कीवर्डहरू -

रेडिटमा नयाँ फिचर : अब कमेन्ट मात्र होइन, भिडियोबाट पनि दिन सकिनेछ प्रतिक्रिया

रेडिटमा नयाँ फिचर : अब कमेन्ट मात्र होइन, भिडियोबाट पनि दिन सकिनेछ प्रतिक्रिया

काठमाडौं । लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म रेडिटले प्रयोगकर्ताहरूका लागि नयाँ सुविधा थप गरेको छ । अब प्रयोगकर्ताहरूले पोस्टमा प्रतिक्रिया दिँदा शब्द, तस्बिर र GIF मात्र होइन, भिडियो पनि कमेन्टका रूपमा राख्न सक्नेछन् ।

रेडिटका अनुसार नयाँ भिडियो कमेन्ट फिचरले प्रयोगकर्ताहरूलाई आफ्ना विचार, प्रतिक्रिया र अनुभव अझ प्रभावकारी रूपमा व्यक्त गर्न सहयोग गर्नेछ । कतिपय अवस्थामा लामो लेखेर बुझाउनुभन्दा छोटो भिडियोमार्फत कुरा प्रस्तुत गर्न सजिलो हुने भएकाले यो सुविधा ल्याइएको हो ।

कम्पनीले रेडिटलाई अझ जीवन्त र प्रयोगकर्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्यले यो अपडेट ल्याएको जनाएको छ । रेडिटकी चिफ प्रोडक्ट अफिसर मारिया एन्जेलिडौ–स्मिथले भिडियो कमेन्ट सुविधाले विभिन्न कम्युनिटीमा प्रयोगकर्ताहरूको सहभागिता अझ सहज र रमाइलो बनाउने बताएकी छन् ।

कसरी प्रयोग गर्ने ?
यो सुविधा उपलब्ध भएका कम्युनिटीहरूको कमेन्ट सेक्सनमा अब फोटो र GIF सँगै भिडियोको विकल्प पनि देखिनेछ । प्रयोगकर्ताले उक्त विकल्पमा क्लिक गरेर तत्काल भिडियो रेकर्ड गर्न वा आफ्नो डिभाइसमा रहेको भिडियो अपलोड गर्न सक्नेछन् ।

यद्यपि कमेन्टमा आएका भिडियोहरू आफैँ प्ले हुने छैनन् । प्रयोगकर्ताले चाहेको बेला क्लिक गरेपछि मात्र भिडियो हेर्न सक्नेछन् । यसले अनावश्यक डाटा खपत र ब्याट्री प्रयोग कम गर्ने उद्देश्य राखिएको कम्पनीले जनाएको छ ।

सुरक्षा जाँचपछि मात्र भिडियो देखिने
रेडिटले भिडियो कमेन्टमा पनि आफ्नो सुरक्षा प्रणाली लागू गर्ने बताएको छ । प्रयोगकर्ताले अपलोड गरेका भिडियोहरू स्वचालित सुरक्षा जाँचपछि मात्र सार्वजनिक कमेन्टमा देखाइनेछन् । हाल यो सुविधा सबै रेडिट कम्युनिटीमा उपलब्ध छैन । 

सुरुवाती चरणमा सार्वजनिक (पब्लिक) कम्युनिटीहरूमा मात्र यो सुविधा प्रयोग गर्न सकिनेछ । आगामी समयमा थप कम्युनिटीहरूमा विस्तार गर्ने अपेक्षा गरिएको छ । नयाँ फिचरसँगै रेडिटमा प्रयोगकर्ताहरूको अन्तरक्रिया अझ व्यक्तिगत, सिर्जनात्मक र दृश्यात्मक बन्ने देखिएको छ ।