमोक्रटाइज गर्न र उद्योगमा दिगो प्रभाव छोड्न सहयोग गर्नेछ ।’
यस सम्झौताबाट प्राप्त हुने रकमले प्रडक्टलाई सुधार, वृद्धि र विस्तार गर्न मद्दत गर्ने उनको आशा छ । सम्झौतापछि फ्युजमेसिन्समा सीएसएलएमले १९.४४ मिलियन अमेरिकी डलर लगानी गर्नेछ ।
यस्तै सीएसएलएमका सीईओ चार्ल्स क्यासलले फ्युजमेसिन्ससँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए । ‘हामीले दिर्घकालीन सह-लगानीको अवसर खोजिरहेका थियौं । त्यसैक्रममा फ्युजमेसिन्ससँग सहकार्य गर्न पाउँदा उत्साहित छौं,’ उनले भने, ‘नेपालमा पनि फ्युजमसिन्स सञ्चालन भइरहेको छ । त्यहाँको एआई इन्जिनको विकास तथा सोलुसन अमेरिका र विकसित बजारका इन्टरप्राइज ग्राहकका लागि समाधान हो । त्यसकारण लगानीकर्ताले फ्रन्टियर र इमर्जिङ बजारमा उपलब्ध उच्च वृद्धिको अवसरबाट लाभ उठाउन सक्ने छन् ।’
सन् २०१३ मा मास्केले अमेरिकामा फ्युजमेसिन्स स्थापना गरेका थिए । फ्युजमसिन्सले विभिन्न समस्याहरूलाई समाधान गर्न एआई सम्बन्धि अनुसन्धान तथा उत्पादन विकासमा काम गरिरहेको छ । नेपालमा पनि फ्युजमसिन्स काम गरिरहेको छ ।