टेलिकम रेगुलेटरी अथरिटी अफ इन्डिया (ट्राई) ले सिम कार्ड प्रयोगकर्ताहरूका लागि नयाँ नियमहरू लागू गरेको छ । भारतको नयाँ व्यवस्थाले रिचार्ज नगरे पनि ३ महिनासम्म प्रिपेड सिम कार्ड एक्टिभ राख्न सकिने छ ।
यो नियम भारतको जिओ, एयरटेल, भिआई र बीएसएनएल जस्ता प्रमुख नेटवर्कहरूमा लागू हुनेछ । नयाँ नियम अनुसार सिमबाट ९० दिनसम्म भ्वाइस, डेटा, एसएमएस लगायतका सेवाहरू प्रयोग नगरे सिमकार्ड निष्क्रिय हुनेछ । यदी सिमकार्डलाई सक्रिय राख्नु परेमा कम्तिमा २० भारतीय रूपैयाँको रिचार्ज गर्नुपर्नेछ, जसले थप ३० दिन भ्यालिडिटी पाइने छ ।
फेरि ३० दिनपछि सिमकार्डलाई सक्रिय राख्न तपाईको ब्यालेन्सबाट प्रत्येक महिना २० रूपैयाँ कटौती हुनेछ । यो प्रक्रिया सीममा ब्यालेन्स हुनजेलसम्म चलिरहने छ । यदी सिममा पर्याप्त ब्यालेन्स भएन भने १५ दिनको ग्रेस समय पाइने छ ।
ग्रेस समयमा पनि रिचार्ज नगेर सीमकार्ड निष्क्रिय हुनेछ । सो नम्बर टेलिकम सेवा प्रदायकले नयाँ व्यक्तिलाई दिन सक्ने छन् । पोस्टपेड प्रयोगकर्ताहरूको हकमा पनि ९० दिनसम्म कुनै सेवा प्रयोग नगरेमा तपाईंको नम्बर डिसकनेक्ट हुने जोखिममा रहने छ ।
सक्रिय राखिराख्न १७७ भारतीय रूपैयाँ तिरेर ३ महिना भ्यालिडिटी बढाउन सकिने छ । त्यसपछि १५ दिनको लागि ग्रेस समय पाइने छ । यो समयमा कुनै प्यान छनौट गर्नुपर्नेछ नत्र सिमकार्ड निष्क्रिय हुनेछ ।
पछिल्लो समय भारतमा मोबाइल प्रयोगकर्ताको संख्या बढ्दो छ । मोबाइलसँगै मोबाइल नम्बरको माग पनि बढिरहेको छ । अहिले एउटै व्यक्तिको नाममा धेरै मोबाइल नम्बर रहेका छन् । तर त्यसमा नियमित प्रयोग हुने नम्बर भने केही मात्रै छन् ।
तर मोबाइल नम्बर अलोकेसन सिमित हुँदा नयाँ नियम ल्याएको हो । यसले गर्दा निष्क्रिय रहेका पुराना नम्बर नयाँ प्रयोगकर्तालाई जारी गर्न सक्ने सुविधा दिनेछ । यसले मोबाइल नम्बरको चापलाई कम गर्न सहयोग गर्न सक्नेछ ।
नेपालमा पनि मोबाइल नम्बरको प्रयोग बढ्दै गइरहेको समयमा दूरसञ्चार प्राधिकरणले सीमको भ्यालिडिटी सिमित राख्नका लागि नयाँ नियम ल्याउन सक्ने छ । यसले गर्दा नेपालमा पनि बढ्दै गएको मोबाइल नम्बरको चापलाई कम गर्न समेत राहत मिल्ने छ ।